स्वस्तिक साकोस , बयलबासको २१औं वार्षिक साधारणसभा शुरु , संस्थामा असोज ९ गतेदेखि एटीएम(ATM) सेवा सञ्चालन हुने

0 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका-६, बयलबासमा आफ्नै भवनबाट  सञ्चालन भइरहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि. को २१औँ वार्षिक साधारण सभा २०७८ भदौ २६ गतेबाट शुरु भएको छ । सो संस्थाको आफ्नै भवनबाट सञ्चालन भइरहेको उक्त साधारणसभा २०७८ असोज ९ गते संस्थाका शेयर सदस्यहरुले छनौट गरेका प्रतिनिधिहरुको उपस्थितिमा समापन कार्यक्रम गरी समापन गरिने बताइएको छ । कोभिड-१९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी शुरु भएको साधारणसभाको हिजो सोही संस्थाका अध्यक्ष बेनीबहादुर कार्कीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो । उक्त अवसरमा त्यसै संस्थाका संस्थापक सदस्य सुशिला कार्कीका साथै सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्य र कर्मचारीहरु लगायतको उपस्थिति रहेको बताइएको छ । १५ दिनसम्म सञ्चालन हुने त्यस साधारणसभामा संस्थाका अध्यक्ष कार्कीले सञ्चालक समितिको प्रतिवेदन , सचिव बेचुप्रसाद तिमिल्सिनाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष विष्णुहरि मैनाली आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजकले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु हुने जनाइएको छ ।।

साधारणसभा शुरु भएसँगै त्यस संस्थाका शेयर सदस्यहरुलाई प्रतिवेदन उपलब्ध गराउने , प्रतिवेदन उपर छलफल गरी सुझाव संकलन गर्ने र साधारणसभाको उपस्थिति पुस्तिकामा दस्तखत गराउने कार्य हुन थालेको सो संस्थाले जनाएको छ ।

मोवाइल बैंकिङ (Mobile banking) र एस.एम.एस. अलर्ट(SMS Alart) सेवा समेत सञ्चालन गरिरहेको उक्त संस्थाले २०७८ असोज ९ गते ए.टी.एम.(ATM) सेवा सञ्चालन शुरु गर्ने सोही संस्थाका व्यवस्थापक विनोदकुमार थापाले बताउनु भएको छ ।

‘हाम्रो यस संस्थामा शेयर पूँजी रु.३ करोड ३६ लाख , निक्षेप संकलन रु.२१ करोड ४० लाख , कर्जा लगानी रु.१९ करोड , कुल कारोबार रु. २९ करोड ३० लाख र आर्थिक बर्ष २०७७/०७८ को कारोवारबाट खुद मुनाफा रु. ६५ लाख ६६ हजार रहेको छ’, व्यवस्थापक थापाको भनाई छ ।

Leave a Reply