श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.ले सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ

–निर्मला क्षेत्री ,अध्यक्ष , श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि ,, ठेचो , ललितपुर
ललितपुरको गोदावारी नगरपालिका वडा नं. १२ , ठेचोमा रहेको श्री सुनगाभा महिला विकास संस्था लि.ले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी सीपमूलक तालिम सञ्चालन गर्ने जस्ता कार्य गर्दै आएको छ । समाजसेवा समेत लागिरहनु भएकी सोही संस्थाकी अध्यक्ष निर्मला क्षेत्रीसँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।
१. श्री सुनगाभा महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था लि को गतिबिधि के छ ?
~ प्रत्येक वर्ष असारको २३ गते हामी यस संस्थाको स्थापना दिवस मनाउछौं । हाम्रो यो संस्थाका शेयर सदस्य वा उहाँको पतिको मृत्यु भएको अवस्थामा सम्बन्धित परिवारलाई हामीले रु.३,००५/- आर्थिक सहयोग प्रदान गर्ने , यसै संस्थाका शेयर सदस्य सुत्केरी हुँदा उहाँलाई रु.१,००५/- आर्थिक सहयोग प्रदान गर्ने र दीर्घरोगी शेयर सदस्यलाई रु.५,००५/- सहयोग गर्ने गरेका छौं । यो संस्थामा नियमित बचत , एकल महिला बचत , बाल तथा किशोरी बचत गर्ने , सदस्य तथा शेयरमा बृद्धि गर्ने कार्य गरिरहेका छौं । त्यसैगरी हामीले नारी दिवस र सहकारी दिवस मनाउने गर्छौं । यसै संस्थाको आयोजनामा ठेचोमा बेलाख्बखत सरसफाई कार्यक्रम गर्ने गरेका छौं । हामीले मासिक बचत संकलन गर्ने तथा शेयर सदस्यहरुलाई व्यवसाय हेरेर सहज र सुलभ तरिकाले ऋण प्रवाह गर्ने र गराउने गरेका छौं।
२. तपाईहरुको संस्थाको वित्तीय अवस्था कस्तो छ ?
~ ठिकै छ । हाम्रो यो संस्थामा शेयर सदस्य ७८० जना , शेयर पूँजी रु.२८,००,९००/- , कर्जा लगानी रु.१,७६,३६,७८६.१३/- र कूल कारोवार रु. २ करोडको हाराहारीमा छ।
३. यो संस्थाले सामाजिक कार्यक्रम पनि गर्ने गरेको छ कि ?
~ हामीले बेला बेलामा महिलाहरुको लागि नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने , सीपमूलक कार्यक्रमको आयोजना गर्ने तथा S.E.E. मा उत्कृष्ट नतिजाका साथ उत्तीर्ण हुने शेयर सदस्यका छोराछोरीलाई प्रोत्साहन स्वरुप: प्रमाण- पत्र तथा मायाको चिनो प्रदान गर्ने गर्ने गरेका छौं ।
४. यो संस्थाको भावी योजना के छ ?
~महिलाहरुको जीवनस्तर बढाउनको लागि सीपमूलक तालिम सञ्चालन गरी उनीहरुलाई सक्षम बनाई अगाडि बढाउने योजना छ ।
५. ६४औं राष्ट्रिय सहकारी दिवस मनाउदै गर्दा यो बेला तपाई केही भन्न चाहानु हून्छ कि ?
~म ६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हामी महिला दिदीबहिनीहरुलाई अगाडि बढ्ने अवसर मिलोस् भन्न चाहन्छु।
६. तपाईले समाज सेवा पनि गरिरहनु भएको छ । समाज सेवामा लाग्ने प्रेरणा कहाँबाट पाउनु भयो ?
~समाज सेवा गर्नु हरेक मानिसको कर्तव्य हो। मैले मेरी आमाबाट समाज सेवामा लाग्ने प्रेरणा मेरी आमाबाट पाएकी हुँ र २०७२ साल बैशाख १२ र २९ गतेको भूकम्पले गर्दा म झन सामाजिक काम गर्न प्रेरित भएँ ।
७. अन्तमा के भन्नु छ कि ?
~ सहकारी सञ्जालबाट हामी जस्ता महिलाहरुलाई पनि अगाढि बढ्ने मौका दिनु भएकोमा धन्यवाद दिन चाहन्छु ।