सहकारी सूचना सञ्जाल निर्माण गर्ने योजना बनाउदै श्री हरकट्टादेवी साकोस, हरकट्टा, नवलपरासी
नवलपरासीको सुनवल नगरपालिका-१२ , हरकट्टामा रहेको श्री हरकट्टादेवी बचत तथा ऋण सहकारी सहकारी संस्था लि.ले सहकारी सूचना सञ्जाल निर्माण गरी कार्यान्वयन गर्ने योजना बनाई रहेको जनाएको छ । सो संस्थाका अध्यक्ष चन्द्रबहादुर भुषालले ‘शेयर सदस्य , शेयर पूँजी र कारोवार बृद्धि गरिरहेको हाम्रो यस संस्थाले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ’ भन्नुभयो । उहाँले निम्न तथा मध्यम वर्गका समुदायहरुमा सहकारी पहुँच पु-याउने योजना बनाइरहेको यो संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका व्यक्तिहरुलाई (शेयर सदस्यता बृद्धिका लागि) आफूप्रति अभिरुची पैदा गर्ने गरी कार्यक्रम बनाइरहेको सहकारी सञ्जाललाई बताउनुभयो । स्वस्थ र स्वच्छ वस्ती निर्माणमा स्थानीय र सरकारी निकायलाई सहयोग गरिरहेको यस संस्थाले स्थानीय स्तरमा उपलब्ध जैविक विषादी प्रयोगका लागि तालिम सञ्चालनको व्यवस्था गर्न लागिरहेको उहाँको भनाई छ ।

उक्त संस्थाको २०७७ पुस १९ गते ११औं वार्षिक साधारणसभा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष चन्द्रबहादुर भुषालको अध्यक्षता , जेष्ठ शेयर सदस्य दुर्गाप्रसाद अर्यालको प्रमुख आतिथ्यता र संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक रामप्रसाद पाण्डेय र सो संस्थाका शेयर सदस्य समेत रहनु भएका सुनवल नगरपालिका वडा नं.१२ का वडा सदस्य शान्ति सुनारको विशेष आतिथ्यतामा सम्पन्न साधारणसभामा त्यस संस्थाका अध्यक्ष भुषालले वार्षिक प्रतिवेदन , सचिव लुमकान्त भुषालले संस्थाको प्रगति प्रतिवेदन , कोषाध्यक्ष कमलकान्त गैरेले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक डिल्लीराम शर्मा ढकालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारणसभाबाट छलफल गरी पारित गरिएको प्रतिवेदनहरुमा आर्थिक वर्ष २०७६/०७७ मा सो संस्थामा महिला ३५४ र पुरुष २४६ गरी शेयर सदस्य संख्या ६०० , वाल बचतकर्ता २४६ जना , दैनिक बचतकर्ता ३२० जना , २ जना पुरुष र १ जना महिला गरी ३ जना कर्मचारी , कूल पूँजी रु.६,७२,०९,०५८ , शेयर पूँजी रु.५४,४७,५००, कूल बचत रु.५,५०,५५,१३८ , कर्जा लगानी रु.५,३०,,५८,१३०, जगेडा कोष रु.२५,७६,४४५ , अन्य कोषहरु रु.२४,०१,५०० र शुद्ध नाफा रु.१६,०९,६४८ रहेको उल्लेख छ । साधारणसभामा सो संस्थाका सञ्चालक सदस्य तेजप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । त्यसै संस्थाका व्यवस्थापक गोकुलकुमार श्रेष्ठले साधारणसभाको संयोजन गर्नु भएको थियो ।

