क्विक साकोस, कोटेश्वरले ग-यो लुभु स्थित प्रहरी चौकीलाई सेनिटाइजर र माक्स सहयोग , झापा जिल्ला सहकारी संघ लि.द्वारा पत्रकार र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं महानगरपालिका-३२, कोटेश्वरमा रहेको क्विक बचत तथा ऋण सहकारी संस्था लि.ले ललितपुरको महालक्ष्मी नगरपालिका-८, लुभुमा रहेको प्रहरी चौकीलाई माक्स र सेनिटाइजर सहयोग गरेको छ । सो संस्थाका कार्यालय प्रमुख आस्लाम लिम्बु र ऋण अधिकृत दीपेन्द्र चौधरीले लुभुमा रहेको प्रहरी चौकीका नायब निरीक्षक रत्न थापालाई १,५०० थान माक्स र १० लीटर दरका ५ जर्किन सेनिटाइजर प्रदान गर्नुभयो । सो सहयोग ग्रहण गर्दै प्रहरी नायब निरीक्षक थापाले कोरोना महामारीको विषम परिस्थितिमा क्विक साकोसले महत्वपूर्ण सहयोग गरेको भन्दै उक्त संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
क्विक बचत तथा ऋण सहकारी संस्था लि.का कार्यालय प्रमुख लिम्बुले हाम्रो यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना महामारीको विषम परिस्थितिमा नागरिकहरुको सुरक्षाका लागि अग्रभागमा रहेर कार्य गरिरहेका प्रहरी कर्मचारीहरुको सुरक्षाको लागि सहयोग पुग्न सकोस भनेर सहयोग गरेको सहकारी सञ्जाललाई बताउनुभयो ।
कोभिड १९ को नयाँ भेरियन्टबाट हुन सक्ने स्वास्थको जोखिमलाई न्यूनिकरण गर्नका लागि नेपाल सरकारबाट जारी गरिएको निर्देशनको पालना गर्दै त्यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई मंगलबार र शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्म हप्ताको २ दिन कार्यलयबाट सेवा प्रवाह गरिरहेको र अति आवश्यक सेवाको जरुरत परेका शेयर सदस्यहरुलाई घरदैलो सेवा प्रवाह गर्ने व्यवस्था गर्नुका साथै खानपिनका लागी अत्ति नै समस्य परेका सदस्यहरुलाई संस्थाले राहत बितरण गर्ने त्यसै संस्थाका कार्यालय प्रमुख लिम्बुको भनाई छ ।
झापा जिल्ला सहकारी संघ लि.द्वारा पत्रकार र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग
झापा जिल्ला सहकारी संघ लि.ले पत्रकार र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ ।
सो संघका अध्यक्ष गणेश ढकालले यही जेठ ११ गते नेपाल पत्रकार महासंघ , झापा शाखाका अध्यक्ष एकराज गिरीलाई ३ सय प्याकेट माक्स , ३ सय थान सेनिटाइजर , ३ सय दिन फेसलिन र २० थान अक्सिमीटर सहयोग स्वरुप प्रदान गर्नुभयो । झापा जिल्ला सहकारी संघ लि.को कार्यालय बिर्तामोडमा आयोजित संक्षिप्त कार्यक्रममा सोही संघका सचिव भानु (भवानी) दंगाल र क्षेत्रीय सदस्य केशव बस्नेेत तथा नेपाल पत्रकार महासंघका सदस्य राजेन्द्र गौतम , केन्द्रीय परिषद सदस्य ज्ञानेन्द्र निरौला , सोही महासंघ , झापा शाखका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाईं एवं कार्यसमिति सदस्यद्वय विनोद पाण्डे र रञ्जित परियारको उपस्थिति रहेको थियो ।
सो सहयोग प्रदान गर्दै झापा जिल्ला सहकारी संघ लि.का अध्यक्ष ढकालले ‘कोभिड-१९ को महामारीको संकटका बीच समाचार गरिरहेका पत्रकारहरुलाई जोखिमबाट सुरक्षित रहन सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यो सहयोग गरेका हौं’ भन्नुभयो । यसैगरी उक्त सहयोग ग्रहण गर्दै नेपाल पत्रकार महासंघ , झापा शाखाका अध्यक्ष गिरीले विभिन्न रचनात्मक क्रियाकलाप गरिरहेको झापा जिल्ला सहकारी संघ लि.लाई धन्यवाद ज्ञापन गर्नु हुदै उद्देश्य मिल्ले कार्यक्रममा यस संघसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताउनु भएको थियो ।

त्यस अगाडि झापा जिल्ला सहकारी संघ लि.ले रु.६ लाख भन्दा बढी मूल्य बराबरको सामाग्री सुरक्षाकर्मीहरु सहयोग गरेको बताइएको छ ।
