आज दिनभर ललितपुर महानगरपालिकाको रिङ्गरोड क्षेत्र भित्र कर्फ्यु

0 Shares

ललितपुर जिल्ला प्रशासन कार्यालयले आज विहान ४ बजेदेखि बेलुका १० बजेसम्म लागू हुने गरी ललितपुर महानगरपालिकाको रिङ्गरोड क्षेत्र भित्र कर्फ्यु लगाएको छ । स्थानीय प्रशासनले कर्फ्यूको समयमा सो क्षेत्रमा मानिसहरुलाई घरबाट बाहिर निस्किन , हिडडुल गर्न , भेला हुन तथा जुलुश गर्न प्रतिबन्ध लगाएको छ । कर्फ्यु लगाएसँगै उक्त क्षेत्र सुनसान छ ।
हिजो ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीय बासिन्दा र प्रहरी वीच विवाद हुँदा झडप भएको थियो । त्यसक्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको थियो भन स्थानीयले प्रहरी माथि ढुङ्गा हानेका थिए । एक महिनासम्म रहने मलमास असोज २ गतेबाट शुरु हुने भएकोले त्यस अगाडि नै सक्ने गरी सामाजिक दुरी कायम गरी सो रथ तान्न पाउनु पर्ने स्थानीयको मागलाई कोरोना सर्न सक्ने जोखिम रहेको भन्दै प्रहरीले अस्वीकार गरेको थियो । आफूहरुको माग प्रहरीले मान्न इन्कार गरेपनि त्यही वीचमा केही स्थानीयले रथ तान्न थालेपछि प्रहरी र रथ तान्ने पक्ष वीच झडप भएको थियो । झडपका क्रममा १ जना ट्राफिक प्रहरीलाई भिडले कुटपिट गरेपनि स्थानीय र प्रहरीको सहयोगमा उनी बचेका थिए भने भिडले एउटा मोटरसाइकल माथि आक्रमण गरेका थियो ।
त्यो झडप पछि रातो मच्छिन्द्रनाथ प्रहरी नियन्त्रणमा छ ।
कोरोना संक्रमणको जोखिम रहेको बेलामा स्थानीय प्रशासन सँग सुरक्षाको उपाय अपनाएर रातो मच्छिन्द्रनाथको रथ तान्ने बारेमा कुरा भइरहेको बेला केही व्यक्तिले सो रथ तान्ने उत्सृङ्खल कार्य गरेको भन्दै ज्यापु समाजका अगुवाले असन्तुष्टि जनाएका देखिएको छ ।
सो घटनाको आदिबासी जनजाती महासंघले विरोध गर्दै स्थानीयबासीका परम्परागत रुपमा चल्दै आएका जात्रा पर्व लगायतलाई सुरक्षा अपनाएर सञ्चालन गर्न दिनु पर्नेमा जोड दिएको छ भने नेपाली काँग्रेस लगायतका राजनीतिक दलहरुले पनि दुरी कायम गरेर सुरक्षाको उपाय अवलम्वन गरी रातो मच्छिन्द्रनाथको रथ यात्रा गर्न दिनु पर्ने बताएका छन् ।

Leave a Reply