सहकारीमा समुदायको महत्व र ब्यवस्थापन : एक चर्चा

–नेमवीर शाक्य
मैले मेरो जीवनकालमा सहकारिताको अभ्यास गरेको सत्ताईस वर्ष पूरा भइसकेको रहेछ । यो निकै लामो समय हो । हाल म पद्मावती बचत तथा सहकारी संस्था लि.कोे अध्यक्षको रूपमा कार्यरत छु र आज ६४ औँ राष्ट्रिय सहकारी दिवसको शुभ-अवसरमा मैले जीवनमा भोगेका ब्यवहारिक सहकारिताको अनुभव तपाईंहरू माझ साझा गर्न चाहन्छु ।
विश्वब्यापी मान्यता अनुसार सहकारी संस्था नाफाको लागि मात्र सञ्चालन गरिँदैन । त्यसो त सामाजिक सेवाको लागि मात्रै पनि सहकारीको प्रयोग गरिँदैन तर सहकारी संस्था आंशिक रूपमा नाफामूलक संस्था चाहिँ पक्कै हो । सहकारीे संस्था वित्तीय रूपको ब्यवसायिक संस्था हो; जसलाई दिगोपना दिन सदस्यहरूलाई आर्थिक लाभ पु¥याउन जरुरी पर्दछ । लाभ बाढ्न नाफा गर्नुपर्छ । तसर्थ: यसले कुनै पनि ब्यवसाय नगरेता पनि यो नाफामूलक हुनु जरुरी छ ।
सहकारी भन्नाले — शिक्षा पनि हो । सहकारी शिक्षा भन्नाले हाल चल्दै आएको पाठ्यक्रम सहितको शिक्षा मात्रै होइन, ब्यवहारिक जीवन शैलीको शिक्षा पनि हो । त्यसकारणले विश्वभरीको मान्यतामा एकको लागि सबै र सबैको लागि एक नै सहकारी हो । अर्को अर्थमा यो हामीलाई जीवन प्रणाली, जीवन दर्शन वा जीवनमा ब्यवहारिकता सिकाउने किसिमको शिक्षा पनि हो ।
सहकारितामा पारदर्शिता तथा सुव्यस्थापन हुनुपर्छ , जुन सबैलाई हित हुने र सवैको सहभागितामा आधारित हुनुपर्दछ । सबैको लागि मान्य हुने ब्यवस्थापन नै सहकारीको मुख्य ध्येय हो । यसमा कुनै ब्यक्ति ,जाति, वा वर्ग विशेषलाई स्थान दिइनु हुँदैन । सबैको जीवनस्तर उकास्ने, सबैको हकहितलाई मान्यता दिने र सवैलाई सरक्षित गर्नेे ब्यवस्थापन यसमा हुनुपर्छ भन्ने मान्यतालाई यसले विशेष स्थान दिएको छ ।
सहकारी संस्था मूलतः सदस्य र समुदायको हितको लागि हो । यसर्थ: सहकारी संस्थामा सामाजिक कार्य हुनु जरुरी छ । सदस्यहरूको चाहना अनुसारको सामाजिक पक्ष, सदस्यहरूको रहन–सहन, संस्कृति, सदस्यहरूले परापूर्वकालदेखि मनाउँदै आएका पर्वहरू, रीति–रिवाज र सम्पदा संरक्षण गर्ने कार्यहरू पनि सहकारी संस्थाको दायित्व हुनुपर्ने भएकोले यसले सामाजिक शिक्षा दिने काम पनि गर्नुपर्छ । यसरी सामाजिक सेवाको भावना आएपछि सदस्यहरूले सहकारितामा सक्रिय सहयोग पु¥याउन सक्दछन् ।
अब, सहकारीमा नेतृत्वको प्रमुख भूमिका बारे चर्चा गरौँ । यद्यपी संस्थागत विकासको लागि कुनै ब्यक्ति विशेषलाई सहकारी संस्थामा प्रमुख स्थान भने दिइनु हुँदैन तर संस्थालाई संस्थागत गर्न नेतृत्वकारी भूमिका जरुरी हुन्छ । नेतृत्वकारी ब्यक्तिसँग नेतृत्वमा यी पाँचवटा गुण हुन पनि जरुरी छ ः १. सहकारी सञ्चालन गर्ने बारे ज्ञान हुनुु,
२. सहकारीलाई समुदायको आधारमा सञ्चालन गर्न सामाजिक भावना हुनु.
