गैंडाकोट स्वाभिमान साकोसले सञ्चालनमा ल्यायो स्मार्ट एप्सबाट रेमिट्यान्स सेवा

बर्दघाट-सुस्ता पूर्वको नवलपरासीको गैंडाकोटमा रहेको गैँडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि.ले यही असार २१ गतेबाट स्मार्ट एप्सबाट रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । ‘यस संस्थाका शेयर सदस्यहरुले यो एप्सको प्रयोग गरेर स्वदेशका साथै विदेशबाट पठाएको रकम आफ्नो खातामा जम्मा गर्न र स्वदेशका जुनसुकै स्थानमा रकम पठाउन सकिने गरी रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएका छौं’ सोही संस्थाका प्रमुख व्यवस्थापक रामचन्द्र सुवेदीको भनाइ छ । यस सेवाबाट सदस्यले आफ्नो मोवाइलबाट घरमै बसी रेमिट्यान्सको रकम खातामा जम्मा गर्न सक्ने तथा नेपाल भित्र जुनसुकै स्थानमा पनि रकम पठाउन सकिने व्यवस्था गरिएको र यो सेवा ई-सेवा रेमिट्यान्सबाट पनि उपलब्ध रहेको बताइएको छ । यस संस्थामा अन्य रेमिट्यान्सहरु पनि छिट्टै उपलब्ध हुने र स्मार्ट एप्लिकेशन प्रयोग गर्ने शेयर सदस्यहरुले यो सेवा उपयोग गर्न सक्ने जनाइएको छ ।
प्रधान कार्यालयका अतिरिक्त ४ वटा सदस्य सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको त्यस संस्थामा सदस्य संख्या १० हजार ४ सय र कुल सम्पति रु.१ अर्ब ३५ करोड रहेको उक्त संस्थाले जनाएको छ ।