राष्ट्रिय सहकारी बैंक लि. १९औंं वर्षमा प्रवेश

राष्ट्रिय सहकारी बैंक लि. यही २५ गतेबाट १८ वर्ष पुरा भई १९औं वर्षमा प्रवेश गरेको छ । तत्कालीन राष्ट्रिय सहकारी संघ लि.(हालको राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपाल) का अध्यक्ष दीपक प्रकाश बास्कोटाको अग्रसरतामा नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ्ग कारोवारको इजाजत प्राप्त गरी २०६० असार २५ गते सो बैंक स्थापना भएको थियो तर यसको कारोवार भने २०६१ साउन २० गतेबाट शुभारम्भ भयो । राजेशहरि जोशी र रमेशप्रसाद पोखरेलको अध्यक्षतामा सञ्चालक समितिले कार्य गरे भने हाल के.बी. उप्रेतीको अध्यक्षतामा सञ्चालक समिति कार्यरत छ । केन्द्रीय कार्यालय सहित ६८ वटा शाखा र १२ हजारभन्दा बढी सदस्य रहेको उक्त बैंकले आफ्नो केन्द्रीय कार्यालय भवन निर्माणको लागि काठमाडौं टेकुमा जग्गा खरीद गरेको छ ।
आफू १९औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सोही बैंकले सहकारी अभियानसँग सम्बद्ध र सहकारीलाई माया गर्ने सबैमा शुभकामना व्यक्त गरेको छ ।
राजेशहरि जोशीको नाममा पुरस्कार स्थापना
राष्ट्रिय सहकारी बैंक लि.ले गत जेठमा निधन हुनु भएका आफ्ना संस्थापक अध्यक्ष राजेशहरि जोशीको नाममा पुरस्कार स्थापना गरेको सोही बैंकका सञ्चालक केदार मानान्धरले बताउनु भएको छ । आफ्ना संस्थापक अध्यक्ष जोशीको निधनले शोकाकुल त्यस बैंकले केन्द्रीय कार्यालय सहित सबै शाखा कार्यालयमा १३ दिनसम्म शोक पुस्तिका राखेर शोक मनाउनुका साथै १३औं दिनमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेको थियो ।