सहकारीको विकास र प्रवर्द्धन कसरी गर्न सकिन्छ भनेर गोष्ठि गर्दै छौं

– सत्येन्द्र ठाकुर , अध्यक्ष , बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.
बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मा १८० वटा सहकारी संस्था सदस्य रहेको अवस्था छ । यस संघले सहकारी संस्थाहरुको प्रवर्द्धनको गर्ने गरी विभिन्न क्रियाकलाप गरिरहेको छ । यसैक्रममा कोरोना कहर कम भएसँगै हाम्रो यो संघको आयोजनामा सदस्य संस्थाहरुका प्रतिनिधिहरुको सहभागितामा पर्ल्स व्यवस्थापन , कर्जा व्यवस्थापन , बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि , लेखा सुपरीवेक्षण समितिको क्षमता अभिबृद्धि र सहकारी सञ्चालकहरुको क्षमता अभिबृद्धि सम्बन्धी एक चरणको सहकारी शिक्षा तथा तालिम कार्यक्रम सम्पन्न भएको छ र यसलाई पुन: चालु आर्थिक वर्षको अन्ततिर सञ्चालन गर्ने योजना छ ।
सहकारी संस्थाहरुको प्रतिनिधित्व रहने गरी बारा जिल्लामा रहेका १६ वटै पालिकाका सहकारी शाखाका प्रमुखसँग समन्वय गरेर सहकारी संस्थाहरुको विकास र प्रवर्द्धन कसरी गर्न सकिन्छ भनेर हामी निकट भविष्यमा गोष्ठि गर्दै छौं । यसबाट जे आउटपुट आउछ , त्यसलाई आधार मानेर सहकारी संस्थाहरुको संयोजन गर्नै लगायतका कार्य गरिने छ ।
सबै पालिकाहरुसँग समन्वय गरेर विभिन्न कार्यक्रम गरी राष्ट्रिय सहकारी दिवस मनाइदै छ । यसैक्रममा अनाथ आश्रम र कलैयामा रहेको जिल्ला अस्पतालमा फलफुल लगायतका सामाग्री वितरण गरिएको छ ।
सहकारीलाई सवल बनाउनलाई राज्यले पालिका स्तरमा जुन अधिकार प्रदान गरेको छ , त्यसलाई उचित ढंगबाट कार्यन्वयन गर्नु पर्दछ । यदी त्यसो होइन भने अहिलेको संरचना हटाएर पहिलेकै डिभिजन सहकारी कार्यालयको संरचनामा जानु उपयुक्त हुन्छ ।