मार्गदर्शन साकोस , भ.म.न.पा.-१६ , फूर्तिचोक, चितवनको ९औं वार्षिक साधारणसभा आज सम्पन्न

चितवनको भरतपुर महानगरपालिका-१६, , फूर्तिचोकमा मुख्य कार्यालय रहेको मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लि.को २०७७ पुस ४ गतेदेखि शुरु भएको ९औं वार्षिक साधारणसभा आज समापन भएकोछ । सहकारी संघ/संस्थाको वार्षिक साधारणसभा सम्बन्धी सहकारी विभागको निर्देशन पालना गरी सोही संस्थाका अध्यक्ष प्रेमबहादुर बोगटीको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले त्यस संस्थाको वार्षिक प्रगति प्रतिवेदन , लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र आर्थिक प्रतिवेदन छलफल गरी पारित ग-यो । उक्त साधारणसभाको समापन गर्दै सोही संस्थाका अध्यक्ष बोगटीले यो साधारणसभाले पारित गरेको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गरिने बताउनुभयो ।


२०७७ पुस ४ गते उक्त साधारणसभाको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवर्द्धन शाखा प्रमुख रामबाबु पौडेलले सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर उठाउने गरी विधि र पद्धति अनुसार सञ्चालन हुनु पर्ने बताउदै भरतपुर महानगरपालिका सहकारीको विकास र प्रवर्द्धनका लागि लागिरहेको छ भन्नुभयो । उहाँले यो संस्थाको प्रतिवेदनमा उल्लेखित विषय हेर्दा स्थापना भएको छोटो अवधिमा मार्गदर्शन साकोसले राम्रो प्रगति गरेको देखियो बताउनुभयो । सो अवसरमा भरतपुर महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष अमृत हमालले सहकारीको विकास र प्रवर्द्धनमा आफू लागिरहने बताउनुभयो । त्यसैगरी उक्त संस्थाका कानूनी सल्लाहकार जगन्नाथ भण्डारीले यस मार्गदर्शन साकोस राज्यको ऐन/नियम पालना गरी अगाडि बढेको बताउनुभयो ।



त्यस अवसरमा सोही संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै उक्त संस्थाका अध्यक्ष बोगटीले स्थानीय स्तरमा छरिएर रहेको पूँजीलाई संकलन गरी स्थानीय क्षेत्रमा नै परिचालन गरी हरेक व्यक्तिको आर्थिक तथा सामाजिक स्तरोन्नति र समृद्धीमा बचत गर्ने बानीको विकास गर्नु हाम्रो यस संस्थाको प्रमुख उद्देश्य रहेको बताउदै शेयर सदस्य ज्यूहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र लगनशीलताका कारण स्थापना भएको छोटो अवधिमा नै यस संस्थाले सामाजिक तथा आर्थिक रुपान्तरणमा अग्रणी उधाहरण प्रस्तुत गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताउनु भयो । 
त्यसै संस्थाका उपाध्यक्ष डोलबहादुर गुरुङले स्वागत मन्तव्य , सचिव गनबहादुर श्रेष्ठले सञ्चालन र प्रमुख कार्यकारी अधिकृत दीपक गौतमले संयोजन गर्नु भएको सो साधारणसभाको उद्घाटन कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक श्रीकृष्ण थपलियाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष कमलबहादुर थापाले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।


