सहकारीताको विकासक्रम तथा संस्थाको प्रतिवद्दता

– श्री राजेन्द्र कृष्ण श्रेष्ठ
सामान्य रुपमा परिभाषित गर्दा प्राथमिक उत्पादन वा बास्तविक उपभोक्ताहरु मिलेर सहकारीको सिद्दान्त अनुरुप आ-आफ्ना साझा तथा समान भावनालाई मूर्त रुप दिन गठन गरिने संस्थालाई सहकारी संस्था भनिन्छ । अन्तराष्ट्रिय सहकारी महासंघले गरेको परिभाषा अनुसार “सहकारी त्यस्ता व्यक्तिहरुको स्वायत्त संगठन हो, जो स्वेच्छिक रुपमा एकजुट भै आफ्ना समान आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता र आकांक्षाहरुको परिपूर्ति संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रण व्यवसाय मार्फत गर्न चाहन्छन्”।
सहकारीताको ऐतिहांसिक पृष्ठभूमि
सहकारीताको ऐतिहांसिक पृष्ठभूमि कोट्याउंदा एकातर्फ वेलायतमा कपडा खारखानामा काम गर्ने मजदुरहरुले थोरै ज्यालामा काम गर्नु पर्ने र चाहिने सामानहरु कपडा मालिक वा उसका गुमस्ता पसलवाट किन्नु पर्ने प्रणालीको विरुद्दमा २७ पुरुष र १ महिलाले १ / १ पाउण्ड रकम उठाएर शुरु गरिएको रोचडेल पायनियर सोसाइटी ई.सं.१८४४ मा शुरु भएको मानिन्छ भने अर्कोतर्फ सन् १८५० र १८६० को दशकमा First Working Credit Union Models : यमभकि नामवाट जर्मनीमा फैलिएको सहकारीताको सिद्दान्त १९औं शताव्दीमा युरोपमा जरा गाड्यो । यसले सुरुमा Retail / Agricultural marketing बाट सुरु गरेको थियो । त्यसैताका अर्थात १९औं शताव्दीमै जापानका Economist Ninomiya Sonkoku ले आफ्नो गाउँमा सवै व्यक्तिहरुलाई सदस्य बनाई GOJOKO नामक Union खडा गरी विना व्याज १०० दिनका लागि ऋण लिन सक्ने प्रावधान सहित संस्था खडा गरे र यदी ऋण डुवेमा ती Union मा आवद्द सबै सदस्यहरुवाटै थप रकम पूर्ति गरी डुवेको ऋणको व्यवस्था गर्नु पर्ने थियो । पछिल्लो समयमा बंगलादेशका प्रो.मौहम्मद युनुसको ग्रामिण सहकारीको अवधारणाले वंगलादेशमा ठुलो मात्रामा गरिवी घटेको तथ्य अन्तराष्ट्रिय जगतमै ज्यादै चर्चाको विषय वनेको थियो ।
नेपालमा सहकारीताको विकास
नेपालको ग्रामिण समाजमा सहकारीताको भावना अनुरुप सुषुप्त रुपमा आपसी सहयोग अर्थात विभिन्न स्वरुपमा कार्यहरु हुँदै आएको विभिन्न अध्ययनवाट पाउन सकिन्छ । उदाहरणार्थः कृषि कार्य तथा सामूहिक कार्य गर्नका लागि श्रम साटासाट गर्ने अर्थात परिम वा पर्म लगाउने परिपाटी एद्यपि रहेको छ । खास गरेर दाउरा जम्मा गर्ने, कोदो रोप्ने, धान गोड्ने, आली काल्ला तास्ने, मकै गोड्ने, गोबर मल बोक्ने, धान काट्ने , कोदो टिप्ने, मकै भांच्ने, नल पराल बोक्ने, धानको दाइ गर्ने, कोदो ठटाउने जस्ता कार्यहरुमा पर्म लगाउने गरिन्छ । घर बनाउनका लागि ढुंगा बोक्ने, काठ दाउदा बोक्ने जस्ता कार्यहरुमा समेत यसको उपयोग गरिन्छ । पुसे पन्ध्र यस्तो पर्म लगाउनेहरुले धुमधामसंग रमाइलो गर्ने एक प्रकारको अस्थायी गुठी हो तर संस्थागत प्रयास भने वि.सं. २०१० सालमा सहकारी विभागको गठनवाट शुरुवात भएको हो । वि.सं. २०१३ सालमा राप्ती दुन क्षेत्रमा केही सहकारी संस्थाको स्थापनाले यसको स्वरुप निर्धारण गर्ने कार्य गरेको थियो । वि.सं. २०१६ सालमा सहकारी ऐन लागू भई वि.सं. २०१७ साल सम्ममा १९ जिल्लामा ३७८ सहकारी संस्थाहरु स्थापना भएका थिए ।
सहकारी कानूनलाई व्यापक वनाउने उद्देश्यले विगतमा कायम रहेको साझा संस्था ऐन , २०४१ लाई खारेज गरी सहकारी ऐन, २०४८ लागू भएपछि उक्त ऐनको दफा २६ अनुसार सहकारी संस्थाहरुले बैंकिङ कारोवार गर्न पाउने व्यवस्था भयो । निकै लामो प्रतिक्षा र चुनौतिहरुका बावजुद २६ बर्ष पुरानो सहकारी ऐन ,२०४८ लाई सहकारी ऐन ,२०७४ ले प्रतिस्थापन गरेको छ ।
उपसंहार
विद्यमान वित्तीय सहकारी संस्थाहरुको अवस्था र समस्याहरुका विषयमा भन्नुपर्दा एकातिर यस्ता सहकारी संस्थाहरुले देश तथा जनताका पक्षमा पु-याएको विशिष्ठ योगदानलाई कदापि नजरअन्दाज गर्न मिल्दैन भने अर्कोतर्फ वेला- वेलामा केही सहकारी संस्थाहरु विस्थापित हुने अर्थात भाग्ने, समस्याग्रस्त हुने र जनमानसमा संस्था प्रति वितृष्णा फैलाउने जस्ता कुकृत्यले गर्दा आफ्नो निर्दिष्ट लक्ष्य वोकी अघि बढिरहेका व्यवस्थापकीय कुशलताद्धारा सञ्चालित तथा शेयर सदस्यहरुको अपार स्नेह, आँट, भरोसा र हौसलावाट अभिप्रेरित भै दुरदर्शी Mission and Vision बोकी अघि वढेका हामी जस्ता वित्तीय सहकारी संस्थाहरुको मनोवलमा ठेस लागेको हामीले महशुस गरेका छौं ।
अन्तमा, माथि उल्लेखित समय- समयमा घटेका र घट्न सक्ने घटना र समस्यावाट विचलित नभई निरन्तर संस्थाको विकास र प्रवर्द्धनका लागि सञ्चालक समिति, अन्य समितिहरु तथा कर्मचारीहरु आफ्नो उद्देश्य, लक्ष्य तथा दिशामा कुनै विचलित नभै अघि वढ्ने कुराको प्रतिवद्दता जाहेर गर्दै यो दृढसंकल्प गर्दछ ।
(श्रेष्ठ काठमाडौं महानपालिका-१३ , टंकेश्वर – कालीमाटीमा रहेको आश्रय बहुउद्देश्यीय सहकारी संस्था लि.का प्रबन्ध निर्देशक हुनुहुन्छ ।)