सहकारीमा हुने बेथीति र त्यसको नियन्त्रण

– बालकृष्ण धोजु
गरिवहरूले व्यक्तिगत रूपमा थोरै रकम बचत गर्न सक्दछन् , जुन उत्पादनशील कार्यमा लगानी गर्न प्रर्याप्त नहुन सक्दछ । समूह÷सहकारीमा सदस्य भई बचत गर्दा सामूहिक बचतबाट आफूसँग भएका रकमभन्दा बढी रकम पाई व्यक्तिगत वा समूहगत रूपमा उत्पादनशील कायमा लगानी गर्न सकिन्छ । न्यून साक्षरतास्तर र हिसाव किताब राख्न सीप र ज्ञानको कमीले गर्दा आफनो बचत र सोको व्यवस्थापन गर्न गरिवलाई गाह्रो हुन्छ । समूह÷सहकारीका सदस्य भई बचत गर्दा गरिवले एक अर्कालाई यस्तो सीप सिक्न सहयोग पु¥याउन सक्दछन् । तसर्थ: सहकारी भन्नाले व्यक्तिहरूको एउटा यस्तो समूह हो ,जसमा व्यक्तिहरू मिली सामूहिक रूपमा बचत गर्छन् र आवश्यक परेको बेलामा कम व्याजदरमा ऋण प्राप्त गर्दछन् । यी आवश्यकताका आधारमा गठन गरिएका व्यक्तिहरूद्वारा सञ्चालित वित्तीय संस्था सहकारी निकाय हो । यसमा एउटा कारखानाका कामदारहरू, समूदायका व्यक्तिहरू तथा कार्यालयका कर्मचारीहरू समावेश हुन्छन् । सहकारी मानव संसाधन विकासका शक्तिशाली र प्रभावकारी माध्यम हुन् । सहकारीले सजिलैसँग समुदायका सामाजिक पूष्ठभूमिलाई एकीकृत गर्दछन् । विशेषतः आत्मम-सहयोगमा आधारित भई grassroots स्तरमा काम गर्दछन् । सामान्यतयाः बैकल्पिक बैकिङ सुविधामा पहुँच हुन नसक्ने÷नभएका व्यक्तिहरूलाई सदस्यताका आधारमा सरल तर उपयोगी वित्तीय सेवा सहकारीले प्रदान गर्दछन् । सहकारीले न्यूनतम सञ्चालन लागतमा काम गरेको हुन्छ ।
सहकारी सदस्यमा आधारित सामुदायिक वित्तीय संस्था हो । लगानीका आधारमा सञ्चालन गरिने व्यवसाय होइन । सहकारीले व्यक्ति (सदस्य) लाई प्राथमिकता दिन्छ, पूँजीलाई होइन , किनभने यो सामाजिक संस्था पनि हो , जसले व्यवसाय मार्फत आफना सदस्यहरूलाई सेवा प्रदान गर्दछ । तसर्थ: सहकारीलाई गरिवी निवारणका साध्यका रुपमा विश्वले स्वीकारेको छ । नेपालले पनि सहकारीलाई गरिवी निवारण गर्ने साध्यको रुपमा अंगिकार गरेको छ । राज्यले अर्थतन्त्रको तेस्रो खम्बका रुपमा सहकारीलाई राखेकोे छ ।
नेपालको सहकारी इतिहासले ६४औं बर्ष पार गरेको छ । सहकारी विभागले प्रकाशित सहकारी तथ्याङ्क २०७७ अनुसार कुल वित्तीय क्षेत्रमा सहकारीको योगदान झण्डै २१ प्रतिशत पुगेको अनुमान गरेको छ । नेपाल राज्यभर सञ्चालित विभिन्न प्रकृतिका सहकारी संघ संस्थाको शेयर पूँजी रु.९४ अर्व पुगको छ भने बचत निक्षेप रु.४७७ अर्व र लगानी रु.४२६ अर्व पुगेको छ । यस क्षेत्रले ८८,३०९ विभिन्न तहको जनशक्तिलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ भने अप्रत्यक्ष रुपमा विभिन्न पेशा, उद्योग, व्यापार, सेवा र व्यवसाय मार्फत लाखौं व्यक्तिहरुलाई रोजगारी दिने र बैदेशिक रोजगारीमा समेत पहुँच विस्तार गर्ने काम गरेको छ । सहकारीमा ७५ लाख भन्दा बढी व्यक्तिहरु आबद्ध रहेका छन् । तथ्यांकले नेपालको सहकारी अभियानले सफलता पाएको प्रष्ट देखाउँछ ।