३.सदस्यहरुको हितको लागि समर्पित हुनु,
४. सहकारी ऐन, नियम एवं सहकारीको मूल्य मान्यताबारे जानकार हुनु र
५. वित्तीय व्यवस्थापन बारे जानकार हुनु ।
सहकारी संस्थालाई विधान, ऐन, कानून र नीति अनुसार सञ्चालन गर्ने हो भने हरेक सहकारी सदस्यहरूले माथि उल्लेखित पाँचवटा क्षेत्रलाई विशेष ध्यान दिन आवश्यक छ, जसको चर्चा यहाँ बुँदागत रूपमा गर्ने जमर्को गरेको छु ।
क) ब्यवस्थापन – ब्यवस्थापन सदैव मतभेद हुने खालको हुन्छ । कुनै पनि दुई व्यक्ति बीच कुरा हुँदा मतभेद हुन सक्दछ । त्यसलाई ब्यवस्थापन गर्ने नेतृत्वसँग खुवी हुनु पर्दछ । बैठकमा एजेण्डा राख्ने, त्यसलाई कार्यान्वयन गर्ने, निर्णय गर्ने प्रक्रियामा लैजाने, सदस्यहरूको हित अनुकूलको योजनाहरू बनाउने, त्यसलाई लागू गर्दा सहकारीको नीति र वार्षिक कार्यक्रममाथि मध्यनजर राखेर ब्यवस्थापन गर्ने भन्ने पक्षलाई हामीले जोड दिनुपर्छ ।
सहकारी संस्था नाफमूलक नभएतापनि वा यसले कुनै पनि व्यवसाय सञ्चालन नगरेतापनि (बचत तथा ऋण सहकारीको हकमा मात्र) यसले आय आर्जन गर्न जान्नु पर्दछ । अन्यथा सहकारी संस्थाले आफैमा दिगो बन्न, योजना अनुसारको लक्ष्य हासिल गर्न सक्तैन र सदस्यहरूको लगानीमा उचित लाभ दिन पनि समर्थ हुन सक्तैन । तसर्थ: व्यवस्थापनमा स्पष्ट रणनीति सहित व्यवसायिक लाभ दिन सक्ने खालका वस्तु तथा सेवा लक्षित कार्यक्रम हुनका साथै सो सम्बन्धी विज्ञता हुन जरूरी हुन्छ ।
ख) सहकारी शिक्षा – नयाँ आउने सदस्यहरुलाई सहकारी शिक्षा दिनु जरूरी हुन्छ । संस्थाका नयाँ सदस्यहरुलाई ३–३ महिनामा भेला गराई वा बेला बेलामा बचत तथा ऋणाको कुरा, संस्थाले दिदै आएको सेवाका कुरा आदि विषयमा शिक्षा समिति मार्फत जानकारी गराउनु पर्दछ । यसमा संस्थाले राज्यले विधान, ऐन, नियमले दिएका कुराहरुलाई ध्यानमा राखेर विज्ञ ब्यक्तित्वहरूलाई समावेश गरी कार्य गरेमा शिक्षा समिति मार्फत प्रचार–प्रचार सम्बन्धी कार्यलाई सरल किसिमले सदस्यहरूलाई संस्थाको बारेमा बुझाउन सजिलो हुन्छ ।
सहकारी शिक्षाले कमसेकम पनि ४ वटा कुरालाई ध्यान दिनु पर्छ; जस्तै १. नियमित रूपमा नयाँ प्रविधि अर्थात वेभसाइट मार्फत् सदस्यहरुलाई आ–आफ्ना संस्थाका क्रियाकलापका बारेमा जानकारी गराई राख्ने,
२. संस्थाको मुखपत्र (बुलेटिन) मार्फत् आफ्ना उपलब्धिका कुराहरूलाई उल्लेख गरेर नियमित प्रकाशन गरी राख्ने,
३. विभिन्न किसिमका कार्यक्रमहरू मार्फत् बेला–बेलामा संस्थाले गरेका सामाजिक गतिविधिहरूबारे सदैव सदस्यहरूलाई जानकारी गराई राख्ने र
