थानकोटमा मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं सेवाकेन्द्र सञ्चालनमा
काठमाडौंको माछापोखरीमि मुख्य कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.ले काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ थानकोटमा आफ्नो छैटौं सदस्य सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । यही फागुन १५ गते एक कार्यक्रमका वीच सो सेवाकेन्द्रको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेतीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सोही संस्थाका अध्यक्ष हुमाकान्त न्यौपानेको अध्यक्षतामा सम्पन्न त्यस कार्यक्रममा बागमती प्रदेशसभा सदस्य रमा आले, चन्द्रागिरि नगरपालिकाका वडा नं.४ का वडाध्यक्ष कृष्णबहादुर खड्गी , महानगरीय प्रहरी वृत्त , थानकोटका प्रमुख मोहन खाँड लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उद्घाटन मन्तव्य व्यक्त गर्दै चन्द्रागिरि नगरपालिकाका मेयर गिरीले सहकारीले चन्द्रागिरि नगरपालिका भित्रका स्थानीय बासिन्दाहरुको उत्पादन वृद्धि , बचत परिचालन र रोजगारी सिर्जना एवं सामाजिक क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउदै यस मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सेवाकेन्द्र मार्फत यस भेगका बासिन्दालाई सर्वसुलभ सेवा प्रदान गरी उत्पादन बृद्धि र रोजगारी सिर्जना गर्ने तर्फ सोच्न आग्रह गर्नुभयो । त्यसैगरी राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष उप्रेतीले मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले छोटो अवधिमा राम्रो प्रगति गर्न सकेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले सहकारीमार्फत आर्थिक विकास , रोजगारी सिर्जना र सामाजिक रुपान्तरणका काम भएको छ र अझ व्यापक रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसै संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलालले यस संस्थाको वार्षिकोत्सवकै अवसरमा यो सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना रहेको थियो तर विविध कारणले गर्दा केही ढिलाई हुन गएको भन्दै हाम्रो यो संस्थाले कृषि, आवास जस्ता केही नयाँ परियोजना सञ्चालनका लागि अध्ययन गर्ने कार्य भइरहेको र त्यसका लागि कार्यविधि बनाउने कार्य जारी रहेको बताउनुभयो ।उहाँले ‘हाम्रो यो संस्थाले आफ्ना शेयर सदस्यहरुको सुविधालाई ध्यानमा राखी ‘फन पे’ मार्फत संस्थाबाट बैंक र बैंकबाट संस्थामा रकम ट्रान्सफर गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ’भन्नुभयो । कार्यक्रममा संस्थाका सञ्चालक समिति , लेखा सुपरीवेक्षण र उप-समितिहरुका पदाधिकारी तथा सदस्य , कर्मचारी, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो ।
यस अगाडि नै मोवाइल बैंकिङ्ग सेवा र एटीएम(ATM) सेवा सञ्चालनमा ल्याएको त्यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई निश्चित वर्ष नियमित बचत गरे पश्चात पेन्सन उपलब्ध गराउने गरी पेन्सन बचत योजना सञ्चालनमा ल्याएको छ भने वीमा सुविधा समेत उपलब्ध गराउँदै आएको छ । ११ हजार भन्दा बढी सदस्यहरु आवद्ध रहेको सोही संस्थामा चुक्ता पू जी रु.१४ करोडको हाराहारीमा रहेको छ भने कूल वासालात रु.१अर्ब ७५ करोड जनाइएको छ ।
