प्रधानमन्त्री ओलीले गुमाउनुभयो प्रतिनिधिसभाको विश्वास

0 Shares

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आफू माथि प्रतिनिधिसभाको विश्वास छ भनी राख्नु भएको प्रस्ताव अस्वीकृत गरेको छ । प्रधानमन्त्री ओलीले राख्नु भएको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्निप्रसाद सापकोटाले मत परिणाम घोषणा गर्दै बताउनुभयो । २३२ जना सांसदको उपस्थिति रहेको प्रतिनिधिसभाको उक्त बैठकमा १५ जना सांसद तटस्थ रहेका थिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने प्रयोजनको लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीका साथै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिसभा सदस्यले प्रतिनिधिमूलक ढंगबाट आ-आफ्नो दलको धारणा राख्नु भएको थियो ।

यही बैशाख २९ गते बस्ने गरी सभामुख सापकोटाले  आजको प्रतिनिधिसभाको बैठक स्थगित गर्नु भएको थियो ।

२०७४ सालको प्रतिनिधिसभाको चुनावमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को गठबन्धनले झण्डै दुई तिहाई सिट जितेको थियो र प्रधानमन्त्री ओली शक्तिशाली प्रधानमन्त्री बन्नु भएको थियो । ओली नेतृत्वको सरकारले ५ वर्ष मुलुकको शासन सञ्चालन गर्ने आँकलन गरिएको थियो तर सत्तारुढ दल भित्रको अन्तर्कलहले ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाबाट विश्वासको मत पाउन असफल भयो ।

 

Leave a Reply