४. अरु ठाँउमा के कस्ता कार्यहरू भैरहरेका छन् भन्ने जानकारी दिन स्थलगत वा विभिन्न सांस्कृतिक भ्रमण मार्फत् सहकारी शिक्षा दिन सकिन्छ ।
ग. सामाजिक कार्य – सबै सदस्यहरू बचत र ऋणको लागि मात्रै संस्थामा आएका हुँदैनन् । उनीहरूको इच्छा चाहना के हुने गर्छ भने आफ्नो समाज वा समुदाय सभ्य होस्, सुशिक्षित होस् र शान्तिपूर्वक जीवनयापन गर्न पाइयोस् । त्यसको लागि उसले आफ्नो ब्यक्तिगत अवस्थालाई हेरेर संस्थालाई साथ दिइरहेको हुन्छ । त्यसकारण उनीहरूको चाहना हुन्छ — संस्थाले यस्तो काम गरोस् ताकि समाजमा शान्ति तथा सामाजिक ब्यवस्था कायम होस्, उसका आफ्ना आवश्यकता पूरा होस्; जस्तै सफाईमा, सम्पदामा र सांस्कृतिक क्षेत्रमा आइपरेका समस्याहरूको समाधान गर्न संस्था लागिपरोस् भन्ने चाहना राख्ने हुन्छ । उदाहरणको लागि पद्मावती बचत तथा ऋण सहकारी संस्था लि. ले गरेका कार्यहरूको छोटो जानकारी यहाँ दिन चाहन्छु । पद्मावती बचत तथा ऋण सहकारी संस्था लि. वि.सं.२०५० सालमा स्थापन भएको होे । त्यतिखेर २५ जनाले छ महिना सम्म २–२ रुपैयाँ बचाऔँ भन्ने अभियान चलायौँ । संस्थापकहरूले मासिक पाँच–पाँच सय रूपैयाँ वचत गर्न जोड ग¥यौँ । त्यस्तो पैसाले छ महिनामा एक लाख रूपैयाँ संकलन गरेर त्यसलाई शेयर पूँजी बनाएर दर्ता ग¥यौँ । आज यही संस्थामा तपाईहरूको सामुन्ने झण्डै ३ हजार सदस्यहरू सम्लग्न छन् । रु.५० करोड रकमको पूँजीमा सदस्यहरूको दायित्व छ । अहिले करोडौंको नाफामा परिणत भएर लाखौं रुपैयाँको कोष खडा गरेर सामाजिक, धार्मिक, सांस्कृतिक र अन्य क्षेत्रहरूमा वार्षिक लाखौं रूपैयाँ खर्च गरेर पनि सदस्यहरूलाई सहकारीको मापदण्ड अनुसारको उच्चतम् प्रतिफलको रूपमा लगानीको लाभांश दिइरहेका छौं । सबैभन्दा कम दरमा आफ्ना सदस्यहरूलाई नयाँ ब्यवसाय, उद्यम र विभिन्न परम्परागत ब्यवसाय सञ्चालन गर्न यसले ऋण सहयोग गरिरहेको छ भने सुरक्षित बचत निक्षेपको अनुभूति दिन पनि सक्षम भएको छ । विश्वव्यापी कोरोना महामारीको त्राशको समयमा पनि पद्मावती संस्थाले चैत्र ११ गते बन्दाबन्दी घोषणा भएतापनि भोलिपल्टदेखि नै सुरक्षा रणनीति अपनाएर कर्मचारी,सओञ्चालक तथा स्वयमसेवकहरू आफै लागेर सदस्यहरूलाई सेवा बन्द नगर्ने नीति अपनाई हप्तामा दुई दिन भए पनि संस्था खोलेर सदस्यहरूको बचत तथा आवश्यक ऋण प्रवाह गर्न सहयोग पु¥यायौँ । त्यतिबेला खाद्यान्नको