कास्कीको तालचोकमा राष्ट्रिय सहकारी बैंक लि.को शाखा स्थापना
यही पुस महिना भित्र मुख्य कार्यालय सहित शाखा कार्यालयको संख्या ६८ पु-याउने लक्ष्य सहित आफ्नो शाखा कार्यालय बिस्तारलाई तिब्रता दिएको राष्ट्रिय सहकारी बैंक लिमिटेडले कास्कीको पोखरा महानगरपालिका अन्तर्गत तालचोकमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । २०७७ पुस २० गते एक कार्यक्रमका वीच पोखरा महानगरपालिकाका मेयर मानबहादुर जी.सी.ले सो शाखा कार्यालयको उदघाटन गर्नु भयो | सो अवसरमा मेयर जी.सी.ले सहकारी मार्फत सम्बृद्ध समाज निर्माण गर्नु पर्ने आवश्यकता औंल्याउदै तालचोकमा राष्ट्रिय सहकारी बैंकको शाखा कार्यालय स्थापना भएसँगै तालचोक र आसपासका सहकारी संस्थाहरुलाई कारोवार गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
सोही बैंकका अध्यक्ष के वी उप्रेतीले अध्यक्षता , सञ्चालक रामबहादुर जी.सी.ले सञ्चालन र सो बैंकको उक्त शाखा कार्यालयका प्रमुख सन्तोष घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस कार्यक्रममा त्यसै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले राष्ट्रिय सहकारी बैंक लि.का सेवा सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो |
पछिल्लो पटक सुनसरी जिल्ला सदरमुकाम इनरुवा र मोरङको सुन्दरहरैचामा आफ्नो शाखा कार्यालय विस्तार गरेको सो बैंकले आफ्नो शाखा कार्यालय विर्तामोडको आयोजनामा त्यस क्षेत्रका सहकारी संघ/संस्थाका प्रतिनिधिहरु सँग आफूले प्रवाह गरिरहेको सेवाको विसयमा अन्तर्क्रिया गरेको थियो । उक्त बैंकमा हाल १२ हजारभन्सदा बढी सहकारी संघ/ संस्था सदस्य रहेको जनाइएको छ ।
