शुभकामना आदान प्रदानमै सिमित १३२औं मजदुर दिवस , श्रमिकको जीवन अझै कष्टप्रद

सन् १८८७ मई १ मा संयुक्त राज्य अमेरिकाको सिकागोमा मजदुरहरुले ८ घण्टा , काम , ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको माग गरी आन्दोलन गरेको सम्झनामा आज १३२औं अन्तर्राष्ट्रिय मजदुर दिवस शुभकामना आदान प्रदान गरी मनाइदै छ । कोरोना संक्रमणको त्रासका कारण नेपालमा गत वर्ष झैं यस वर्ष पनि यो दिवस शुभकामना आदान प्रदानमै सिमित भएको छ । २०६३ सालदेखि यो दिवसको सन्दर्भमा सरकारले सार्वजनिक विदा दिने गरेको छ तर राजनीतिक दल र तिनका मजदुर संगठनले मजदुर दिवसको सम्झना गरी रहँदा निर्माण , कृषि लगायतका क्षेत्रमा कार्यरत धेरै मजदुरहरुलाई मजदुर दिवसको महत्वको बारेमा खासै जानकारी रहेको देखिएन ।
देशका राष्ट्रपतिदेखि अखिल नेपाल ट्रेड युनियनका इञ्चार्ज कृष्णहरि भट्ट सहितका मजदुर संगठनका नेताहरुले यो दिवसको अवसरमा शुभकामना आदान प्रदान गर्दै गर्दा विभिन्न क्षेत्रमा कार्यरत मजदुरहरुको जीवन नाहजुक छ , जसका कारण उनीहरु कष्टप्रद जीवन बाँचिरहेको देखिन्छ । झन कोरोना संक्रमणको त्रासले उद्योग प्रतिष्ठान लगायत बन्द हुँदा कैयौं मजदुरहरुको जीवन झन अफ्ठ्यारो भइरहेको देखिन्छ तर यस बारेमा न त राज्यका सम्बन्धित निकायले चासो राखेको देखिएको छ न त मजदुर संगठनका नेताहरुले । यसले गर्दा उनीहरुका लागि यो मजदुर दिवस भोको व्यक्तिलाई सारङ्गी बजाएर गीत/संगीत सुनाउनु जस्तै भएको महशुस भइरहेको देखिएको छ ।