दाउन्नेदेवी महिला बहुउद्देश्यीय सहकारी संस्था लि., बर्दघाटद्वारा शेयर सदस्यहरुलाई १६ प्रतिशत लाभांश वितरण

0 Shares

नवलपरासीको बर्दघाटमा रहेको दाउन्नेदेवी महिला बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो सामाजिक सेवा कोषबाट शिक्षा र स्वास्थ्यको लागि स्थापना गरेको अक्षय कोषबाट विपन्न छात्राहरुको लागि पोशाक तथा शैक्षिक सामाग्री खरीद गर्ने प्रयोजनको लागि बर्दघाट नगरपालिका भित्र रहेका ११ वटा सरकारी माध्यमिक विद्यालयलाई रु.५० हजारका दरले  सहयोग गरेको र आर्थिक वर्ष २०७७/०७८ मा त्यो सहयोगलाई रु.५० हजारबाट बढाएर रु.१ लाख पु-याउने गरी सम्झौता भएको जनाएको छ ।  सोही प्रयोजनको लागि उक्त कोषबाट यसै नगरपालिका भित्रका २०७५ सालमा ३ वटा र २०७६ सालमा ८ वटा सरकारी माध्यमिक विद्यालयलाई सहयोग गरेको उक्त संस्थाको भनाई छ । 

सो कोषको रकमको व्याजबाट ७५ प्रतिशत शिक्षा र शैक्षिक सामाग्रीमा खर्च गर्ने र बाँकी २५ प्रतिशत उक्त कोष बृद्धिका लागि त्यसै कोषमा जम्मा गर्ने उद्देश्य रहेको सो संस्थाकी व्यवस्थापक हिरादेवी शाहीको भनाई छ । उहाँले सामाजिक सेवा कोषमा बर्थ डे (जन्मदिन) तथा म्यारिज एनिभर्सरी (बैबाहिक वर्षगाँठ) को अवसरमा यस संस्थाका शेयर सदस्यहरु र विभिन्न सामाजिक व्यक्तित्वहरुबाट सहयोग प्राप्त हुने गरेको तथा यसै संस्थाका शेयर सदस्यहरुले प्रतिवर्ष २५ रुपैयाका दरले रकम प्रदान गर्ने गरेको र यस कोषबाट कोरोना महामारीको विषम अवस्थामा बर्दघाट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु.५०,००० सहयोग गरेको भन्दै बर्दघाट नगरपालिकाको सिफारिस , सम्बन्धित व्यक्तिको निवेदन र अस्पतालको प्रेस्क्रिप्सनको आधारमा अवस्था हेरी २,००० रुपैया देखि १०,००० रुपैयाँसम्म विपन्न परिवारलाई उपचारका लागि सहयोग गर्ने गरिएकौ सहकारी सञ्जाललाई बताउनुभयो  । उहाँले ‘आर्थिक वर्ष २०७६/०७७ मा भएको कारोवारको आधारमा यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई १६ प्रतिशत लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट रु.८,६५,२३८ वितरण गरेको छ’ भन्नुभयो ।

उक्त संस्थाको २०७७ मंसीर १ गतेदेखि शुरु भई पुस १८ गतेसम्म २३औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सोही संस्थाकी अध्यक्ष देवी पौडेलको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता एवं अल्पकालीन आश्रय स्थल जिल्ला सेवा केन्द्र , नवलपरासीका संयोजक अधिवक्ता बाबुराम खड्काको आतिथ्यतामा सो साधारणसभा सम्पन्न भएको थियो । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि बस्यालले यस दाउन्नेदेवी महिला बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरिरहेको सेवा तथा समुदायमा पु-याइरहेको सहयोग सरहानीय रहेको बताउनु भएको थियो । उहाँले सहकारीको सिद्धान्त , मुल्य र मान्यता बमोजिम सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन मद्दत पुग्ने गरी कार्य गर्नु पर्नेमा जोड दिदै बर्दघाट नगरपालिकाले सहकारीको प्रवर्द्धन हुने गरी कार्य गरिरहेको छ भन्नुभएको थियो ।

साधारणसभाको अध्यक्षता गर्दै उक्त संस्थाकी अध्यक्ष पौडेलले ‘२०५५ फागुन ४ गते आफ्नो प्रारम्भिक साधारणसभा गरी अगाडि बढेको हाम्रो यो संस्थाले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको छ र यसका शेयर सदस्यहरुको साथ  सहयोग तथा कर्मचारीहरुको मेहनत र लगनशीलताले यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सकिरहेको छ’ भन्नुभएक़ थियो । उहाँले यस संस्थाले ऋण लगानी गर्दा सेवा शुल्क लिने नगरेको र ऋणको मासिक व्याज बुझाउने सदस्यहरुलाई व्याजमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको बताउनु भएको थियो । त्यसै संस्थाकी उपाध्यक्ष लक्ष्मी शर्माले स्वागत मन्तव्य र सचिव लक्ष्मी बर्तौलाले सञ्चालन गर्नु भएको साधारणसभामा सोही संस्थाकी लेखा सुपरीवेक्षण समिति संयोजक रीना गौचनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र व्यवस्थापक हिरादेवी शाहीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

त्यसैगरी त्यस साधारणसभामा सोही संस्थाका जेष्ठ शेयर सदस्यद्वय विष्णुमाया सापकोटा र रकतकुमारी चौधरी , उत्कृष्ठ वाल बचतकर्ता रियान आर.सी., सर्वाधिक शेयरकर्ता सदस्य शिवकुमारी भट्टराई , उत्कृष्ठ बचतकर्ता सदस्य लक्ष्मी बर्तौला , मञ्जु लम्साल , सिर्जना दिशा मगर ,गंगादेवी आचार्य र तुलशा ज्ञवाली तथा उत्कृष्ट व्यवसायी सदस्य राधादेवी चौधरी , बुद्धीकुमारी बस्नेत ,गीता भट्टराई र भगवती बस्याललाई सम्मान गरिएको थियो ।

त्यसैगरी उक्त साधारणसभामा सो संस्थाको अक्षय कोषमा रु.१० हजार सहयोग गर्ने त्यसै संस्थाकी उपाध्यक्ष लक्ष्मी शर्मा, व्यवस्थापक हिरादेवी शाही तथा विन्दु सुनार , विमला शर्मा बस्याल , मनोज खनाल , प्रकाश ज्ञवाली र अञ्जु न्यौपाने लौडारीलाई सम्मानित गरिएको थियो ।

Leave a Reply