५ नं. प्रदेशको नाम लुम्विनी प्रदेश र राजधानी दाङको देउखुरीमा रहने

0 Shares

लामो रस्साकस्सी पछि अन्तत: ५ नं. प्रदेशसभाले  ५ नं. प्रदेशको नाम लुम्विनी प्रदेश र राजधानी दाङको देउखुरीमा  बनाउने  निर्णय गरेको छ ‌। आज बसेको सो प्रदेशसभाको बैठकमा सर्वसम्मत हुन नसकेपछि भएको मतदानमा  दाङलाई राजधानी बनाउने पक्षमा ६९ र बुटवललाई राजधानी बनाउने पक्षमा १३ मत परेको थियो । उक्त प्रदेशको राजधानी दाङको देउखुरी क्षेत्र बनाउने प्रस्ताव त्यसै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के.सी.ले सोही प्रदेशसभामा दर्ता गरेपछि त्यस प्रदेशको राजधानी बुटवलमा हुनु पर्ने माग गरी बुटवलमा विरोध भएका थिए ‌।

यस अघि ३ नं. प्रदेशको नाम बागमती प्रदेश र राजधानी हेटौंडा, ४ नं. प्रदेशको नाम गण्डकी प्रदेश र राजधानी पोखरा , ६ नं. प्रदेशको नाम कर्णाली प्रदेश र राजधानी सुर्खेत र ७ नं. प्रदेशको नाम सुदूर पश्चिम प्रदेश र राजधानी कैलालीमा राख्ने निर्णय भई सकेको छ । यता १ नं. प्रदेशको राजधानी विराटनगर रहने तय भएपनि त्यस प्रदेशको नाम भने टुङ्गो लाग्न सकेको छैन । उता २ नं. प्रदेशको नाम र राजधानीको विषयमा भने विवाद यथावतै छ ।

नेपाली काँग्रेसका सभापति  शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले ७ वटै प्रदेशको अस्थायी राजधानी तोकेको थियो , जस अनुसार १ नं. प्रदेशको अस्थायी राजधानी विराटनगर , २ नं. प्रदेशको अस्थायी राजधानी जनकपुर , ३ नं. प्रदेशको अस्थायी राजधानी हेटौंडा , ४ नं. प्रदेशको अस्थायी राजधानी पोखरा , ५ नं. प्रदेशको अस्थायी राजधानी बुटवल , ६ नं. प्रदेशको अस्थायी राजधानी सुर्खेत र ७ नं. प्रदेशको अस्थायी राजधानी धनगढीमा रहने तय भएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply