लामोसाँघु साकोस ,लामोसाँघुको १२औं वार्षिक साधारणसभा सम्पन्न

0 Shares

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-८, लामोसाँघुमा रहेको लामोसाँघु बचत तथा ऋण सहकारी संस्था लि.को १२औं बार्षिक साधारणसभा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा यही भदौ ३० गते लामोसाँघुमा सम्पन्न भएको भयो । सोही संस्थाका अध्यक्ष पूर्णचन्द्र ढकालले अध्यक्षता र व्यवस्थापक रविन विश्वकर्माले सञ्चालन गर्नु भएको उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पौड्यालले सहकारी संस्थाहरु नीति , विधि र प्रविधिलाई आत्मसाथ गरी मर्यादित ढंगबाट सञ्चालन हुनु पर्ने बताउनुभयो । बलेफी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष चरीबहादुर तामाङ , साना किसान लघुवित्त वित्तीय संस्था , इलाका कार्यालय बनेपाका प्रबन्धक सरोज भट्टराई , बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक चक्र बस्नेत , सुनकोशी क्याम्पसका प्रमुख कृष्णप्रसाद आचार्य र गोरखापत्र राष्ट्रिय दैनिकका सिन्धुपाल्चोक संवाददाता चित्र मिजार लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै लामोसाँघु बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरिरहेको सेवा र गरिरहेको प्रगतिको प्रशंसा गर्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । साधारणसभाको अध्यक्षता गर्दै त्यसै संस्थाका अध्यक्ष ढकालले हाम्रो यस संस्थाले आफ्नो त्रिवर्षीय रणनीतिक व्यवसायिक योजना पारित गरेर सो योजना अवधिमा यो संस्थाको २ वटा सदस्य सेवाकेन्द्र स्थापना गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले संस्थाले सदस्य र सेवा बिस्तारलाई निरन्तरता दिने, बचत तथा ऋणको कारोवारलाई थप ब्यबस्थित गर्दै जाने र कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिई रासायनिक मल बिक्री वितरणको कार्यलाई निरन्तरता दिई त्यसलाई ब्यबस्थित गर्ने, आफ्ना शेयर सदस्यहरुलाई उद्यमी र ब्यबसायी बनाएर आत्मनिर्भर बनाउनका लागि सहकारी शिक्षा /तालिम तथा आन्तरिक स्रोत पूँजी प्रयाप्त नभएको अवस्थामा पनि  शेयर सदस्यहरुको कर्जाको मागलाई पूरा गर्न लघुवित्त वित्तीय संस्था लि., बनेपा लगायतका बाह्य वित्तीय संस्थाहरुसँग सहकार्य गरी तिनीहरुबाट कर्जा सापटी लिएर भएपनि कृषि तथा उत्पादनशील क्षेत्रमा सहुलियत ब्याजदरमा कर्जा लगानीलाई प्राथमिकता दिनुका साथै ‘यस संस्थाले आफ्नो सेवालाई थप गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालन गरेको मोवाइल बैंकिङ लगायतका प्रविधिलाई थप व्यवस्थित गरी विद्युतीय भुक्तानी र ट्रान्सफर प्रविधिलाई स्थापित गर्ने, विद्युत महशुल भुक्तानी सेवा थप गर्ने र सबै रिचार्ज सेवा थप व्यवस्थित गरेर सञ्चालन गर्ने उद्देश्य रहेको छ’ भन्नुभयो ।

साधारणसभामा सोही संस्थाका सचिव नेत्रप्रसाद पराजुलीले संस्थाको बार्षिक प्रतिवेदन , कोषाध्यक्ष बालकृष्ण तिमल्सिनाले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका नारायण कार्कीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस अवसरमा आर्थिक बर्ष २०७७/०७८ मा गरेको कारोवार लगायतको आधारमा बिभिन्न विधामा उत्कृष्ट शेयर सदस्य लगायतलाई सम्मान गरिएको थियो ।

स्थानीय समुदायमा आधारित रहेर आफ्नै भवनबाट सञ्चालन भइरहेको उक्त संस्थाले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर उठाउन सहयोग पुग्ने गरी उनीहरुलाई उद्यमशील कार्यमा लाग्न प्रेरित गर्ने गरी विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने तथा कृषि , पशुपङ्छी पालन जस्ता उद्यमशील कार्यमा लाग्ने शेयर सदस्यलाई न्युन व्याजदरमा कर्जा उपलब्ध गराउने जस्ता कार्य गर्दै आएको देखिएको छ ।

३६५ दिन नै कार्यालयबाट सेवा प्रवाह गर्नुका साथै कृषि , व्यापार ,व्यवसाय लगायतका बिभिन्न १६ वटा शीर्षकमा कर्जा प्रवाह गर्दै आएको सो संस्थामा २०७८ असार मसान्तसम्म शेयर सदस्य संख्या १,७६९ जना , बाल बचतकर्ता ३५५ जना , शेयर पूँजी रु.६९ लाख , कोषहरुमा रु.८९ लाख १३ हजार , निक्षेप संकलन रु.५ करोड ७९ लाख ८३ हजार , कर्जा लगानी रु. ७ करोड ५ लाख ७८ हजार , कूल पूँजी रु.९ करोड रहनुका साथै रु.१८ लाठ खुद मुनाफा आर्जन गरेको त्यसै साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply