७ बुँदे प्रतिबद्धता जारी गर्दै सहकारीमा लघुवित्त सम्मेलन-२०२१ सम्पन्न

0 Shares

 राष्ट्रिय सहकारी बैंक लि १९औं बर्षमा प्रवेश गरेको अवसरमा सो बैंक र नेडाकको संयुक्त आयोजनामा यही साउन १९ र २० गते सम्पन्न दुई दिवसीय सहकारीमा लघुवित्त सम्मेलन-२०२१ सम्पन्न भयो । यही साउन १९ गते अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नु भएको सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीले गरिबी न्यूनिकरणमा सहकारी लघुवित्त : नेपाल सरकारको नीति तथा कार्यक्रम विषयको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्यपत्रमाथि राष्ट्रिय सहकारी महासंघ लि.का नि:बर्तमान अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका सल्लाहकार केशवप्रसाद बडाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले टिप्पणी गर्नु भएको थियो । त्यसैगरी राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक महेन्द्र गिरीले लघुवित्तमा सहकारीको भूमिका : नेपालको यथार्थ, सम्भावना र चुनौति विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यस कार्यपत्रमाथि राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष तथा सोही बैंकका सल्लाहकार मिनराज कँडेल र लघुवित्त क्षेत्रका विज्ञ डा.नरहरि ढकालले टिप्पणी गर्नु भएको थियो । यस्तैगरी सम्मेलनमा सहकारी मार्फत लघुवित्त : विश्व अनुभव विषयमा एशियाली ऋण महासंघका प्रमुख कार्यकारी अधिकृत एलिनिता सान रोकले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । । उक्त कार्यपत्र माथि अन्तर्राष्ट्रिय सहकारी महासंघकी ग्लोबल बोर्ड सदस्य तथा राष्ट्रिय सहकारी महासंघ लि.की बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल र अप्राका कार्यकारी प्रमुख प्रशुन दासले टिप्पणी गर्नु भएको थियो ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षता र सञ्चालक केदार मानन्धरको सञ्चालनमा भएको उक्त सम्मेलनमा सोही बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सो बैंकको भावी कार्यदिशा तथा गरिबी न्यूनिकरणमा सहकारी संघ , संस्था र बैंकको भूमिका विषयमा सहजीकरण गर्नु भएको थियो ।सम्मेलनमा सहकारी विभागका रजिष्टार लीलाप्रसाद शर्मा राष्ट्रिय सहकारी महासंघ लि.का पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लि.का सल्लाहकार दीपक प्रकाश बास्कोटा , त्यसै महासंघका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लि.का नि:बर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेल, त्यसै महासंघका लेखा सुपरीवेक्षण समिति संयोजक तथा राष्ट्रिय सहकारी बैंक लि.का सल्लाहकार धर्मदत्त देवकोटा र त्यसै बैंकका सल्लाहकार केशब निरौलाले आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो भने सोही बैंकका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले धन्यबाद ज्ञापन गर्नु भएको थियो । त्यस सम्मेलनले निम्नानुसारको ७ बुँदे प्रतिवद्धता जारी गरेको  छ ।

१. सहकारी संघ/संस्थाहरुले लघुवित्त सञ्चालन गर्दा सहकारीको दर्शन, सिद्धान्त , मूल्य र मान्यता अनुरूप सबै सदस्यहरुलाई सहभागी गराउने कुराको सुनिश्चितता गर्ने ।

२. स्थानीय, प्रदेश तथा केन्द्रीय सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संंघ/संस्था, बैंक तथा वित्तीय संस्थाहरु र विकास साझेदारहरु बीच समन्वय गरी दिगो विकास लक्ष्य प्राप्तिको लागि स्थानीय स्तरमा क्षमता विकास गर्ने ।

३. उद्यम , व्यवसाय तथा मूल्य श्रृखला प्रवर्द्धन र लगानी बृद्धि गर्न उपयुक्त वातावरण सिर्जना गरी लघुवित्त मार्फत सदस्यहरुको सामाजिक विकास र आर्थिक समृद्धिको अवसर सिर्जना गर्ने ।

४. अति विपन्न परिवारलाई सहज रुपमा सीप, स्रोत र पूँजी उपलब्ध गराउँदै सहकारी मार्फत गरिबी न्यूनिकरण, उत्पादकत्व र रोजगारी सिर्जनामा अहम् भूमिका निर्वाह गर्ने ।

५. राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई लघुवित्त कारोवार गर्ने सहकारी संघ/संस्थाको प्रवर्द्धक निकायको रुपमा स्थापित गर्ने । विपन्न वर्गमा कार्य गरेका स्थानीय सहकारीहरुको साझेदारीमा लघुवित्त, लघु उद्यम र वित्तीय समावेशीकरण गर्न राष्ट्रिय सहकारी बैंक लिमिटेडद्वारा सहयोग गर्ने ।

६.  सहकारी लघुवित्तको मोडेललाई ब्यवस्थित, सुशासित, प्रविधियुक्त र मर्यादित बनाउदै आफ्नो छुट्टै पहिचान स्थापित गर्ने र लघुबित्त मार्फत राष्ट्रको गरिबी न्यूनिकरण अभियानमा ठोस भूमिका निर्वाह गर्ने । र

७.  वित्तीय पहुँच कमजोर भएका वर्ग, समुदाय र क्षेत्रमा पहुँच विस्तार गर्दै उद्यमशीलता, स्वरोजगारी सिर्जना र बचत वृद्धि गरी विपन्नमुखी र सदस्यमुखी लैगिंक एवम् वित्तीय समावेशीकरणको अवधारणालाई वित्तीय सेवाप्रवाह मार्फत प्रभावकारी कार्यान्वयन गर्ने ।

 

Leave a Reply