जनमुखी साकोस, दोलखाको २४ वार्षिक साधारणसभा सम्पन्न , संस्थामा कारोवार रु.१ अर्व ५ करोड
दोलखाको मैनापोखरीमा केन्द्रीय कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्था लि.को २४औं वार्षिक साधारणसभा यही असोज ५ गते सम्पन्न भएको जानकारी प्राप्त भएको छ । गत भदौ भाद्र २५ गतेदेखि सो साधारणसभा आरम्भ भएको थियो । सोही दिनदेखि संस्थाको केन्द्रीय कार्यालय तथा गैरिमुदी , चरिकोट , नाम्दु र खावामा रहेका सदस्य सेवाकेन्द्रमा शेयर सदस्यहरुलाई संस्थाको प्रतिवेदनहरु वितरण गर्ने तथा प्रतिवेदन उपर छलफल गरी सुझाव संकलन गरी यही असोज ५ गते विशेष कार्यक्रम गरी साधारणसभा सम्पन्न गरिएको थियो ।
सो कार्यक्रमको नेफ्स्कूनका सञ्चालक तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का महासचिव जिवसराज खड्काले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा उहाँले सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको नेपालको सहकारी अभियानको विकास र प्रवर्द्धनको लागि राज्य र सहकारी अभियान वीच सहकार्य आवश्यक रहेको बताउनुभयो । जनमुखी बचत तथा ऋण सहकारी संस्था लि.ले प्राप्त गरेको सफलताप्रति प्रशन्नता व्यक्त गर्दे उहाँले त्यस संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।
सोही संस्थाका उपाध्यक्ष गीताकृष्ण शर्माले स्वागत मन्तव्य र सचिव लक्ष्मण चौलागाईंले सञ्चालन गर्नु भएको सोही कार्यक्रमको अध्यक्षता गर्दै त्यसै संस्थाका अध्यक्ष माधवप्रसाद दाहालले उक्त संस्थाको गतिविधि र त्यसले प्रवाह गरिरहेको सेवाको बारेमा प्रकाश पार्नु हुदै सुख होस् या दु:ख , जस्तोसुकै अवस्थामा पनि हाम्रो यस संस्थाका शेयर सदस्य ज्यूहरुको साथ र सहयोगले गर्दा यो संस्था भूकम्प , कोरोना महामारी जस्ता प्रतिकूल अवस्थामा पनि निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको छ र यस संस्थामा यतिबेला १९ हजार भन्दा बढी शेयर सदस्य र रु.१ अर्व ५ करोड कारोवार रहेको बताउनुभयो । बचत तथा ऋण कारोवारसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गर्दै हाम्रो यस संस्थाको आफ्ना शेयर सदस्यहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै नाम्दुमारुमा पनि सदस्य सेवाकेन्द्र सञ्चालन गर्ने योजना रहेको उहाँको भनाई छ ।
कार्यक्रममा उक्त संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सोही संस्थाका सचिव लक्ष्मण चौंलागाईंले कोरोना भाइरस महामारीको अवस्थामा पनि यस संस्थाले कार्यालयबाट आफ्ना शेयर सदस्यहरुलाई ३६५ दिन नै सेवा प्रवाह गरेको बताउदै आगामी दिनमा यसले आफ्नो सेवालाई थप गुणस्तरीय बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा त्यस संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संस्थाका कोषाध्यक्ष राजन के.सी.ले २०७८ असार मसान्तसम्म यस संस्थामा शेयर पूँजी रु.९ करोड २९ लाख ८८ हजार , निक्षेप संकलन रु.७९ करोड २८ लाख ८८ हजार , कर्जा लगानी रु.७८ करोड ५८ लाख ६९ हजार , जगेडा कोष रु.६ करोड ७७ लाख ५२ हजार , अन्य कोषहरु रु.१ करोड ७४ लाख २० हजार र शेयर लाभांश वापतको रकम रु.८१ लाख ८६ हजार ६ सय ५६ रहेको बताउनुभयो । यस संस्थाले कृषि पेशालाई बढावा दिने उद्देश्यले कृषि र पशुपालनतर्फ अन्य शीर्षकका कर्जामा भन्दा २ प्रतिशत कम ब्याजदरमा कर्जा उपलब्ध गरिरहेको बताउदै उहाँले २० जना कृषकलाई कृषि औजार मर्मत सम्बन्धी तालिम प्रदान गर्ने , जटिल रोग लागेका आफ्ना शेयर सदस्यको उपचारमा सहयोग स्वरुप: रु.१० हजारसम्म आर्थिक सहयोग गर्ने , ७५ वर्ष उमेर पुगेका जेष्ठ र अपाङ्गता भएका शेयर सदस्यहरुलाई रु.५ सयका दरले रकम उपलब्ध गराउने गरिएको र त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तैगरी सोही संस्थाका लेखा सुपरीवेक्षण समितका संयोजक प्रशान्त चौलागाईंले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्दै सो संस्थाले आफ्नो थप प्रगतिका लागि अवलम्वन गर्नु सुझाव दिनु भएको थियो ।
कार्यक्रममा त्यस संस्थाका पूर्व सञ्चालक उत्कृष्ट बचतकर्ता सदस्य, उत्कृष्ट उद्यमी सदस्य, असल ऋणी सदस्य , ज्येष्ठ शेयर सदस्य र २०७८ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जीटीए ल्याई उत्तीर्ण हुने शेयर सदस्यहरुका छोराछोरीलाई सम्मान गरिएको थियो ।प्रोबेशन ब्राण्ड प्राप्त गरी एक्सेस ब्राण्ड कार्यक्रममा सहभागी भई त्यसको पनि धेरै वटा सूचाकाङ्क पार गरी सकेको यस संस्थाले आफ्ना शेयर सदस्यहरुको आयस्तर वृद्धि गर्ने उद्देश्यले उद्योग , कृषि, पशुपालन, व्यापार, शैक्षिक, हायरपर्चेज जस्ता क्षेत्रमा कर्जा लगानी गर्दै आएको सोही संस्थाका व्यवस्थापक भेषबहादुर मिजारको भनाई छ
यता उक्त संस्थाको २५ औं स्थापना दिवसको अवसरमा सोही संस्थाको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी, दोलखा जिल्ला शाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ४४ जना रक्तदाताले रक्तदान गरेको जनाइएको छ । उक्त संस्थाका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु , कर्मचारीहरु र शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको त्यस कार्यक्रममा रक्तदाताहरुलाई कृतज्ञता सहित प्रमाण-पत्र प्रदान गरिएको थियो ।

