सज्जा चौलागाईँ बनिन् नेपाल आइडल सिजन-३ को विजेता

0 Shares

मोरङकी सज्जा चौलागाईँ नेपाल आइडल सिजन -३ को विजेता बनेकी छन् भने बर्दियाका प्रविन बेडवाल फष्ट रनर अब र महोत्तरीको बर्दिबासका किरणकुमार भुजेल सेकेण्ड रनर अफ भएका छन् । ap1 टेलिभिजनले २०७५ भदौ महिनाबाट शुरु गरेको नेपाल आइडल सिजन-३ आज केही बेर अगाडि विजेता चयन गर्दै सकिएको छ । यसको विजेता सज्जा चौलागाईँले रु.५० लाख , फष्ट रनर अफ प्रविन बेडवालले रु.१० लाख र सैकेण्ड रनर अफ किरणकुमार भुजेलले रु.५ लाख पुरस्कार प्राप्त गरेको सो नतिजा घोषणा गर्दै अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष रामेश्वर थापाले बताए । नेपाल आइडल सिजन-३ मा सहभागी १ जनालाई कोरोना भाइरस लागेपछि निर्णायक मण्डलमा रहेका संगीतकार न्हु बज्राचार्य , गायिका इन्दिरा जोशी र गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा आइसोलेशनमा जानु परेकोले उक्त नतिजा अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष थापाले आज साँझ ५ बजेसम्म विभिन्न माध्यमबाट प्राप्त दर्शक तथा श्रोताको भोटका आधारमा  घोषणा गरेका थिए । त्यस अवसरमा उहाँले ap1 टेलिभिजनले कोरोना साम्य भएपछि नेपाल आइडल सिजन-४ शुरु गर्ने बताए । आजको नेपाल आइडल सिजन-३ को फिनालेमा सज्जा चौलागाईँ , प्रविन बेडवाल , किरणकुमार भुजेल , केभिन ग्लान तामाङ, नेशन पुन मगर , मेघा श्रेष्ठ र मुस्कान रानाभाटले गीत गाएका थिए । यस अगाडि सम्पन्न नेपाल आइडल सिजन-१ मा बुद्ध लामा विजेता , निशान भट्टराई फष्ट रनर अफ र प्रताप दास सेकेण्ड रनर अफ भएका थिए भने नेपाल आइडल सिजन-२ मा रवि ओड विजेता , विक्रम बराल फष्ट रनर अफ र सुमित पाठक सेकेण्ड रनर अफ हुनुका साथै अस्मिता अधिकारी चौथौ भएका थिइन् ।

Leave a Reply