अभाव, कालोबजारी र महामारीमा सदस्यहरूमा खाद्यान्न समस्या नहोस् भन्ने उद्देश्यले तत्काल संस्था स्वयंले खाद्यान्न खरीद गरेर सहुलियत दरमा विक्री वितरण ग¥यौँ । त्यति बेला सदस्यहरूमा कोरोना सम्बन्धी जागरुकता फैलाउने, स्वास्थ्य कार्यक्रम ल्याएर सचेत गराउने, धार्मिक मान्यता अनुसार भरोसा दिने, राहत दिने, सामूहिक भोजन गराउने कार्यहरू गरेर त्यतिवेलाको समस्या कम गर्न जुन भूमिका खेल्यौँ ,त्यो पद्मावती बचत तथा ऋण सहकारी संस्था लि. कारोवार भन्दा माथिको कामकुरा थियो । त्यस्ता भूमिका खेल्न सहकारी संस्थाहरूले सक्छ । नेतृत्वले त्यो कुरालाई बुझ्नुपर्छ । आँट गर्नुपर्छ । आफ्ना सदस्यहरूलाई समस्या परेको समयमा संस्थाले साथ दिनुपर्छ भन्ने यस संस्थाले मान्यता लिएको छ ।
यस्ता कार्यले सदस्यहरूलाई सन्तुष्टि प्रदान गर्नका साथै संस्थाको प्रतिष्ठा पनि बढ्ने देखियो । त्यस्तो अवस्थामा पनि सदस्यहरूले संस्थामा आएर नियमित बचत गर्ने र ऋणको ब्याज तिर्न आउनु भएकोले कोरोनाको बाबजुद पनि ब्यवसायमा कमी आएन । ती सामाजिक कार्यले आर्थिक लक्ष पूरा गर्नमा कुनै असर परेन । यसले नाफामा पनि असर गरेन । सदस्यहरूको जीवनयापनमा सहयोग भैरहेको छ भन्ने कुरा साबित भयो । पद्मावती बचत तथा ऋण सहकारी संस्था लि. को सामाजिक नीति र समुदायको सदस्यहरुको चिन्तनका कारणले यहाँसम्म आउन ठूलो सहयोग भयो ।
सामाजिक वा समुदायको हितको कार्य संस्थाले गर्नुपर्छ । त्यस कार्यको लागि संस्थाले छुट्टै सामुदायिक अधिकृत राख्नुपर्छ । ललितपुरमा मात्र होइन नेपालमै मैले जानेबुझेसम्म सामुदायिक अधिकृत राख्ने कन्सेप्ट आएको अहिले सम्म पनि छैन । सोसियल अडित गर्ने कुरा, कम्यूनिटि अफिसर राख्ने कुरा भनेको कतै पनि उल्लेख भएको छैन । बल्ल सोसियल अडिटको कुरा आएको छ । कम्यूनिटि अफिसर राखेर उसलाई जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता अहिलेसम्म पनि आएको छैन । पद्मावती बचत तथा ऋण सहकारी संस्था लि. ले यसलाई अगाडि सारेका छौं । यसमा अहिले सामुदायिक अधिकृतदेखि लिएर विज्ञ ब्यक्तित्वद्वारा नियमित सामाजिक कामको लागि अपरेट (वार्षिक) क्यालेण्डर बनाएर काम गर्न थालिसकेका छौं ।
