बागमती प्रदेश सहकारी संघ लि.ले ४ वर्षे रणनीतिक योजना तर्जुमा गर्ने


बागमती प्रदेश सहकारी संघ लि. ले आफ्नो ४ वर्षे रणनीतिक योजना छिट्टै तर्जुमा गर्ने निर्णय गरेको जनाएको छ । उक्त संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा यही चैत ८ गते बसेको त्यस संघको बैठकले सो निर्णय गरेको हो । सोही बैठकले बागमती प्रदेशभरीका सहकारी संघ/ सस्थाहरुलाई सो संघको सदस्य बन्न अनुरोध गर्ने , सहकारी संघ /सस्थाहरुको बिकास , प्रबर्द्धन र नीति निर्माणमा सहकार्य गर्दै अगाडि बढ्ने , बागमती प्रदेश सरकारसँग सहकार्य गरी उत्पादनमुलक क्षेत्रमा सहकारी संघ र सस्था मार्फत सेवा पु-या उने ,’मर्यादित व्यवसाय र प्रविधिमा सहकारी‘ भन्ने मूल नाराका साथ यसपालीको ६४औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी हेटौंडामा मनाउने र सहकारीमा रहेका विभिन्न चुनौतिहरुलाई अवसरमा बदल्दै संघ अगाडि बढ्ने निर्णय गरेको त्यसै संघका वरिष्ठ उपाध्यक्ष जगतलाई महर्जनले सहकारी सञ्जाललाई बताउनुभयो । उहाँले सहकारीमार्फत भएका राम्रा कामको प्रचार प्रसार गरी नागरिकहरुमा सहकारीको महत्वको बारेमा बुझाउने , सहकारीमार्फत व्यवसाय गर्न प्रोत्साहन गर्ने , सहकारी अभियानद्वारा सदस्यहरुको समृद्धि र प्रबिधिद्वारा सेवा सुविधा दिदै निरन्तर अगाडि बढ्दै जान प्रोत्साहन गर्नुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा सहकारीको स्थानलाई कायम गर्नुका साथै सहकारीको मूल्य ,मान्यता र सिद्धान्त अनुरुप सुशासनयुक्त ढंगबाट सहकारी संघ/संस्थाहरु सञ्चालन गरी सदस्यहरूलाई सुसूचित गराउँदै सहकारी क्षेत्र सामाजिक तथा आर्थिक रूपान्तरणको एक सशक्त माध्यम हो भन्ने सिद्ध गराई यसको सार्थकता प्रमाणित गर्न सहकारी अभियानले यो दिवस भव्य रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो ।
