चन्द्रागिरि साकोस र शुभतारा बहुउद्देश्यीय सहकारी संस्था लि. वीच एकीकरण हुदै

काठमाडौंको चन्द्रागिरि नगरपालिका- ७, थानकोट- महादेवस्थानमा आफ्नै भवनमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. र ललितपुर महानगरपालिका- १४, खुमलटारमा रहेको शुभतारा बहुउद्देश्यीय सहकारी संस्था लि. वीच एकीकरण हुने निश्चित भएको छ । यही बैशाख ८ गते बागमती प्रदेश , सहकारी महाशाखा , हेटौंडाले ती दुई संस्था वीच एकीकरणको लागि स्वीकृति प्रदान गरेसँँगै तिनीहरु वीचको एकीकरणले मूर्त रुप लिएको बताइएको छ । ती दुई संस्था वीच एकीकरण सम्पन्न भएपछि एकीकृत संस्थाको नाम चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. रहने र शुभतारा बहुउद्देश्यीय सहकारी संस्था लि. रहेको खुमलटारमा एकीकृत संस्थाको सदस्य सेवाकेन्द्र रहने समझदारी भएको बताइएको छ । दुई संस्थाको पटक-पटकको बैठकबाट एकीकरण गर्ने समझदारी भएपछि त्यस समझदारीलाई तिनीहरुको संयुक्त साधारणसभा मार्फत अनुमोदन गरिएको थियो ।
योसँगै चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.सँग एकीकरण हुने सहकारी संस्थाको संख्या ३ पुगेको छ । काठमाडौं र ललितपुर जिल्लाभर तथा धादिङको धुनिबेसी नगरपालिकामा कार्यक्षेत्र रहेको त्यस संस्थाको खुमलटारमा सदस्य सेवाकेन्द्र स्थापना भएसँगै सदस्य सेवाकेन्द्रको संख्या २ पुग्ने छ । त्यसैगरी काठमाडौं महानगरपालिका-२२, न्युरोड र धादिङको धुनिबेसी नगरपालिका-७, नौविशेमा पनि त्यस संस्थाको सदस्य सेवाकेन्द्र स्थापना गर्ने योजना रहेको बताइएको छ ।
एकीकरणको प्रक्रियामा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य संख्या १३ हजार ५ सय र कूल सम्पत्ति रु. २ अर्ब ४७ करोड तथा शुभतारा बहुउद्देश्यीय सहकारी संस्था लि. शेयर सदस्य संख्या ६ सय र कुल सम्पति रु.२० करोड रहेको निकट भविष्यमा एकीकृत संस्थाको १ लाख शेयर सदस्य र रु.३० अर्व कूल सम्पति पु-याउनुका साथै यसले आफ्ना शेयर सदस्यहरुलाई थप गुणस्तरीय सेवा प्रवाह गर्ने लक्ष्य रहेखो चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठको भनाई छ