घ. वित्तीय ब्यवस्थापन – सहकारीले बैंकिङ्ग सरहको वित्तीय ब्यवसाय पनि गर्नुपर्छ । सहकारीले पनि बैंकिङ्ग जस्तै पारदर्शी र अझ दिगोपनाको लागि सफ्टवेयर सहितको विश्वासिलो तथा भरपर्दो कारोवारको सेवा दिन जरुरी छ । त्यसको लागि हामीले सफ्टवेयरको विकास गरेर योग्य तथा सक्षम कर्मचारी नियुक्त गरेर जानु धेरै जरुरी छ । वित्तीय ब्यवस्थापनलाई उच्चदरमा नाफा प्राप्त गर्ने लक्ष्य सहित पद्मावती बचत तथा ऋण सहकारी संस्था लि. ले यस्तो कार्य गर्दै आइरहेको छ । यसले १०–५ बजेसम्मको सेवा प्रदान गरेको छ भने पूर्णरूपले बैंकिङ्ग प्रणालीलाई अपनाएर सेवा दिइराखेको छ । अहिले बचत तथा ऋणमा पूर्ण भरोसाका साथ बैंकिङ स्टेटमेण्टदेखि लिएर बैंकिङ सेवा र निकट भविष्यमा मोवाइल बैंकिङ सेवा पनि हामीले दिन गइराखेका छौं । वित्तीय ब्यवस्थापन र वित्तीय लक्ष्य सहित पद्मावती साकोसले सुनियोजित रूपमा काम गरिरहेको नतिजा आज लक्ष्य अनुसारको नाफा, लक्ष्य अनुसारको लाभांश वितरण र लक्ष्य अनुसारको सदस्यता सेवा दिइरहेको छ । एकतर्फ त्यस्तो छ भने अर्को तर्फ हाम्रा परम्परागत ब्यवसाय,घरेलु उद्योग तथा अन्य ब्यवसाय सञ्चालन गर्नको लागि सुलभ र सरल किसिमको ऋण उपलब्ध गराउन सक्षम पनि भएका छौं । अहिले हाम्रा कर्मचारीहरूलाई राष्ट्रिय सामाजिक सुरक्षा कोषमा आवद्ध गराएर उनीहरूको भविष्य नेपालका निजामती कर्मचारीहरू सरह बनउन हामीे सफल भएका छौं । त्यसका साथै हाम्रा सम्पूर्ण सदस्यहरूलाई संस्था आफैले वीमाको प्रिमियम तिरेर वीमामा पहुँच बनाइदिएका छौं । वित्तीय ब्यवस्थापनको एकदम ठूलो भूमिका छ भन्ने यहाँनिर प्रमाणित हुन आउँछ ।
ङ. आचारसंहिता तथा सहकारीमा नैतिकता : अन्तमा, सञ्चालक समितिका सबै सदस्यहरूले पालना गर्नुपर्ने आचारसंहिताबारे चर्चा गरौँ । प्रायःजसो नेपालका सहकारीमा हालको सबभन्दा ठूलो समस्या भनेको नै ऋणको भाखा नाघ्नु वा ऋण उठाउन नसक्नुका साथै सञ्चालकले संस्थाको पूँजी चलाइदिनु हो । यसरी संस्थाको पूँजीको दुरुपयोग हुँदा सदस्यहरूको निक्षेप जोखिममा पर्दछ । यस्ता जोखिममा परिरहेको सहकारीका कुरा कतिपय सञ्चार माध्यमबाट थाहा पाउँदै आएका छौं । सहकारीको मुख्य खतरा भनेको नै सञ्चालकहरूले बचत निक्षेपलाई दुरुपयोग गर्ने प्रवृत्ति हो । त्यसलाई लगानी गरिदिने अनि समयमै उसले ऋण तिर्न नसक्ने र पूँजी डुविरहेको अवस्था छ । ऋण उठाउनु पर्ने सञ्चालक समितिका सदस्यहरूले आफैले ऋण चलाई दिंदा ठूलो समस्या आउने नै भयो । सरकारको नियम, नीति र ऐन कानूनमा पनि ४९ प्रतिशतसम्म ऋण लिएर सञ्चालकले उपयोग गर्न पाउँछ भन्ने उल्लेख छ तर पद्मावतीका सञ्चालक समितिका सदस्यले सञ्चालकमा रहेसम्म सञ्चालककै नाताले ऋण लिन पाउँदैन । ऋण नलिने भन्ने स्पष्ट आचारसंहिता हामीले पालना गरिरहेका छौं । त्यस मानेमा पद्मावती बचत तथा ऋण सहकारी संस्था लि. को कुनै पनि सञ्चालकले सञ्चालकको हैसियतले ऋण लिइरहेको छैन ।
