पेन्सन वितरण गर्दै भूतपूर्व सैनिक साकोस गैडाकोट, भुषाल सिंह छन्त्याल थापा सो संस्थाको अध्यक्षमा पुन: चयन

0 Shares

नवलपुरको गैंडाकोट नगरपालिका-४,गैंडाकोटमा रहेको स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लि.ले SBI Bank LTD.सँग सहकार्य गरी सो बैंकमा खाता रहेका भारतीय भूतपूर्व सैनिकहरुलाई पेन्सन वितरण गर्ने कार्य गरिरहेको सो संस्थाका व्यवस्थापक शिव पौडेलले सहकारी सञ्जाललाई बताउनुभयो । उहाँले ‘यस संस्थाले आफ्ना महिला शेयर सदस्यहरुले बुनेका टोपी सुपध मुल्यमा विक्री गरिरहेको छ’भन्नुभयो ।
सो संस्थाको २०७७ पुस १७ गते १०औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष भूपाल सिंह छन्त्याल थापाको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन गर्दै गैंडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र गौतमले ‘सहकारीको विकास र प्रवर्द्धन गर्ने गरी गैंडाकोट नगरपालिकाले कार्य गरिरहेको छ’ भन्नुभयो । उहाँले छुट्टै पहिचान बनाएर अगाडि बढेकाको स्वतन्त्र भूतपूर्व सैनिक साकोस अरु सँग मर्जमा जानुको सट्टा यसले गैंडाकोट नगरपालिका भरी आफ्नो उपस्थितिलाई अझै दरिलो बनाउदै लैजाओस् र गैंडाकोट नगरपालिकाले पनि यसलाई दरिलो बनाउने गरी सहयोग गर्न तयार छ भनी प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त संस्थाका अध्यक्ष भुषाल सिंह छन्त्याल थापाले त्यसै संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै निकै बाधा ,ब्यबधान ,कठिनाई एवं उतारचढावको सामना गर्दै यहाँसम्म आई पुगेको हाम्रो यो संस्थाले शेयर सदस्य ज्यूहरुको इमान्दारिता , सञ्चालक समितिको सक्रियता र कर्मचारीहरुको लगनशीलताका कारण निरन्तर प्रगति गर्नुका साथै शेयर सदस्यहरुको हितमा कार्य गरिरहेको बताउनुभयो ।
सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न त्यस साधारणसभामा सोही संस्थाका सचिव वेदबन्धु रेग्मीले संस्थाको प्रगति प्रतिवेदन , कोषाध्यक्ष तमबहादुर क्षेत्रीले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक दुर्गाबहादुर पुनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । सो संस्थाका उपाध्यक्ष रामभक्त लम्सालले स्वागत मन्तव्य र व्यवस्थापक शिव पौडेलले सञ्चालन गर्नु भएको त्यस साधारणसभाले ती प्रतिवेदनहरु छलफल गरी पारित गरेको थियो । उक्त आर्थिक प्रतिवेदन तयार हुँदासम्म सो संस्थामा शेयर सदस्य संख्या २,१७०, कूल शेयर पूँजी रु.१ करोड ३० लाख , निक्षेप संकलन रु.१८ करोड र कर्जा लगानी रु.१४ करोड ५० लाख भन्दा बढी रहेको सोही आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
उक्त अधिवेशनले ४ वर्षे कार्यकाल रहने गरी पुन: भुषाल सिंह छन्त्याल थापाको अध्यक्षतामा सञ्चालक समिति र दुर्गाबहादुर पुनको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्बसम्मत चयन गरेको थियो । सञ्चालक समितिको उपाध्यक्षमा रामभक्त लम्साल , सचिवमा बेदबन्धु रेग्मी र कोषाध्यक्षमा तमबहादुर क्षेत्री तथा सदस्यमा फुलमाया पराजुली , सरस्वती पोखरेल , शोभा ढकाल , खगेन्द्र कँडेल , तर्कबहादुर थापा , रेशमान सुनार , तोया गैरे र हर्कबहादुर घर्ती एवं लेखा सुपरीवेक्षण समितिको सदस्यमा दुर्गादत्त गौतम र शेषकान्त रेग्मी हुनुहुन्छ ।

Leave a Reply