दर्ता प्रमाण-पत्र पाएसँगै ३ वटै लुम्बिनी प्रदेश सहकारी संघ लागे नियमित काममा

अघिल्लो हप्ता लुम्विनी प्रदेश , भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयबाट दर्ता प्रमाण-पत्र पाएका लुम्बिनी प्रदेश सहकारी संघ लि., लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि. र लुम्बिनी प्रदेश कृषि सहकारी संघ लि.ले आफ्नो नियमित कार्य आरम्भ गरेको बताइएको छ । दर्ता प्रमाण-पत्र प्राप्त गरेको ३ महिना भित्र प्रारम्भिक साधारणसभा गरी सक्नु पर्ने कानुनी प्रावधानका भएकाले ती संघहरु आफ्नो प्रारम्भिक साधारणसभा गर्ने योजना निर्माणमा लागेको जनाइएको छ ।
लुम्बिनी प्रदेश सरकार ,भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा लुम्बिनी प्रदेशको बुटवलमा आयोजित एक कार्यक्रमका वीच २०७७ मंसीर २३ गते लुम्बिनी प्रदेश सहकारी संघ लि., लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि. र लुम्बिनी प्रदेश कृषि सहकारी संघ लि.लाई दर्ता प्रमाणपत्र प्रदान गरिएको थियो । सो मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलको प्रमुख आतिथ्यता र दर्ता अधिकारी श्रीधर ज्ञवालीको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लि.नेपालका अध्यक्ष मिनराज कँडेलको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघ लि. का अध्यक्ष प्रेमप्रसाद सुबेदी, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णप्रसाद नेपाल र लुम्बिनी प्रदेश कृषि सहकारी संघ लि.का अध्यक्ष नरबहादुर घर्तीलाई दर्ता प्रमाण-पत्र प्रदान गरिएको थियो ।