त्यस्तै, व्यवस्थापनको पक्षबारे भन्नुपर्दा संस्थाको सञ्चालन कुनै अध्यक्ष वा सञ्चालकले गर्ने होइन । यसको सञ्चालन ब्यवस्थापनले गर्नुपर्छ । पारिश्रमिक लिएका प्रशासनका कर्मचारीहरूले नै ब्यवस्थापन गर्नुपर्दछ । त्यस नाताले उनीहरूको काम, कर्तव्य र अधिकारमा उल्लेख भए अनुसार संस्थाको स्वरूपको जिम्मेवारी उनीहरूले लिनुपर्छ । त्यसो गर्दा संस्था ब्यवसायिक हुन्छ । सञ्चालकहरू आज आउँछन्, भोलि जान्छन् । एक समय पदमा बस्छन्- अर्को समय पदमा नवस्न सक्छन् तर ब्यवस्थापनको जिम्मेवरी लिने ब्यक्ति त सधै भइरहेको हुनुपर्छ । ऊ गए पनि उसले एउटा आफ्नो सिस्टम हायण्डओभर गरेर जान्छ । ब्यवस्थापन बलियो भएन भने संस्था बलियो हुँदैन । ब्यवस्थापन बलियो गर्नको लागि उनीहरूलाई उचित पारिश्रमिक दिने, उनीहरूको कामको कदर र सम्मान गर्ने वातावरण सञ्चालकले बनाइदिनु पर्छ । उनीहरूको कामको रेखदेख गर्ने, ठीक छ छैन हेर्ने, काम सही तरिकाले गइराखेको छ छैन बुझ्ने र उनीहरूले राज्य कोषले ब्यवस्था गरे अनुसारको राजश्व बुझाएको छ कि छैन ? यी कुराको रेखदेख सञ्चालकहरूले गर्नुपर्छ ।
माथि उल्लिखित कुरामा ध्यान पु¥याउन सकियो भने सहकारीले वास्तबिक रूपमा राज्यले परिकल्पना गरेको उद्देश्य पूरा गर्न सक्दछ । जनताको उत्थान गर्ने उद्देश्य हुँदा हुँदै पनि राज्यका कुनै पनि पदाधिकारी हरेक जनतासम्म पुग्न सक्दैन । ती लक्ष्यहरू प्राप्त गर्न सहकारी संस्थाहरू, जो जनतासँगै बसेका हुन्छव्, उनीहरूले जन–उत्थान गर्ने राज्यको लक्ष्य प्राप्ति गर्ने महत्वपूर्ण भूमिका यहाँनिर खेल्न सक्छ । सहकारी संस्थाले गैर-सरकारी नीति अनुसार वा गैर-सरकारी संस्थाको रूपमा काम गर्नुपर्छ । उसलाई सरकारले दवावमा पार्न र सरकारले आफ्नो नियम जबरजस्ती लद्न पाउँदैन भन्ने मान्यता छ । संसारभरीको अन्तरराष्ट्रिय मान्यता भनेको सहकारी एक स्वतन्त्र र स्वायत्ततायुक्त संस्था हो । ऊ सरकारी दवावमा बस्दैन, उसले स्वतन्त्र भएर काम गर्ने हो । यसकारणले उसले सरकारले बनाएको ऐन नियम भन्दा पनि माथि सोचेर सदस्य र समुदायको हितको लागि नीति नियम बनाई त्यसलाई कार्यान्वयन गर्नुपर्छ र काम–कारवाही अगाडि बढाउनु पर्छ भन्ने भावनामा हामी रहन्छौं । हामीसँग सरकारको द्वन्द्व भयो भने