बसुबर्ण साकोस, नागबहाल, ललितपुरले लकडाउन अवधिको कर्जाको व्याजमा ५ प्रतिशत छुट दियो
ललितपुरको नागबहालमा रहेको बसुबर्ण बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्यहरुले लिएको कर्जाको व्याज यही आसार मसान्तभित्र बुझाएमा लकडाउन अवधिको हर्जना मिनाह सहित कर्जाको व्याजदरमा ५ प्रतिशत छुट दिने बताएको छ । स्थानीय समुदायमा आधारित सो संस्थाले लकडाउनबाट पीडित शेयर सदस्यहरुलाई ० प्रतिशत व्याजदरमा ३ महिनासम्मको लागि राहत ऋण प्रदान गर्नुका साथै लकडाउन शुरु भएको २ दिनदेखि नै व्यक्तिगत सम्पर्कको आधारमा शेयर सदस्यहरुलाई रु. ५ हजारदेखि २० हजारसम्म बचत फिर्ता गरेको उक्त संस्थाको भनाई छ । लकडाउनको बेला आफ्ना शेयर सदस्यहरुलाई थोरै भएपनि राहत पुगोस् भन्ने उद्देश्यले त्यस संस्थाले बजार मुल्य रु.३,१४५ पर्ने खाद्यन्न सामाग्री रु.२,५०० मुल्यमा शेयर सदस्यहरुलाई विक्री गरेको र त्यसरी विक्री गर्दा हुने नोक्सानको पूर्ती संस्थाको कोषको रकमबाट गरिएको थियो । 




सोही अनुरुप उक्त संस्थाले आफ्ना ५०० जना शेयर सदस्यहरुलाई प्रति सदस्य चामल १ बोरा,चिउरा ५ के.जी., आँटा ५ के.जी.,दाल ५ के.जी.,चिनी ५ के.जी. र तेल १ लीटर विक्री गरेको थियो ।
सो संस्थाबाट अब कर्जा लिने शेयर सदस्यलाई चलनचल्तीको भन्दा १ प्रतिशत कम व्याजदरमा कर्जा प्रदान गरिने जनाइएको छ ।
यही असार १ गतेदेखि भने त्यस संस्थाको कार्यालय साविककै समयमा सञ्चालन भइरहेको छ ।

