ललितपुर बचत संघको आयोजनामा भर्चुअल मार्फत “आन्तरिक नियन्त्रण प्रणाली” तालिम सम्पन्न
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०७८ जेष्ठ २० गते भर्चुअल मार्फत ‘‘आन्तरिक नियन्त्रण प्रणाली (Internal Control System)’’ तालिम सम्पन्न भयो । कोभिड-१९ को जोखिमलाई ध्यानमा राखी संघका नियमित कार्यक्रम अन्तर्गत सदस्य सहकारी संस्थाहरुको क्षमता विकासको लागि भौतिक उपस्थितिमा सञ्चालन गर्न नसकिए पनि भर्चुअल मार्फत यो तालिम सञ्चालन गरिएको आयोजकको भनाई छ । सहकारी संघ संस्थाहरुको आन्तरिक नियन्त्रण प्रणालीलाई अझै बैज्ञानिक र समय सान्दर्भिक बनाउन सो तालिम लक्षित थियो । हाल कतिपय सहकारी संस्थाहरुमा आन्तरिक नियन्त्रण प्रभावकारी नहुँदा विभिन्न प्रकारका समस्याहरु उत्पन्न भएको परिप्रेक्षमा तालिममा संस्था सञ्चालनमा चुस्तता तथा प्रभावकारिता, जालसाजी तथा गल्तीको रोकथाम गर्ने तथा पत्ता लगाउने विधिहरु, जोखिम नियन्त्रणका विधिहरु, जिम्मेवारी, नियन्त्रण प्रणालीका प्रकृयाहरु आदि विषयहरु समावेश गरी तालिम सञ्चालन गरिएको सोही संघका व्यवस्थापक सन्तोष बजगाईले बताउनुभयो । तालिम उद्घाटनको अवसरमा बोल्दै उक्त संघका अध्यक्ष रामहरि बजगाईले सहकारी संस्थाहरुमा समस्या आउन नदिन व्यवस्थापनमा उचित ध्यान पु-याउन सबै सहभागीहरुलाई सुझाव दिनुभयो । उहाँले सहकारीहरुले आन्तरिक नियन्त्रणको महत्वलाई अंगीकार गर्दै संस्थाको उचित व्यवस्थापनमा ध्यान दिन सबैलाई आग्रह गर्नुभएको थियो ।
त्यसै तालिम कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेश , भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका रजिष्ट्रार विक्रम पाण्डेयले ललितपुर बचत संघले हेर्दा सानो विषय भएपनि संस्था सञ्चालनमा महत्वपूण भूमिका राख्ने विषयमा तालिम आयोजना गरेकोमा यस बचत संघलाई धन्यवाद दिदै तालिमबाट सिकेका कुराहरुलाई अक्षरस: पालना गर्न सम्पूर्ण सहभागीहरुलाई सुझाव दिनुभयो । त्यस तालिमलाई वरिष्ठ चाटर्ड एकाउन्टेण्ट क्षितिज शर्माले सहजीकरण गर्नुभएको थियो ।
