हिमचुली साकोस, गोरखाले मनायो आफ्नो २८औं स्थापना दिवस , संस्थाको कूल कारोवार रु.२७ करोड

गोरखा सदरमुकाम गोरखाको नयाँ बजारमा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २८औं स्थापना दिवस यही फागुन १५ गते विशेष कार्यक्रम गरी मनाएको छ । सो संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजाराज पन्तले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर उठाउन सहयोग पुग्ने गरी कार्य गर्दै अगाडि बढिरहेको यस हिमचुली साकोसले स्थापना भएको छोटो समयावधिमा उलेख्य प्रगति गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले सहकारीले उत्पादन बृद्धि र रोजगारी सिर्जनामा जोड दिनु पर्ने बताउदै गोरखा नगरपालिका सहकारीको प्रवर्द्धनका लागि सधै सहयोग गर्न तयार रहेको बताउनुभयो । उक्त अवसरमा सोही संस्थाका अध्यक्ष श्रेष्ठले सो संस्थाको समग्र वित्तीय अवस्थाको बारेमा प्रकाश पार्दै शेयर सदस्यहरुकोसाथ र सहयोग तथा कर्मचारीहरुको मेहेनतका कारण हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सकेको भन्दै सबैलाई धन्यवाद दिनुभयो । उक्त अवसरमा त्यस संस्थाले १/१ जना महिला र पुरुषलाई विशेष ज्येष्ठ सदस्य सम्मान , १ जनालाई उत्कृष्ट बचतकर्ता सम्मान र ३ जनालाई असल ऋणी सम्मानबाट सम्मानित गरिएको थियो भने संस्थाको कार्यक्षेत्र भित्रका विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत शेयर सदस्यहरुका छोराछोरीहरुमध्येबाट जेहेन्दार र उत्कृष्ट छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
२०४९ फागुन १५ गते ३० जना शेयर सदस्यको रु.३ हजार शेयरपूँजी र रु.३ हजार मासिक बचत संकलन गरेर स्थापना भएको उक्त संस्थामा हाल शेयर सदस्य संख्या १,९९७ , शेयर पूँजी रु.२ करोड ८१ लाख ४४ हजार, निक्षेप संकलन रु.२० करोड ५५ लाख , जगेडा तथा अन्य कोषहरुमा रु.३ करोड भन्दा माथि , कर्जा लगानी रु.१७ करोड ४४ लाख र कूल कारोवार रु.२७ करोड रहेको भन्दै सोही संस्थाका व्यवस्थापक प्रेम श्रेष्ठले नेफ्स्कूनद्वारा सञ्चालित प्रोवेशन कार्यक्रममा सहभागी रहेको यस संस्थाको यो वर्ष फाइनल अडिटको तयारी भइरहेको जानकारी दिनुभयो ।
९ देखि १३ प्रतिशत व्याजदरमा आफ्ना शेयर सदस्यहरुलाई कर्जा लगानी गर्दै आएको यस संस्थाले महिला उद्यमीहरुलाई भने ९ प्रतिशत भन्दा कम व्याजदरमा कर्जा लगानी गर्दै आएको बताउदै उहाँले ‘हाम्रो यो संस्थाले वित्तीय साक्षरता र सहकारी सम्बन्धी प्रशिक्षण कार्यक्रम नियमित रुपमा सञ्चालन गर्दै आएको छ’ भन्नुभयो। ‘यस संस्थाले सदस्य सुरक्षा कार्यक्रम अन्तर्गत महिला सदस्य सुत्केरी हुँदा रु.३,००० का दरले २ पटकसम्म र कुनै सदस्यको मृत्यु भएमा निजको परिवारलाई रु.५० हजार आर्थिक सहयोग गर्ने गरिएको छ’ उहाँको भनाई छ ।