साहस साकोसका शेयर सदस्यले चिरायु अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार गर्दा ५ देखि २० प्रतिशतसम्म छुट सुविधा पाउने

काठमाडौं महानगरपालिका-१६, नयाँबजारमा रहेको साहस बचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्यहरुले काठमाडौंको बसुन्धारामा रहेको चिरायु अस्पतालमा स्वास्थ्य जाँच तथा उपचार गर्दा ५ देखि २० प्रतिशतसम्म छुट सुविधा पाउने भएका छन् । ‘हाम्रा यस संस्थाका शेयर सदस्यहरुले चिरायु अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार गर्दा बेड , डाक्टर र डाइग्नोसिस शुल्क तथा औषधि र एम्बुलेन्स लगायतमा ५ देखि २० प्रतिशतसम्म छुट सुविधा पाउने गरी सम्झौता भएको छ’, उक्त संस्थाका व्यवस्थापक महेशराज थापाले सहकारी सञ्जाललाई बताउनुभयो ।
सो संस्था र चिरायु अस्पताल बीच उक्त विषयमा यही असार १५ गते सम्झौता भएको थियो । साहस बचत तथा ऋण सहकारी संस्था लि.का कोषाध्यक्ष केशव सापकोटा र व्यवस्थापक महेशराज थापा तथा चिरायु अस्पतालका फाइनान्स कन्सलट्यंट चार्टर्ड अकाउन्टेण्ट मन्दीप बाशिष्ठ, बी.डी.एम. हिमालबहादुर राना लगायतको उपस्थितिमा चिरायु अस्पतालमा भएको त्यस सम्झौतापत्रमा साहस बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बलराम पाठक र चिरायु अस्पतालका अपरेशन डाइरेक्टर चण्डेश्वर वैद्यले हस्ताक्षर गर्नु भएको थियो । 
आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप राम्रोसँग सञ्चालन भइरहेको उक्त संस्थाले स्थापना भएको छोटो समयावधिमा सहकारी क्षेत्रमा आफ्नो अलग्गै परिचय बनाएको देखिएको छ।
