जेष्ठ नागरिकहरुका लागि मनोरञ्जनस्थल बन्दै सहयोगी जेष्ठ नागरिक गृह

ललितपुरको महालक्ष्मी नगरपालिका-८, लुभूमा आफ्ने भवनबाट सञ्चालन भइरहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.ले २०७७ फागुन १९ गतेबाट सञ्चालनमा ल्याएको सहयोगी जेष्ठ नागरिक गृहको दिशा सेवा जेष्ठ नागरिकहरुको लागि मनोरञ्जनस्थल बन्दै गएको देखिएको छ । दैनिक अपरान्ह ३ बजेदेखि साँझ ७ बजेसम्म लुभू श्रेत्रका भजनमण्डलीले पालैपालो भजनकिर्तन गर्दै आएको उक्त गृहमा लुभू तथा आसपासबाट दैनिक ५० जना जति जेष्ठ नागरिक आउने गरेको र उनीहरु सहित ६० जनाको लागि सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.ले खाजाको व्यवस्था गर्दै आएको सोही संस्थाका संस्थापक अध्यक्ष तथा सहयोगी जेष्ठ नागरिक गृहका अध्यक्ष नारायण लाल श्रेष्ठको
भनाई छ । ‘२०५३ कार्तिक २० गतेबाट ३१ जना शेयर सदस्यको प्रतिव्यक्ति रु.१,००० शेयर पूँजीबाट र मासिक रु.१०० का दरले बचत गरेर सञ्चालनमा आएको सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.ले आर्थिक वर्ष २०६६/०६७ मा राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो भने आफ्नो उद्देश्य अनुरुपको कार्य राम्रो सँग सञ्चालन गर्दै अगाडि बढिरहेको देख्ता आफूलाई खुशी लाग्ने गरेको छ’ उहाँले सहकारी सञ्जाललाई बताउनुभयो । यस संस्थाले सञ्चालनमा ल्याएको सहयोगी जेष्ठ नागरिक गृह अहिलेजसरी नै सञ्चालन गर्ने हो भनी सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीको जिज्ञासाको जवाफमा उहाँले ‘भविष्यमा जेष्ठ नागरिकहरुलाई सुहाउँदो किसिमको आवश्यक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ’ भन्नुभयो ।
सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.को आफ्नै जग्गामा रहेको सहयोगी जेष्ठ नागरिक गृहको सोही गृहका सल्लाहकार तथा समाजसेवी सुनिल कृष्ठ श्रेष्ठले उद्घाटन गर्नु भएको थियो ।
सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.ले प्रत्येक वर्ष साउन महिनाको अन्तिम शनिवार आफ्ना जेष्ठ शेयर सदस्यहरुलाई तिर्थ भ्रमणमा लैजाने तथा उनीहरुलाई आफ्नो वार्षिक साधारणसभामा नगद पुरस्कार सहित सम्मान गर्ने गरिएको छ’ त्यस संस्थाका सञ्चालक ओम श्रेष्ठ बताउनुहुन्छ ।
यसका साथै बचत तथा ऋण कारोवारसँगै लुभूमा नै ग्यास डिपो , सहयोगी उपभोक्ता सहकारी पसल , वेष्ट विङ स्कूल/कलेज सञ्चालन गरिरहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.ले अर्गानिक कृषि अध्ययन केन्द्र समेत सञ्चालनमा ल्याएको छ । सो अध्ययन केन्द्रले सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.को आफ्नै २ रोपनी भन्दा बढी जग्गामा टनेल निर्माण गरी गोलभेडा खेती शुरु गरेको सो संस्थाका अध्यक्ष नारायण भक्त श्रैष्ठको
भनाई छ ।’ हाम्रो यस संस्थाले लुभू क्षेत्रको लोकबाजा , मठमन्दिर लगायतका सांस्कृतिक धरोहरको संरक्षणका लागि आर्थिक सहयोग गर्ने गरेको छ’ उहाँ बताउनुहुन्छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.७,८,९ र १० मा कार्यक्षेत्र रहेको त्यसै संस्थाका व्यवस्थापक श्यामकृष्ण श्रेष्ठले
यही चैत १० गतेसम्म हाम्रो यस संस्थामा शेयर सदस्य संख्या ३,०९१ , शेयर पूँजी रु.९,२०,३५,००० , निक्षेप संकलन रु.७८,८९,५०,००० , कर्जा लगानी रु.६५,७२,०८,००० र कूल कारोवार रु.१,०६,२४,३३,००० रहेको र आर्थिक वर्ष २०७६/०७७ मा सहयोगी उपभोक्ता सहकारी पसलबाट रु.६ लाख ७२ हजार नाफा आर्जन भएको बताउनुभयो । उहाँले यस संस्थाले गुठी मोडलमा सञ्चालन भइरहेको वेष्ट विङ स्कूलमा अध्ययनरत आफ्ना शेयर सदस्यहरुका छोराछोरुहरुको बर्षमा ५ महिनाको शुल्क तिर्ने गरेको छ , सो स्कूलमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरु मध्ये प्रथम हुने विद्यार्थीलाई पुरस्कृत गर्नेे
र त्यसै स्कूलमा अध्ययनरत आफ्ना शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने छ भन्नुभयो ।