भक्तपुर जिल्ला बचत संघको नवनिर्मित भवनको उद्घाटन

0 Shares

९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अबसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को भक्तपुरको सुर्यविनायकमा नवनिर्मित भवनको उद्घाटन २०७८ असार १९ गते सम्पन्न भएको छ । बागमती प्रदेश , सहकारी महाशाखा रजिष्ट्रार विक्रम पाण्डेेयले सो भवनको उद्घाटन गर्नुभयो । सोही अवसरमा उहाँले भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफ्नै भवन निर्माण गरी सहकारी अभियानमा उदाहरणीय कार्य गरेको बताउनुभयो । उहाँले भवन निर्माणले संघको दिगो विकासको लागि टेवा पुग्ने विचार व्यक्त गर्दै सहकारी संघ /संस्था स्वनियममा सञ्चालन हुने भएकोले संघले आबद्ध सदस्यलाई अनुगमन गनुपर्ने खाँचो औंल्याउनुभयो ।

उक्त कार्यक्रममा नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानांगले यस संघले भवन निर्माण गरी आफ्नो क्षमता प्रदर्शन गरेकोमा खुशी व्यक्त गर्दै भवनले सक्षम नेतृत्वको उदाहरण दिएको बताउनुभयो । उहाँले नगरस्तरीय संघहरु गठनप्रति चिन्ता व्यक्त गर्दै बेलामै सचेत हुनुपर्नेमा जोड दिनुभयो । सोही संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले कार्यक्रमको अध्यक्षता गर्दै भवनले संघको दिगो सहकारी विकासका लागि संघ भन्ने परिकल्पनालाई टेवा पु-याउने विचार व्यक्त गर्नुभयो । उहाँले संघले संघमा आबद्धताको लागि ऐनमै अनिर्वाय गर्नुपर्ने, संघीय, प्रदेश र स्थानीय तहका सहकारी ऐनमा बाझिएका कुराहरु शंसोधन गरी एकरुपता ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । सो संघका नि:वर्तमान अध्यक्ष राधेश्याम सुवालले यो संघले भक्तपुर जिल्लाका समुदायमा आधारित सक्रिय सबै सहकारी संस्थालाई आबद्ध गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । त्यसै संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले स्थापनाकालदेखि नै यो संघको स्पष्ट उद्देश्य भएको र आत्मनिर्भतालाई जोड दिएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा उक्त संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै त्यस संघको भवन निर्माणको विवरण प्रस्तुत गर्नुभयो । त्यसैगरी सोही संघका व्यवस्थापक बालकृष्ण धोजुले त्यो संघको हालको संक्षिप्त परिचयको प्रस्तुतीकरण गर्नुभयो । त्यसै संघका सञ्चालक काजीबहादुर पंचले सञ्चालन गरेको कार्यक्रममा कोभिडको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पालना गरी सिमित व्यक्तिहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा त्यसै संघका  सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उपसमितिहरुका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीहरु गरी ३२ जनाको उपस्थिती थियो ।

 

Leave a Reply