सहकारी आफैमा राम्रो हुदाँ हुदै यसको गलत प्रयोग र नियमन हुन नसक्दा यसमा थुप्रै विकृतीहरु देखापरेको छ । तसर्थ: नेपालमा सहकारी संस्थाहरु दोष मुक्त छैनन् । सहकारीमा देखिएका चरम बेथीतिका कारण आम जनमानसले सहकारीलाई पूर्ण विश्वास गर्न सकेको छैन । सहकारी स्वनियम, स्व-उत्तरदायि भएरसञ्चालन हुने हुदाँ सहकारीको विकृती नियन्त्रण सदस्यबाटै हुनु पर्ने हो तर यसको व्यवहारिक प्रयोग नहुँदा बेथीतिहरु बढेको छ । सहकारीमा देखिएको बेथीति र यसका नियन्त्रणका उपायहरुकाबारे तपसिल बमोजिम चर्चा गर्न सकिन्छ ।
१) सहकारीलाई फानाइन्सको रुपमा बुझ्नु : सहकारी सदस्यको संस्था हो तर आम जनमानसमा सहकारीलाई फाइनान्सको रुपमा बुझेको छ । सहकारीका सञ्चालकहरुले पनि सहकारीलाई मेरो फाइनान्स हो भनेर बुझ्ने र बुझाउने गरेको पाइन्छ । यस बुझाइले सहकारी सञ्चालकको हो , सञ्चालकले लगानी गरेर खोलेको संस्थाको रुपमा आम समुदायले बुझने गरेको छ । भन्ने सहकारी सञ्चालकले पनि सहकारीलाई आफ्नो निजी व्यवसाय जस्तै गरी सञ्चालन गर्ने गरेको पाइन्छ । जहाँ सञ्चालक सहकारीको मालिक र सदस्य ग्राहकको रुपमा आर्थिक कारोबार भइरहेको हुन्छ । तसर्थ: यस्तो विकृतीलाई हटाउन जनमानसमा सहकारी सम्बन्धी शिक्षा तथा जनचेतना नै अभिवृद्धि गर्नुपर्ने देखिन्छ । सहकारी सञ्चालन प्रक्रियाका बारेमा आम जनमानसमा सुसूचित गराउनु पर्ने हुन्छ ।
२) सहकारी संस्था भाग्नु : सहकारी संस्था भाग्छ भन्ने आम समुदायमा भ्रम छ । सहकारी संस्था भाग्ने होइन, सहकारी संस्थाका सञ्चालक भाग्ने वा फरार हुने हो । सहकारीलाई बचत संकलनको माध्यम मात्र बनाउने, संकलित रकम आफ्नो निजी व्यवसायमा मात्र लगाउने सहकारी संस्थाका सञ्चालकहरु सदस्यको रकम कुम्ल्याएर फरार हुने गर्दछ । आफ्नो व्यवसाय राम्रोसँग चलेसम्म सहकारीमा कुनै समस्या देखिन्दैंन । जब आफ्नो व्यवसाय असफल हुन्छ, तब ती सञ्चालकहरु फरार हुने भाग्ने घट्ना क्रमले देखाएको छ ।
३) सहकारीलाई पैसा कमाउने माध्यम बनाउनु : सहकारी खोले पछि पैसा कमाइन्छ । पैसा कमाउनलाई सहकारी खोल्नुपर्छ भन्ने भ्रम समाजमा अहिले पनि व्याप्त छ । सदस्य सेवा भन्दा नाफालाई बढी महत्व दिने, सदस्यलाई शोषण गर्ने विकृती पनि सहकारीमा मौलाएको पाइन्छ । सदस्यको आर्थिक विकास गर्ने भन्दा पनि सहकारीले सदस्यलाई सडकमा ल्याएका घटनाहरुले सहकारीका विकृतीहरुलाई उजागर गरेको पाइन्छ ।
