भक्तपुर जिल्ला बचत संघको आयोजनामा लेखा व्यवस्थापन तालिम सम्पन्न
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि., भक्तपुरको संस्थागत विकास उप-समितिको आयोजनामा दुई दिने लेखा व्यवस्थापन तालिम २०७७ चैत्र ७ गते सुर्यविनायक रिसोर्ट, घलाँटे, सुर्यविनायकमा सम्पन्न भयो । समापन कार्यक्रमका प्रमुख अतिथि एवं भक्तपुुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले रामेछापमा लेखा तालिम दिनुहुँदाको अनुभव सुनाउँदै सहकारीमा लेखा राख्ने प्रणाली नमिल्दा ठुलठुला सहकारीको बदनाम भएको समाचार आइरहेको कुरा बताउनुभयो । उहाँले तालिमबाट सिकेका कुराहरुको व्यवहारमा उपयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।तालिममा उक्त संघका व्यवस्थापक बालकृष्ण धोंजु, बित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौंमिखा र भक्तपुरको सूर्यविनायकमा मुख्य कार्यालय रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक राधेश्याम दुवालले सहजीकरण गर्नुभएको थियो । त्यस तालिममा लेखाको परिचय, लेखाको अवधारणा, मुख्य खाताहरु, लेखा समीकरण, गोश्वारा भौचर , सन्तुलन परीक्षण, आयव्यय विवरण, वासलात, सहकारी ह्रासकट्टी र करकट्टी विषयमा सहजीकरण गरिएको थियो । सोही संघका सचिव एवम् संस्थागत विकास उप-समितिका संयोजक जगनाथ प्रजापतिले सो तालिमको अध्यक्षता गर्दै सफ्टवेयर भएको संस्थामै पनि लेखा राखेको नमिलेर संस्था धरापमा परेको तर समुदायमा आधारित सहकारी संस्थाहरुमा लेखा पारदर्शी हुने र स्थायित्व हुने बताउनुभयो । उहाँले हाल बजारमा व्यक्तिगत रुपमा लगानी भएका गैर समुदायमा आधारित सहकारी संस्थाहरुले अधिकतम व्याजको प्रलोभन देखाएर सदस्यहरुलाई आकर्षित गर्ने र सदस्यको बचत कुम्ल्याएर भागेको खबरबारे चर्चा गर्नुभयो । त्यसै कार्यक्रममा सहजकर्ता राधेश्याम दुवाल, सहभागीमध्ये पुष्यराम सुकुपायो, शान्ति थापा(बोहरा), सविना शिल्पकार र रश्मिला चिकंबन्जारले समेत बोल्नुभएको थियो । बित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौंमिखाले संंञ्चालन गरेको उक्त तालिममा सदस्य संस्थाबाट ४६ जनाको सहभागिता रह्यो ।
