गण्डकी प्रदेश सरकारले ल्याएको आर्थिक विधेयक सहकारीको हितमा छैन : प्रेमकुमार श्रेष्ठ

गोरखा नगरपालिका-७, नयाँबजार , गोरखामा आफ्नै भवनबाट सञ्चालन भइरहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक प्रेमकुमार श्रेष्ठले ‘२०७८ असार मसान्तसम्म मालपोतमा दृष्टिबन्धक गर्दा रु.३० लाखसम्मको रु.७ सय शुल्क तिर्दा हुन्थ्यो तर गण्डकी प्रदेश सरकारले ल्याएको आर्थिक विधेयकमा त्यसलाई परिवर्तन गरी मालपोतमा दृष्टिबन्धक गर्दा रु.५ लाखसम्म रु.१ हजार ५ सय , रु.१० लाखसम्म रु.२ हजार ५ सय , रु.२० लाखसम्म रु.३ हजार र रु.५० लाखसम्म रु.१० हजार शुल्क लाग्ने उल्लेख छ । उसको यस कार्यले सहकारीलाई बैंक सरह मानेर शुल्क निर्धारण ग-यो , जसले गर्दा सहकारी संस्थाका न्युन आयस्तर भएका सदस्यहरुलाई मर्का पर्न गएको छ । यसलाई गण्डकी प्रदेश सरकारले पुनर्विचार गर्नपर्छ’, भन्नुभयो । सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले गोरखा नगरपालिकाले आफू अन्तर्गतका सहकारी संस्थाले लेखा परीक्षक प्रमाणिकरण गरेर मात्रै लेखा परीक्षण गर्नु पर्ने भनी सूचना जारी गरेको छ र उसले सहकारी ऐन,२०७४ को मर्म र भावना विपरीत आफ्नो ऐन/नियमावली परिवर्तन गरी त्यसमा आफू अन्तर्गतका सहकारी संस्थाहरुले आर्जन गरेको नाफाको १ प्रतिशत सोही नगरपालिकामा बुझाउनु पर्ने प्रावधान राखेको छ , जो सहकारी संस्थाहरुको हित विपरीत भएकोले यसलाई सच्याउनु पर्ने खाँचो औंल्याउनुभयो । ,’कोभिड-१९को कारणले गर्दा सहकारी संस्थाहरुले आफ्नो वार्षिक कार्य योजना अनुरुप आफ्ना कार्यक्रम अगाडि बढाउन सकेका छैनन् , जसले गर्दा सहकारी संस्थाको गतिविधिमा अशर पर्न गएको छ । सरकारले अति न्युन व्याजदरमा ऋण लगानी गरी सहकारी संस्थाका न्युन आयस्तर भएका सदस्यहरुको आयस्तर बृद्धि गर्ने गरी कार्य गर्नु पर्ने देखिन्छ’, उहाँको भनाई छ ।
स्थानीय समुदायमा आधारित त्यस संस्थामा २०७८ साउन २५ गतेसम्म शेयर सदस्य संख्या १ हजार ८ सय २५ , शेयर पूँजी रु.२ करोड ९५ लाख ९३ हजार ,निक्षेप संकलन रु.२३ लाख ५ लाख २३ हजार ८ सय ४८ , कर्जा लगानी रु.१९ करोड ९० लाख ९६ हजार २ सय ४१ र कूल कारोवार रु.३० करोड ३ लाख १० हजार ५ सय ३७ रहेको र आर्थिक वर्ष २०७८/०८९ मा शेयर सदस्य संख्या २ हजार १ सय पु-याउने गरी कार्य भइरहेको सो संस्थाले जनाएको छ । लकडाउनको समयमा समेत स्वास्थ्य मापदण्ड पालना गरी उक्त संस्थाले कार्यालय सञ्चालन गरी दैनिक बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरेको थियो भने त्यस समयमा आफ्ना शेयर सदस्यहरुलाई स्वास्थ्य स्थितिको बारेमा र काममा जानै पर्ने शेयर सदस्यहरुलाई स्वास्थ्य समस्याको बारेमा जानकारी गराइएको थियो । त्यस संस्थाका कोभिड-१९ बाट २० जना शेयर सदस्यहरु संक्रमित भएका र तीमध्ये २ जनाको दु:खद निधन भएको थियो भने बाँकी १८ जना संक्रमण मुक्त भएका थिए ।
‘गोरखा नगरपालिका भित्र हाम्रो यस संस्थाको कार्यक्षेत्र छ र हामीले यसको कार्यक्षेत्र बिस्तारको लागि नियामक निकायमा पत्राचार गरेका छौं’, सोही संस्थाका व्यवस्थापक श्रेष्ठको थप भनाई छ ।