४२औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सम्झना

0 Shares

नेपाल कम्युनिष्ट पार्टीका  संस्थापक महासचिव पुष्पलालको निधन भएको बुधबार ४२ वर्ष पुगेको छ ‌। उहाँको ४२औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा(माले), पुष्पलाल स्मृति प्रतिष्ठान, पुष्पलाल अध्यययन समाज लगायतले उहाँको योगदानको सम्झना गरे । कोरोना भाइरसको जोखिमका कारण ठूला औपचारिक सभा समारोह गरेर पुष्पलाल स्मृति दिवस नमनाए पनि कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले पुष्पलालको योगदान स्मरण गरे ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल शहीद गंगालालका माहिला भाइ हुनुहुन्थ्यो । दाजु गंगालालको प्रेरणाले ‌शोषण र उत्पीडनका विरुद्ध संघर्षमा होमिनुभयो उहाँ। कम्युनिष्ट पार्टी नेता प्रधान नभई नीति प्रधान हुनु पर्नेमा जोड दिइरहने पुष्पलाल क्रान्तिकारी सिद्धान्त र व्यवहारबाट कहिल्यै विचलित भएको देखिदैन । लाखौँ झुपडीहरुको एकता नै राष्ट्रियता बताउने पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको अगुवाई मात्रै नगरी नेपालको कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारालाई अगाडि बढाउन बाचुञ्जेल निष्ठापूर्वक लागिरहनुभयो । २०३५ साउन ७ गते ५४ वर्षको उमेरमा भारतको दिल्ली स्थित गोविन्दबल्लव पन्त अस्पतालमा उहाँको निधन भएको थियो ‌। उहाँको पार्थिव शरीर नेपाल ल्याउन तत्कालीन सरकारले नदिएपछि पुष्पलालको निकटमा रहेर काम गर्नु भएका र हाल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य रहनु भएका आरवी भण्डारीले अर्का एक जना साथीसँग मिलेर भूमिगत तवरबाट पुष्पलालको अस्तु भारतबाट काठमाडौंमा ल्याएको र त्यसलाई कम्युनिष्ट योद्धा देवनारायण ज्यापुको अगुवाई काठमाडौं उपत्यकाबासीहरुको उपस्थितिमा काठमाडौंको विष्णुमतीमा विसर्जन गरिएको बताइएको छ । २०१७ सालको ‘कू’ लगत्तै पछि नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीको संयुक्त संघर्षबाट मात्रै नेपालमा पञ्चायती व्यवस्थाको अन्त प्रजातन्त्र स्थापना हुन सक्छ भनी  संयुक्त जन-आन्दोलनको नीति अगाडि सार्दा एकातिर पुष्पलाल बेइमान, गद्धार र काँग्रेसको पुच्छर भनेर वाम आन्दोलन भित्रका एकथरीले भनेको देखिन्छ भने उहाँको संयुक्त जन-आन्दोलनको नीतिलाई नेपाली काँग्रेसका नेताहरुले पनि लामो समयसम्म वास्ता गरेको देखिदैन , त्यही कारण कम्युनिष्ट पार्टीहरु तथा नेपाली काँग्रेसले पञ्चायत विरुद्ध फरक-फरक ढंगबाट गरेको संघर्ष असफल भइरह्यो तर पुष्पलालको संयुक्त जन-आन्दोलनको नीति अनुरुप भएको २०४६ साल र २०६२/०६३ जन-आन्दोलनले सफलता पाएको थियो ।

पुष्पलालले इतिहासका साथै तत्कालीन समाजको वर्ग विश्लेषण गरी पुस्तक तथा लेखहरु लेख्नुभयो । पुष्पलाल स्मृति प्रतिष्ठानले पुष्पलालका कृति तथा रचना संग्रह प्रकाशन गरेको छ । उक्त प्रतिष्ठानले प्रकाशन गरेका पुष्पलालका केही कृति तोडमोड गरेर प्रकाशन गरेको पाइएको नेपाल कम्युनिष्ट पार्टीका नेता भीम सेढाई बताउनुहुन्छ । सोही पार्टीका नेताहरु लोकनारायण सुवेदी र शरणविक्रम मल्ल पनि नेता सेढाईको सो भनाई सँग सहमती जनाउनु हुन्छ ‌। यदी उहाँहरुले भने झैं पुष्पलाल स्मृति प्रतिष्ठानले प्रकाशन गरेका पुष्पलालका पुस्तक तथा रचना संग्रह तोडमोड गरी प्रकाशन गरेको हो भने त्यसलाई सच्याउनुको विकल्प देखिदैन ‌।

इतिहासको कुनै कालखण्डमा कम्युनिष्ट आन्दोलन भित्रका एकथरी नेता-कार्यकर्ताहरुले पुष्पलालको विरोध गरेपनि यतिबेला भने पुष्पलाललाई नेपालका सबै कम्युनिष्ट पार्टीले आफ्ना नेता मानेका छन् । कतिपयले त पुष्पलाललाई देवत्वकरण नै गर्न खोजेको पो हो कि जस्तो आभाष पनि बेला बेलामा हुने गरेको छ भने पुष्पलालको फोटो बोकेर हिडेपनि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता- कार्यकर्ताहरुले भने पुष्पलालको नीति र विचार आत्मसाथ गरेको पाइदैन । जसले पुष्पलालको अपमान गरेको कम्युनिष्ट आन्दोलन भित्र एकथरीको बुझाई छ । पुष्पलालका कृति तथा लेख-रचनाहरु र योगदानबारे कम्युनिष्ट आन्दोलन भित्र व्यवस्थित ढंगबाट अध्ययन अध्यापनको विषय बनाउनु पर्ने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलको भनाई छ ।

बाचुञ्जेल सादगी जीवन बिताएका पुष्पलालको उचाई बराबरको नेता यसबेलासम्म नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएको छैन ‌। छरिएर रहेका पुष्पलालको नीति र विचार साच्चै आत्मसाथ गर्नेहरु एकताबद्ध हुनु जरुरी देखिन्छ ‌।

Leave a Reply