४) सहकारीमा फितलो अनुगमन हुनु : सहकारीको नियमनकारी निकाय सहकारी विभाग, प्रदेश र स्थानीय तह हो । नियमनकारी निकायमा दक्ष जनशक्ति, बजेट र स्रोतको अभावमा ठूलो संख्यामा रहेका सहकारी संस्थाको अनुगन गर्न सकेको छैन । नियमनकारी निकायको निरन्तर अनुगमनको अभावले गर्दा सहकारी संस्थाका सदस्यहरुको बचत तथा निक्षेप जोखिममा रहेका समाचारहरु पढ्न र सुन्न पाइन्छ । कडा सहकारी सम्बन्धी कानुन बनाएपनि अनुगमन नहुँदा यसको कार्यान्वयन हुन सकेको छैन ।
५) संस्थागत कार्य शैलीको अभाव : सहकारी संस्थाको सञ्चालन संस्थाको नीति, विधि र प्रविधिमासञ्चालन हुनुपर्दछ । व्यक्तिको बोलिका आधारमा संस्थासञ्चालन गर्नु हुुदैंन । व्यक्तिको बोली र प्रभावका आधारमा संस्था सञ्चालनले सहकारी व्यक्तिबादी हुन जान्छ । संस्था व्यक्तिको निजी कम्पनी सरह संचालन हुन्छ । यसले सहकारी सदस्यको स्वनियम, स्वउत्तरदायी, प्रजातन्त्र, अधिकारलाई ध्वस्त पारदिन्छ ।
उल्लेखित विकृतीहरु सदस्यहरुमा चेतनाको अभावका कारण भइरहेको छ भन्ने कति सहकारी कानुनका कमजोरीहरुका कारण देखिएको छ । सहकारी अभियानलाई जनचेतनास्तरसम्म पु¥याउन नसक्दा सहकारीमा बेथीति बढ्दो छ । सहकारी संस्थाको बेथीतिको नियन्त्रण सर्व प्रथम सदस्य स्वंयमले नै गर्नुपर्दछ । आफ्नो निक्षेपको सुरक्षा आफ्ै गर्नुपर्दछ । राज्यले गर्ला भनेर बस्नु आकाशको फल आँखा तरी मर भन्ने उखान्न चरितार्थ हुन्छ । तसर्थ: सही सहकारी पहिचान गरेर मात्र सहकारी सदस्य बन्ने र आर्थिक कारोबार गर्नु पर्दछ । सहकारीको छनोट गर्दा तपसिलका विशेषता भएका सहकारी संस्थामा मात्र सदस्य बन्नु पर्दछ ।
१) तपाई जुन समुदायमा हुनु हुन्छ ,त्यही समुदायका व्यक्ति मिलेर खोलेको,
२) शेयर सदस्य भई अनिवार्य नियमित बचत गर्नुपर्ने व्यवस्था भएको,
३) समयमै लेखापरिक्षण गरी बार्षिक प्रतिवेदन सार्वजनिक गर्ने,
४) नियमित समयमै बार्षिक साधारण सभा गर्ने,
५) साधारण सभाबाटै संचालन समिति गठन हुने,
६) संस्था संचालनका नीति नियम, विधि र प्रविधि भएको,
७) संस्थाको बार्षिक बजेट तथा योजना भएको,
८) अन्तराष्ट्रिय सहकारी सिद्धान्तहरुको व्यवहारिक प्रयोग भएको ।
सहकारी संस्थाका बेथीतिहरु नियन्त्रण गर्न माथि उल्लेखित विशेषता भएका सहकारी संस्थाहरुको मात्र सदस्य भई कारोबार गर्नुपर्दछ । सही सहकारीको छनोटले गलत नियतले खोलेका सहकारी संस्थाहरु पाखा लाग्दै जानेछन् । तसर्थ: सहकारीलाई विकृती मुक्त बनाउन सदस्य शिक्षालाई नै जोड दिनुपर्दछ । सहकारीका नियमनकारी निकाय संघ, प्रदेश र स्थानीय तह वीच समन्वयकारी भूमिकामा सहकारीको नियमित अनुगमन गर्नुपर्दछ । सहकारीमा दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिनुपर्दछ । सहकारीका विकृती विसंगतीलाई अन्त्य गरी सहकारी शुद्धिकरणमा सहकारी अभियान लाग्नुपर्दछ । सहकारी कानुन विपरित कार्य गर्ने सहकारी,सञ्चालक तथा कर्मचारीलाई कार्वाही गर्नुपर्दछ ।
(धोजु भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का व्यवस्थापक हुनुहुन्छ ।)