परिश्रमी साकोस र श्री थानकोट महालक्ष्मी साकोस बीच आज एकीकरण कार्य सम्पन्न , एकीकृत संस्थाको वासालात रु.४८ करोड

0 Shares

काठमाडौंको चन्द्रागिरि नगरपालिका- ३, थानकोट, इमाखेलमा रहेको परिश्रमी बचत तथा ऋण सहकारी संस्था लि. र सोही वडाको थानकोट, त्रिभुवनपार्कमा रहेको श्री थानकोट महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. बीच आज एकीकरण कार्य सम्पन्न भएको छ । २०७८ असार २० गते चन्द्रागिरि नगरपालिकाबाट ती दुबै संस्था बीच एकीकरण गर्ने अनुमति प्राप्त भएको थियो । एकीकृत संस्थाको नाम परिश्रमी बचत तथा ऋण सहकारी संस्था लि. राख्ने गरी एकीकरण प्रक्रियामा सामेल भएका परिश्रमी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कृष्णप्रसाद खड्गी र श्री थानकोट महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष निर्मला श्रेष्ठ बीच सहमती भएको थियो ।  साधारणसभा नहुदासम्म एकीकृत संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति तथा व्यवस्थापक पुरानै परिश्रमी बचत तथा ऋण सहकारी संस्था लि.को रहने र हाललाई एकीकरण प्रक्रियामा सामेल श्री थानकोट महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.का १ जना कर्मचारी मात्रै एकीकृत संस्थामा रहने समझदारी भएको जनाइएको छ । एकीकृत संस्थाको शेयर सदस्य संख्या १ हजार ७ सय , शेयर पूँजी रु.३ करोड ५० लाख , निक्षेप संकलन रु.३७ करोड , कर्जा प्रवाह रु.३३ करोड र वासालात रु.४८ करोड रहेको त्यसै संस्थाका व्यवस्थापक मोहन डाँगीले सहकारी सञ्जाललाई बताउनुभयो । ‘हाम्रो यस संस्थाको साधारणसभाबाट सदस्य सेवा केन्द्र सञ्चालन बारेमा निर्णय हुनेछ’, उहाँको भनाई छ ।

बिगत १ बर्ष देखिको निरन्तर प्रयासपछि ती दुई संस्था बीच एकीकरण भएको बताइएको छ ।

Leave a Reply