प्रविधि र सम्पर्क व्यक्ति मार्फत सेवा प्रवाह गर्दै फेन्सी साकोस ,नारायणगढ

चितवनको भरतपुर महानगरपालिका वडा नं.१ , इन्द्रदेवमार्ग , नारायणगढमा रहेको फेन्सी बचत तथा ऋण सहकारी संस्था लि.ले यही जेठ १ गतेदेखि सम्पर्क व्यक्ति र प्रविधि मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको जनाएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि भन्दै जिल्ला प्रशासन कार्यालय , चितवनले यही जेठ १ गतेदेखि १३ गतेसम्म निशेधाज्ञा जारी गरेपछि उक्त मितिदेखि सो संस्थाले अर्को सूचना जारी नभएसम्मको लागि भोतिक रुपमा प्रवाह गरिदै आएको आफ्नो सेवा बन्द गरी सम्पर्क व्यक्ति र प्रविधि मार्फत सेवा प्रवाह गरिएको उक्त संस्थाका जोखिम व्यवस्थापन कार्यदलका संयोजक बालकृष्ण कँडेलले जानकारी दिनु भएको छ । उहाँलेे यस संस्थाका एटीएम (ATM) , मोवाइल बैंकिङ्ग (Mobile banking) , क्युआर कोड (QR CODE) लगायतका डिजिटल सेवा चोबीसै घण्टा सञ्चालनमा रहेको बताउनु भएको छ ।
यसैगरी त्यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई विभिन्न प्रविधिमूलक सेवा प्रवाह गर्ने उद्देश्यले २०७८ बैशाख ११ गतेबाट सञ्चालनमा ल्याएको ई- टेलर र ई-पेमेण्ट सेवा प्रभावकारी ढंगबाट सञ्चालन भइरहेको त्यसै संस्थाका व्यवस्थापक ठूलोकाञ्छा बोम्जन(अमित) ले बताउनु भएको छ । यो सेवाको प्रयोग गरी सदस्यले भुक्तानीपूर्जा र जम्मा भौचरको प्रयोग विना नै संस्थाको मोबाईल बैंकिङबाट टेलरमा राखिएको ई–टेलर कोडलाई स्क्यान गरी रकम जम्मा गर्न र भुक्तानी लिन सकिने व्यवस्था गरिएको छ । ई–टेलर सुविधा अन्तर्गत काउण्टरमा राखिएको क्यूआर कोड स्क्यान गरी रकम झिक्नका लागि अनुरोध गर्न सकिन्छ र संस्थाको मोबाईल एपबाट गरेको अनुरोधका आधारमा भुक्तानी पूर्जाको प्रयोग बिना नै सदस्यले माग गरेको रकम प्राप्त गर्न सक्छन तर यो सुविधा लिन संस्थाको कार्यालयमा नै जानुपर्ने हुन्छ ।
त्यसैगरी सोही संस्थाले सञ्चालनमा ल्याएको ई-पेमेण्ट सेवाका लागि सदस्यले शुरुमा मोबाईल एपमा रहेको ई–पेमेण्ट फारम भरेर पिन कोड लिनुपर्ने हुन्छ । पिन कोड प्राप्त भएपछि सो को आधारमा सदस्यले भुक्तानी दिन चाहेको व्यक्तिले संस्थाको काउण्टरमा गई रकम भुक्तानी लिन सक्छन् ।
यस अघिबाट नै उक्त सस्थाले ई-सेवा र फोनपेसँग सहकार्य गरी नि:शुल्क क्यआर पेमेण्ट (QR Payment) , मिस्कल , वालेट , मोवाइल बैंकिङ्ग जस्ता सेवा सञ्चालन गरिरहेको छ ।
उक्त ई-टेलर र ई-पेमेण्ट सेवाको त्यसै संस्थाको आयोजनामा २०७८ बैशाख ११ गते सोही संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र विभिन्न उप-समितिका लागि सञ्चालन भएको सहकारी कानुनी शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा भरतपुर महानगरपालिकाका सहकारी अधिकृत रामबाबु पौडेल र सो संस्थाका अध्यक्ष मेघराज कँडेलले संयुक्त रुपमा शुभारम्भ गर्नु भएको थियो ।