शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाई राहत सहयोग प्रदान

काठमाडौंको न्युरोडमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.ले सिन्धुपाल्चोकका बाढी पहिरो पीडितहरुलाई यही असार ६ गते राहत सहयोग गरेको छ । बाढी पहिरो पीडित परिवारका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत सो संस्थाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा ४ को वडा कार्यालयलाई १५ बोरा चिउरा , २० कार्टुन चाउचाउ र १ बोरा दालमोट , २० थान टेन्ट र १५ बण्डल जस्तापाता लगायतका राहत सामाग्री प्रदान सो संस्थाका सञ्चालक तथा सूचना अधिकारी एवं उक्त कार्यक्रम संयोजक अर्जुन बिश्वकर्माले बताउनुभयो । उक्त सामाग्री सोही संस्थाका अध्यक्ष नरेन्द्र विष्टले हेलम्बु गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष राजकुमार लामिछाने र त्यसै वडाका संयोजक बुद्धिकृष्ण लामिछानेलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । उक्त राहत सहयोग ग्रहण गर्दे वडा अध्यक्ष लामिछानेले प्राकृतिक प्रकोपले समस्यामा परेका बाढी पहिरो पीडित परिवारका लागि यो संस्थाले गरेको सहयोग महत्वपूर्ण रहेको भन्दै सहयोगको लागि त्यस संस्थालाई धन्यबाद ज्ञापन गर्नुभयो । त्यस अवसरमा शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष विष्टले प्राकृतिक प्रकोपबाट पीडित तथा अनाथ र असाह्यहरुलाई हाम्रो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । उक्त अवसरमा त्यसै संस्थाका उपाध्यक्ष आनन्दकुमार राउत , सचिव जीवनराज ओझा , सञ्चालक तथा सूचना अधिकारी बिश्वकर्मा , लेखा सुपरीवेक्षण समिति सदस्य देवप्रसाद घिमिरे र निर्माण उप-समितिका सदस्य प्रकाश कँडेलका साथै ्कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको समापनको अवसरमा त्यसै कार्यक्रमका संयोजक अर्जुन बिश्वकर्माले यस दु:खद घडीमा अल्पायुमै बाढी पहिरोका कारणले मृत्युवरण हुनुभएका सबै जनामा संस्थाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो सम्वेदना व्यक्त गर्नुका साथै बेपत्ता परिवारजनहरुमा सुरक्षितको कामना गर्नुभयो ।
यही असार १ गते गएको बाढी पहिरोले हेलम्बु र मेलम्चीमा ठूलो धनजनको क्षति भएको थियो ।