सरकारले पनि हामीलाई जित्न सक्दैन किनकि नेपाल सरकारले पनि सहकारीको अन्तरािष्ट्रय मूल्य मान्यतामा सही गरेको छ । अन्तराष्ट्रिय सहकारीको सिद्धान्तलाई नेपाल सरकारले पनि पालना गर्नुपर्छ । यसमा भनिएको छ — तपाईहरु स्वतन्त्र रूपले काम गर्नुहोस्, स्वतन्त्र रूपले बस्नुस् । तसर्थ: हाम्रो काम स्वतन्त्र रूपले आफ्ना सदस्यहरूको सेवा गर्ने हो । ’सहकारी भनेको कुनै व्यवसायिक संस्था होइन’ भनेर प्रष्टसँग त्यहाँ भनिएको छ । सहकारीलाई शैक्षिक संस्थाको रूपमा सञ्चालन गर्नुपर्छ भन्ने पनि मान्यता पाइन्छ । वि.सं. २०१३ सालमा बखानपुर सहकारी, चितवनलाई पहिलो संगठित संस्थाको रूपमा दर्ता गरेर चलाइएको मानिएकोले आज हाम्रो अभियान ६४ वर्षकै हाराहारिमा पुगेको छ तर अझै पनि नेपालको सहकारी अभियानमा राज्यस्तरमा नै देखिने गरी सहयोग गर्ने स्थानीय प्रारम्भिक संस्थाहरूको हित , त्यसकोे जोखिम व्यवस्थापनलाई सहयोग हुने नीतिको ब्यवहारिक कार्यान्वयनमा अझै पनि आउन सकेको छैन । त्यस्तो हुनुको मुख्य कारण प्रारम्भिक संस्थाहरुको महत्व, उनीहरूको समस्या र उनीहरूले गर्ने विकृतिलाई ध्यान दिन नसकेर र त्यसलाई नियन्त्रण गर्न नसकेर हो भनेर मान्नुपर्ने हुन्छ ।
अहिले पनि हाम्रो पद्मावती बचत तथा ऋण सहकारी संस्था लि. प्रारम्भिक सहकारीको रूपमा कम्यूनिटि आधारमा छ र आफ्नो समाजमा प्रमुख भूमिका खेल्न सफल भइरहेको छ । समुदायमा समर्पित भएर कार्य गरिआएका अरू पनि थुप्रो त्यस्ता संस्थाहरू जिल्ला जिल्लामा छन् र हामीले ती संस्थाहरूको खोजी गरेर सबैलाई थथोचित रूपले राज्य वा स्थानीय स्तरमा सम्मान गरेर, अनुशरण गरेर, ती संस्थाहरूसँग अन्तरक्रिया गरेर उनीहरूबाट सिक्ने काम भएमा मात्रै हामीले साँचो अर्थमा सहकारी दिवस मनाएको ठहरिन्छ । सहकारी सञ्जाल मार्फत् सहकारी विशेषाङ्क प्रकाशन हुन गइरहेको मैले सुनेको छु । सो संस्था पनि यी कुराहरूमाथि ध्यान पु¥याएर सबैको यथोचित सम्मान गरेर अगाडि बढ्ने छ भन्ने आशा र विश्वास राख्दै पद्मावती बचत तथा ऋण सहकारी संस्था लि.को सदस्य, स्वयसेवक र अध्यक्षको हैसियतले मैले यस शुभ-अवसरमा माथि उल्लिखित विषयमा वैचारिक आदर–प्रदान गर्न र गरिदिन हुन विनम्र अनुरोध गर्दछु । धन्यवाद !
email : padmavatisaccos@gmail.com
(शाक्य पद्मावती बचत तथा ऋण सहकारी संस्था लि., न:बहाल, ललितपुरका अध्यक्ष तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सल्लाहकार हुनुहुन्छछ। )