हाम्रो सुपर साकोस, बर्दघाटको रणनीतिक व्यवसायिक योजना कार्यशाला जारी
बर्दघाट-सुस्ता पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-२, चिसापानीमा रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि.को ३ दिवसीय रणनीतिक व्यावसायिक योजना कार्यशाला आज पनि जारी रह्यो । बिहीबारदेखि सुरु भएको सो कार्यशालाको उद्घाटन गर्दै सोही संस्थाका सल्लाहकार तथा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाम्रो सुपर साकोसको को रणनीतिक व्यावसायिक योजनाले स्पष्ट मार्गचित्र तय हुने र त्यसकै आधारमा थप संस्थागत उपलब्धी हासिल हुनुका साथसाथै शेयर सदस्यहरुलाई थप गुणस्तरीय सेवा प्रवाह गर्न सम्भव हुने बताउनुभयो । उहाँले यो संस्था नेफ्स्कूनले सञ्चालन गर्दै आएको प्रोबेशन कार्यक्रममा आवद्ध भएकोले यसले इमानदारिता , पारदर्शिता र सुशासनमा जोड दिनु पर्ने आवश्यकता औंल्याउनुभयो । उक्त उद्घाटन कार्यक्रमको अध्यक्षता गर्दै हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष खेमराज सुवेदीले सो संस्थाको गतिविधिको चर्चा गर्नु भएको थियो । सोही संस्थाका सचिव बिष्णुप्रसाद बरालले सञ्चालन गर्नुभएको त्यस कार्यक्रममा त्यसै संस्थाकी उपाध्यक्ष सावित्री दुवाडी सहित सञ्चालक समितिका पदाधिकारी तथा सदस्य र कर्मचारीहरु गरी २७ जना सहभागिता रहेको थियो ।
२०७८ असोज २ गतेसम्म सञ्चालन हुने उक्त कार्यशालाको सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र कार्यक्रम अधिकृत मनोज खड्काले गर्नु भएको जनाइएको छ ।
