बालकुमारी साकोस, शंखधरचोकको २०औं वार्षिक साधारणसभा सम्पन्न , आ.व. २०७६/०७७ मा कूल कारोबार रु.१,५२,४६,२७,३१३

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधरचोकमा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.को २०औं वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको अध्यक्षतामा सहकारी संघ/संस्थाको साधारणसभा सम्बन्धी निर्देशिका पालना गरी स्वास्थ्य सुरक्षा अपनाएर २०७७ पुस १८ गते सम्पन्न भयो । सो साधारणसभाको उद्घाटन गर्दै सहकारी विभागका रजिष्टार डा.टोकराज पाण्डेले सदस्य र समुदायको लागि सञ्चालित सहकारी संस्था सहकारी अभियानमा सफल हुने विश्वास व्यक्त गर्नुभयोे । उहाँले सहकारी सन्दर्भ व्याजदर निर्धारण हुँदा कतिपय सहकारीकर्मीहरुले विरोध गरिरहेको बेला भक्तपुर जिल्लाले त्यसलाई कार्यान्वयन गरेर पाठ सिकाएको बताउदै विधि र पद्धतिमा चलेका बालकुमारी साकोस जस्ता समुदायमा आधारित सहकारी संस्थाले बोलाउदा आफू खुशी भएर आउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर उठाउने गरी कार्य गर्नु पर्छ तर सहकारीको सिद्धान्त,मूल्य र मान्यता विपरीत गएर शेयर सदस्यहरुको सम्पति लिलाम गर्न भनै हुदैन’ उहाँको भनाई थियो ।
उक्त साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक तथा नेफ्स्कूनका नि:वर्तमान अध्यक्ष डी.बी. बस्नेतले एउटा व्यक्तिले जति वटा बैंकमा वित्तीय कारोवार गर्न हुने तर सहकारीमा नहुने भन्ने नीति उचित नभएको भन्दै एक व्यक्ति-एक सहकारीको नीति तत्काल लागू गर्न नहुने र राष्ट्रिय सहकारी महासंघले पनि त्यसलाई तत्काल लागू गर्न नसक्ने भनी सरकार समक्ष राखेको बताउनुभयो । त्यसैगरी नेफ्स्कूनका का.मु.प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले सहकारी पूँजीलाई गतिशील बनाउन नीति,विधि र प्रविधि अवलम्बन गर्नु पर्नेमा जोड दिदै बालकुमारी साकोस जोखिममुक्त रही सुशासनमा चलेको आफूले पाएको बताउनुभयो । सोही साधारणसभामा जिल्ला सहकारी संघ लि.,भक्तपुरका अध्यक्ष केदार खड्का, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का कोषाध्यक्ष कान्छाभक्त घजु र भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४,शंखधरचोकमा नै रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले उक्त संस्थाले गरिरहेको प्रगतिप्रति प्रशन्नता व्यक्त गर्दै थप प्रगतिको कामना गर्नुभयो ।
त्यस साधारणसभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका अध्यक्ष श्रेष्ठले २०५७ असोज २ गते २८ जना सदस्यहरूको रु.७ लाख पूँजीबाट सञ्चालन सुरु भएको बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.मा शेयर सदस्य ज्यूहरुको साथ र सहयोग तथा कर्मचारीहरुको लगनशीलता एवं नियामक निकाय र छाता संगठनको मार्गदर्शनका कारण निरन्तर प्रगतिपथमा अगाडि बढेको र आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थामा शेयर सदस्य संख्या ४ हजार ९ सय ४७ , शेयर पूँजी रु.१२ करोड ३९ लाख ७० हजार ६ सय , निक्षेप संकलन रु.१ अर्ब २९ करोड ९३ लाख ८ हजार ९ सय ७८,ऋण लगानी रु.१ अर्ब ५ करोड ८२ लाख १६ हजार ३ सय १७, जगेडा तथा अन्य कोष रु. ४ करोड ५५ लाख ३८ हजार ७ सय २२, कर्जा नोक्सानी व्यवस्था कोष रु.१ करोड ६१ लाख ३६ हजार १ सय ४५ , तरलता रु.३६ करोड १६ लाख १ हजार ५ सय ७५ , खुद नाफा रु.१ करोड ६४ लाख २० हजार ८ सय ३० र कूल कारोबार रु.१ अर्ब ५२ करोड ४६ लाख २७ हजार ३ सय १३ रहेको छ भन्दै हाम्रो यो संस्था भक्तपुर जिल्लामै विशिष्ट सहकारीको रुपमा स्थापित भएको बताउनुभयो ।
उक्त संस्थाका उपाध्यक्ष पञ्चकृष्ण श्रेष्ठले स्वागत मन्तव्य , सचिव पृथ्वीराम श्रेष्ठले सञ्चालन र कोषाध्यक्ष सुदीप श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नु भएको त्यस साधारणसभामा प्रमुख अतिथि डा. पाण्डेले त्यसै संस्थाका जेष्ठ शेयर सदस्यहरु हेमरत्न बज्राचार्य, ज्ञानकुमार क्षेष्ठ ,नानीमाया टपी श्रेष्ठ र तुल्सीमाया किलनं श्रेष्ठलाई दोसल्ला ओढाई नगदसहित सम्मान गर्नुभएको थियो भने शेयर सदस्यहरुका छोराछोरी मध्येबाट सबैभन्दा बढी अंक ल्याई २०७६ सालको एस.ई.ई. परीक्षामा उत्तीर्ण हुन सफल शेयर सदस्य टेककुमारी भण्डारीका छोरा अनितमणि भण्डारी (४ जीटीए) , देवकृण श्रेष्ठका छोरा दीक्षान्त श्रेष्ठ (४ जीपीए) र शेयर सदस्य सुजन श्रेष्ठकी छोरी कृपा श्रेष्ठ (३.९४ जीपीए) लाई पनि नगद सहित प्रशंसा–पत्र प्रदान गरिएको थियो । 
२०७७ पुस ५ गते शुभारम्भ भएको सो साधारणसभा अन्तर्गत शंखधर पार्टी प्यालेसमा पुस ५ देखि १७ गतेसम्म उक्त संस्थाको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदनमाथि शेयर सदस्यहरु वीच छलफल गरी सुझाव संकलन गरिएको थियो ।
