देशभर सहकारी संस्थाहरुको संख्या २९,८८६ छ : सहकारी विभाग

0 Shares


सहकारी विभागले एउटा राष्ट्रिय सहकारी महासंघ लि.,एउटा राष्ट्रिय सहकारी बैंक लि.,२० वटा विषयगत केन्द्रीय संघ,२४१ वटा विषयगत जिल्ला संघ र २९,८८६ वटा सहकारी संस्था सञ्चालनमा रहेको प्रतिवेदन अर्थमन्त्री विष्णु पौडेल , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फे र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको बताइएको छ । मन्त्रीद्वय पौडेल र तुम्बाहाम्फे तथा गभर्नर अधिकारीलाई उक्त प्रतिवेदन सहकारी विभागका रजिष्टार डा.टोकराज पाण्डेले बुझाउनु भएको सहकारी विभागले जनाएको छ । सो प्रतिवेदनमा देशभर सञ्चालनमा रहेका सहकारी राष्ट्रिय सहकारी बैंक लि.सहितका सहकारी संघ/संस्थाहरुमा ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष गरी ७३,०७,४६२ जना आबद्ध रहनुका साथै कूल शेयर पूँजी रु.९४,१०,५०,००,००० , कूल बचत रु. ४,७७,९६,००,००,००० , कूल ऋण लगानी रु.४,२६,२६,२३,००,००० रहेको सहकारीले मुलुकभर ८८,३०९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको उल्लेख छ ।
सहकारी विभागका उप-रजिस्टार सुरेन्द्रराज पौडेलले २०७७ साउनदेखि कात्तिकसम्म सातै प्रदेशका स्थानीय तहहरुको सहकार्यमा सहकारी विभागले अध्ययन गरी उक्त तथ्यांक संकलन गरेको बताउनुभयो ।
स्थानीय तहबाट नयाँ सहकारी संस्थाको दर्ता गर्ने क्रम नरोकिएको र सहकारी संस्थाहरु एकीकरण हुने क्रम पनि चलिरहेकोले सहकारी विभागको यो तथ्यांक भन्दा सहकारी संस्थाको संख्या केही हदसम्म फरक पर्न सक्ने देखिन्छ । ‘गत मंसीरमा तनहुँको व्यास नगरपालिकाले दमौलीस्थित ‘उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लि’,को दर्ता गरेको थियो , जसको यही पुस १७ गते प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ । यस्तै गरी अरु पालिकाले पनि सहकारी संस्था दर्ता गर्ने क्रम नरोकेकोले सहकारी विभागको देशभरका सहकारी संस्थाहरुको यो तथ्यांक भन्दा सहकारी संस्थाहरुको संख्या फरक हुन सक्ने सक्छ’ एक सहकारी अभियानकर्मीको भनाई छ ।

Leave a Reply