कर्णाली प्रदेश सरकारले उद्यम गर्न चाहने नागरिकहरुलाई वार्षिक २ प्रतिशत व्याजदरमा कर्जा दिने
कर्णाली प्रदेश सरकार , भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयले सो प्रदेशका उद्यम गर्न चाहाने नागरिकहरुलाई धितोको आधारमा उद्यमको प्रकृति हेरी वार्षिक २ प्रतिशत व्याजदरमा रु.१ लाखदेखि १ करोडसम्म कर्जा उपलव्ध गराउने भएको छ । यसका लागि सो मन्त्रालयले कृषि विकास बैंक लि.सँग उक्त प्रयोजनका लागि सम्झौता गरेको बताइएको छ । त्यस सम्झौतामा कर्णाली प्रदेश भित्र रहेका कृषि विकास बैंक लि.का सबै शाखाबाट उक्त कर्जा लिन सकिने व्यवस्था गरिएको जनाईएको छ ।
यो कर्जा प्रवाहको उद्देश्य कर्णाली प्रदेश भित्र उद्यम र त्यसमा पनि विशेष गरी कृषि तथा पशुपङ्छीको उत्पादन बृद्धि गर्ने र कर्णाली प्रदेशबासी कसैले पनि बेरोजगार हुन नपरोस् भन्ने रहेको उक्त मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश , भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री विमला के.सी. ले यो अवसरलाई सदुपयोग गरी उद्यमशील कार्य गरी कर्णाली प्रदेशमा कृषि तथा पशुपङ्छीको उत्पादनमा क्रान्ति ल्याउन कर्णाली प्रदेशबासीहरुलाई अनुरोध गर्नु भएको छ ।

