मनाए साहित्यकारहरुले आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्म जयन्ती

0 Shares

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती उहाँको सम्झना गरी आज  मनाइएको छ । लेखक, कवि, कलाकार तथा साहित्यप्रेमीहरुले आज उहाँलाई आ-आफ्नै ढंगले सम्झना गरे । उहाँको व्यक्तित्व र कृतित्वको चर्चा परिचर्चा गरियो ।

सुगौली सन्धि पछि प्राथमिककालीन नेपाली साहित्यमा वीरधारा अन्त भएसँगै अगाडि बढेको भक्तिधारा अन्तर्गतको राम भक्तिधारा, कृष्ण भक्तिधारा र निर्गुण भक्तिधारा मध्ये राम भक्तिधारालाई अंँगालेका आदिकवि भानुभक्त आचार्य नेपाली साहित्यको प्राथमिक कालका केन्द्रीय कवि हुनुहुन्छ। वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएर वि.सं.१९२५ सालमा निधन भएका उहाँले घाँसीको घाँस बेचेर पैसा जम्मा गरी त्यसले कुवा खनाएर आफू अमर बन्ने भन्ने प्रेरणाले संस्कृत भाषाको रामायणलाई नेपाली भाषामा अनुवाद गर्नुका साथै भक्तमाला, प्रश्नोत्तोर, बधुशिक्षा र रामगीता कृति तथा फुटकर कविताहरु रचना गर्नु भएको थियो ‌।  उहाँको व्यक्तित्व र कृतित्वलाई भने युवा कवि मोतिराम भट्टले प्रकाशमा ल्याउनु भएको थियो । नेपाली भाषा र साहित्यको जग हाल्नमा उहाँको योगदान महत्वपूर्ण रहेको छ तर उहाँको तारिफ सँगै आलोचना पनि भएको सुनिन्छ ।  यतिबेलाका जल्दाबल्दा कतिपय साहित्यकारहरुले भने आदिकवि भानुभक्तको राम्रो सँग अध्ययन अनुसन्धान हुन नसकेकोले उहाँको बारेमा नेपाल प्रज्ञा प्रतिष्ठानले अध्ययन अनुसन्धान गर्नु पर्ने खाँचो रहेको बताइरहेका छन् ‌।

Leave a Reply