जनसचेतन साकोस , चरिकोटको ५ दिने क्षमता अभिबृद्धि तालिम जारी

दोलखाको चरिकोटमा प्रधान कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समिति , लेखा सुपरीबेक्षण समिति र उप-समितिका पदाधिकारी तथा सदस्यहरु एवं कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम काभ्रेपलाञ्चोकको धुलिखेल लज तथा रिर्सोटमा जारी छ । यही साउन ४ गते शुरु भएको ५ दिवसीय सो तालिमको यही साउन ८ गते शुकृरबार समापन हुने आयोजकको भनाई छ । तालिममा विभिन्न विषयका विद्वान प्रशिक्षकहरुले सहजीकरण गरिरहनु भएको बताइएको छ ।
काठमाडौं , दोलखा सहित ५ जिल्लामा कार्यक्षेत्र रहेको सो संस्थाले प्रधान कार्यालय र १५ वटा सदस्य सेवाकेन्द्रबाट आफ्ना ३३ हजार भन्दा बढी शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको जनाएको छ ।
उक्त तालिमको गत सोमबार उद्घाटन गर्दै नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले नेपालको साकोस अभियानमा जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि.ले पु-याएको योगदान महत्वपूर्ण रहेको बताउदै सहकारी संस्थाहरुले डिजिटल प्रविधिको प्रयोग गर्नु पर्नेमा जोड दिनुभएको थियो । त्यसैगरी नेफस्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले सहकारी अभियानमा महिला सहभागिता पुरुषको तुलनामा अझै पनि कम रहेकोले सहकारी संघ/ संस्थाहरुले महिला सहभागिता बृद्धिमा ध्यान दिनु पर्ने आवश्यकता औंल्याउनु भएको थियो । आयोजक जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष हेमन्तकुमार चौलागाईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा त्यसै संस्थाकी उपाध्यक्ष स्वस्थानी कुँवरले हाम्रो संस्थाले आफ्ना सञ्चालक , व्यवस्थापन लगायतको क्षमता अभिबृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनु भएको थियो । त्यस उद्घाटन कार्यक्रममा उक्त संस्थाका सल्लाहकार भीमप्रसाद दाहाल , सचिव कमल दाहाल , लेखा सुपरीवेक्षण समिति संयोजक मिनप्रसाद दाहाल , प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल सहित २८ जनाको सहभागिता रहेको जनाइएको छ ।
