छहारी साकोस, गाम्चाले ग-यो ३२२ जना जेष्ठ शेयर सदस्यहरुलाई नगद सहित सम्मान

भक्तपुरको सूर्यबिनायक नगरपालिका–४ , गाम्चाचोकमा आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छहारी बचत तथा ऋण सहकारी संस्था लि.लेे आफ्ना ३२२ जना शेयर सदस्यहरुलाई नगद , इलेक्ट्रिक जग र २०७८ सालको क्यालेण्डर प्रदान गरी सम्मान गरेको छ । भर्खरै सम्पन्न होली पर्वको दिन उक्त संस्थाको आयोजनामा भएको सम्मान कार्यक्रममा सूर्यविनायक नगरपालिकाका मेयर बाशुदेव थापा र नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गले त्यस संस्थाका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गर्नु भएको थियो । सोही संस्थाका अध्यक्ष कृष्णहरि खड्काको अध्यक्षतामा सम्पन्न उक्त ‘जेष्ठ नागरिक सम्मान‘ कार्यक्रमको मेयर थापा र नेफ्स्कूनका पूर्व अध्यक्ष प्रधानाङ्गले संयुक्त रुपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो । सो अवसरमा मेयर थापाले सूर्यविनायक नगरपालिकाले जेष्ठ नागरिकहरुका लागि रकम विनियोजन गर्नुका साथै उहाँहरुलाई वडा- वडामा गएर सम्मान गर्ने गरेको छ र यदी कसैले जेष्ठ नागरिकहरुलाई दुर्व्यवहार गरेर पाइएमा त्यस्ता व्यक्तिलाई सूर्यविनायक नगरपालिकाले प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने सम्मको कारवाही गर्ने बताउनुभयो । उहाँले ‘स्थापना भएको छोटो समयमा राम्रो प्रगति गरेको छहारी साकोसले सञ्चालन गर्ने सामाजिक कार्यहरु मध्ये ज्येष्ठ शेयर सदस्य सम्मान कार्यक्रमलाई विशेष महत्व दिएको देख्दा खुशी लागेको छ’, भन्नुभयो । त्यसैगरी नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गले समाजमा ज्येष्ठ नागरिकहरुको महत्वमा ह्रास आइरहेको अवस्थामा छहारी साकोसले आफ्ना जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गर्नु खुशीको कुरा हो भन्दै सहकारी संस्थाहरुले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्य गरेर उनीहरुको महत्वलाई उजागर गरेको बताउनुभयो । उहाँले देशभरीका पालिकाहरुमध्ये सबैभन्दा पहिले सूर्यबिनायक नगरपालिकाले सहकारी ऐन बनाएर कार्यान्वयनमा ल्याएको प्रसङ्ग उल्लेख गर्दै यस नगरपालिकाले ज्येष्ठ नागरिकलाई दुर्व्यवहार गर्ने व्यक्तिको सिफारिसलाई रोक लगाउने जस्ता नीति,नियम कार्यान्वयन गरेकोमा खुशी व्यक्त गर्नुभयो । दधिकोट शहरी खानेपानीका अध्यक्ष अनिल श्रेष्ठ, प्रहरी प्रभाग दधिकोटका प्रमुख बिनोद धिताल, विश्व हिन्दु महासंघका अध्यक्ष रामगोपाल न्यौपाने, नेफ्स्कूनका थिमी सेवाकेन्द्रका प्रबन्धक पेशलकुमार खड्का , अनन्त युवा समाजका अध्यक्ष अनिल खड्का, चरखण्डी धर्मस्थलका अध्यक्ष कृष्णबहादुर थापा , भौतिक पूर्वाधार तथा ढल व्यवस्थापन समितिका अध्यक्ष मदुसुदन खड्का लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा सूर्यबिनायक नगरपालिका वडा नं.७ का वडाध्यक्ष रबीन्द्र सापकोटाले २०५१ सालमा निवार्चित मनमोहन अधिकारी नेतृत्वको नेकपा (एमाले) को सरकार ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप: रु.१०० बृद्ध भत्ता दिएर ‘ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रम सुरु गरेको स्मरण गर्दै सूर्यबिनायक नगरपालिकाको नीति तथा कार्यक्रममा एउटा संस्था- एउटा सामाजिक कार्य रहेकोले सहकारी संस्थाहरुले आर्थिक कारोबारसँगै सामाजिक कार्यमा पनि उत्तिकै ध्यान दिनु पर्ने खाँचो औंल्याउनुभयो । त्यसै कार्यक्रममा जनता बचत तथा ऋण सहकारी संस्था लि., चित्रपुरका अध्यक्ष राजेशकुमार राजथलाले कोभिड -१९को कहर बढेको समयमा सहकारी संघ/संस्थाहरुले राहत लगायतका बिभिन्न सामाजिक कार्य सञ्चालन गरेको प्रसंग उल्लेख गर्दै यस छहारी साकोसले ज्येष्ठ सदस्य सम्मान कार्यक्रममा ज्येष्ठ सदस्यहरुको स्वास्थ्यलाई ध्यान दिएर सुरक्षा मापदण्ड पालना गरी कार्यक्रम सञ्चालन गरेकोमा प्रशन्नता व्यक्त गर्नुभयो । त्यसै कार्यक्रमका अध्यक्ष कृष्णहरि खड्काले हाम्रो यस छहारी बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको १०औं बर्ष पूरा भई ११औं बर्षमा प्रबेश गर्न सफल भएकोमा यस संस्थाका सम्पूर्ण शेयर सदस्यहरु, कर्मचारीहरु तथा सुभेच्छुकहरुप्रति कृतज्ञता व्यक्त गर्दैै हाम्रो यो सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सेवा र सुबिधा प्रवाहमा सदैब लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा त्यसै संस्थाका अध्यक्ष सूजन खड्काले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थिय़ो।