पथरीमा मेची सहकारी संस्था लि.को सेवाकेन्द्र सञ्चालन शुरु

झापाको दमकमा मुख्य कार्यालय तथा मोरङको उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिका तथा झापा कमल गाउँपालिकामा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको मेची सहकारी संस्था लि. को मोरङको पथरीशनिश्चरे नगरपालिका-१ , पथरीमा हिजोबाट सदस्य सेवाकेन्द्र सञ्चालनमा आएको छ । उक्त सेवाकेन्द्रको राष्ट्रिय सहकारी महासंघ लि.का उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लि.का नि:बर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेलले उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले सहकारी क्षेत्रले बचत र ऋणको कारोवारमा मात्रै सिमित नरही उत्पादनमूलक कार्य र रोजगारी सृजनामा जोड दिनु पर्ने आवश्यकता औंल्याउनुभयो । सो अवसरमा पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप राईले सहकारी क्षेत्रको विकासमा पथरीशनिश्चरे नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहकारी संस्थाहरु एकीकरण भई मजबुत बन्नु पर्नेमा जोड दिनुभयो । प्रदेश नं. १ सहकारी संघ लि.का अध्यक्ष डिल्लीप्रसाद पोखरेलको समेत उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले सहकारीको सिद्धान्त , मुल्य र मान्यता भित्र रहेर नीति , विधि र प्रविधि अवलम्बन गरी मेची सहकारी संस्था लि. राम्रोसँग सञ्चालन भइरहेको बताउदै यस संस्थाको शेयर सदस्य बन्न पथरीशनिश्चरे नगरबासीहरुलाई आग्रह गर्नुभयो ।
उक्त संस्थाका सचिव राजेन्द्रप्रसाद दाहालले सञ्चालन गर्नु भएको कार्यक्रममा सो संस्थाको गतिविधि र बित्तीय अवस्थाको बारेमा सोही संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेले जानकारी दिनु भएको थियो । सो सेवाकेन्द्रमा १२५ जना शेयर सदस्य बनी सकेको त्यसै संस्थाका सूचना अधिकारी चन्द्र थापाको भनाई छ । रुद्रबहादुर तामाङको संयोजकत्वमा उक्त सेवाकेन्द्र व्यवस्थापन समिति गठन गरिएको छ । त्यस समितिको सह-संयोजकमा लुमा भट्टराई खड्का तथा सदस्यमा कृष्णप्रसाद भटृराई , पार्थबहादुर बुढाथोकी र भीम अधिकारी रहनु भएको छ । त्यसैगरी त्यस सेवाकेन्द्रमा कृष्णप्रसाद भट्टराई संयोजक तथा पार्वती बिष्ट सदस्य र त्यसै सेवाकेन्द्रका प्रमुख सदस्य-सचिव रहने गरी कर्जा व्यवस्था उप-समिति गठन गरिएको छ ।