सिवाईसी साकोसको १२औं वार्षिक साधारणसभा सम्पन्न, २०७८ असोज ८ गतेसम्म संस्थाको कूल सम्पति रु.२ अर्व ७ करोड ५६ लाख

0 Shares

बागलुङ बजारमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्था लि.को १२ओैं वार्षिक साधारणसभा २०७८ असोज ९ गते शनिवार बागलुङ बजारमा सम्पन्न भएको छ । सो साधारणसभा त्यसै संस्थाका २३ वटै सदस्य सेवाकेन्द्रमा यही असोज ३ गते एकैसाथ शुरु भएको थियो । संस्थाका ती २३ वटै सदस्य सेवाकेन्द्रबाट छनौट भएका प्रतिनिधिहरुको उपस्थितिमा उक्त साधारणसभा सम्पन्न भएको थियो । सोही संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न सो साधारणसभाको जिल्ला समन्वय समिति, बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले राम्रो टीमले दीगो नीति र विधि पालना गरेर राम्रोसँग सञ्चालन गरेकोले यो संस्थाले स्थापना भएको छोटो समयमा नै फड्को मारेको भन्दै त्यस संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । बर्तमानमा अनुदानमुखी भएर सहकारी खुल्ने र परिचान हुँदा सहकारी बदनाम भइरहको भन्दै उहाँले राज्यले बनाएको मापडण्डमा रहेर सहकारी सञ्चालन गर्न सके जोखिम नहुने बताउनुभयो । त्यस साधारणसभामा जिल्ला सहकारी संघ लि., बागलुङका उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीले सहकारीहरु व्यवसायिक र गुणस्तर अभिवृद्धि गर्न तर्फ लाग्नु पर्ने बताउनुभयो । त्यस्तैगरी जिल्ला बचत तथा ऋण सहकारी संघ लि., बागलुङका सचिव ऋषिराम गौतमले सहकारीहरु बीचको एकतालाइ जोड दिँदै वित्तीय सहकारीहरु एकीकृत रुपमा व्यवस्थित भएर सञ्चालन हुन सके अन्य वित्तीय संस्थाहरुको तुलनामा सहकारी सेवा पनि कमजोर नहुने बताउनुभयो । त्यसैगरी नेपाल पत्रकार महासंघ, बागलुङ शाखाका सचिव विजय रानाले सिवाईसी साकोस वित्तीय साथसाथै सदस्यमुखी आफ्ना गैर-वित्तीय सेवाहरुको कारण लोकप्रिय रहेको बताउँदै यसले थुप्रै पटक पत्रकार महासंघको अभियानमा समेत महत्वपूर्ण सहयोग गरेको भन्दै सो संस्थाप्रति आभार व्यक्त गर्नुभयो । साधारणसभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष पौडेलले उक्त संस्थाको गतिविधि र समग्र अवस्थाको अवस्थाको बारेमा प्रकाश पार्नु हुदै सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. फरक रुपमा स्थापित गराउन विभिन्न सृजनशील विधि र प्रविधिको प्रयोगद्वारा आफूहरु यहाँसम्म आइपुगेकोले धवलागिरी क्षेत्रमा कृयाशील नामुद सहकारीहरु बीच वृहत्तर एकताको आवश्यकता रहेको भन्दै सहकारीको भावनालाई उजागर गर्दै यसो हुन सकेमा मात्र जनता माझ गरिबी विरुद्धको अभियान सञ्चालन गर्ने सशक्त संस्थाको जन्म हुने र त्यसको लागि सिवाईसी हरेक विकल्पमा छलफल गर्न तयार रहेको बताउनुभयो ।

सो संस्थाका बागलुङ ,पर्वत र म्याग्दीका सेवाकेन्द्रमा गरिएको विस्तारित मञ्चबाट चुनिएका प्रतिनिधिको उपस्थितिमा सम्पन्न उक्त साधारण सभाले त्यस संस्थाका सचिव जयराम भारीले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७७/०७८ को प्रगती तथा चालु आर्थिक वर्ष २०७८/०७९ को प्रस्तावित नीति तथा कार्यक्रम र कोषाध्यक्ष सीतादेवी कँडेल सापकोटाले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित ग-यो । साविक धवलागिरी अञ्चलका बागलुङ ,पर्वत म्याग्दी र मुस्ताङमा गरी एक दर्जन नयाँ शाखा विस्तार गर्ने तथा कास्की जिल्लामा नयाँ कार्यक्षेत्र थप गर्ने लगायतका प्रस्ताव समेत साधारणसभाबाट पारित भएको छ । यसैगरी ३० वटा सहकारी संस्था एकीकरण गरी नेपालमा सबैभन्दा बढी सहकारी एकीकरण गर्ने संस्थाको रुपमा पुरस्कृत भएकोे उक्त यस वर्ष थप आधा दर्जन सहकारी संस्था एकीकरण गर्ने प्रस्ताव समेत साधारणसभाले पास गरेको छ ।

त्यस अवसरमा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. का सल्लाहकार बद्रिप्रसाद शर्मा, गुप्तेश्वर सदस्य सेवा केन्द्र, कुश्माका कोषाध्यक्ष अनिता सापकोटा, बेनी सदस्य सेवा केन्द्र म्याग्दीका संयोजक तुलशीनाथ सुवेदी, हटिया सदस्य सेवाकेन्द्रका सचिव खिमबहादुर साहानी, अर्जेवा सदस्य सेवाकेन्द्रका सचिव वेमकुमारी थापा लगायतले त्यस संस्थाको सेवाकेन्द्र स्तरका आफ्नो अनुभव, कृयाकलाप र सदस्य सुझाव बारे बोल्नु भएको थियो ।

सोही संस्थाका सचिव जयराम भारीले सञ्चालन र सह-सह-सचिव सुवास आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नु भएको साधारणसभामा त्यसै संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले यस संस्थामा २०७८ असार मसान्तसम्मको कूल सम्पति रु.१ अर्व ९५ करोड ७४ लाख र शेयर सदस्य संख्या १८,४६५ रहेको र २०७८ असोज ८ गतेसम्म कूल सम्पति रु.२ अर्व ७ करोड ५६ लाख र कुल सदस्य संख्या १९,२९७ पुगेको जानकारी दिनुभयो । उहाँले यस संस्थाले चालु आर्थिक वर्ष २०७८/०७९ मा कूल सम्पति रु.३ अर्ब ५ करोड र सदस्य संस्ख्या २८ हजार ५ सय पु-याउने लक्ष्य राखेको बताउनुभयो ।
कार्यक्रमका अवसरमा संस्थाले आन्तरिक रुपमा आफ्ना सेवा केन्द्रहरुको मूल्यांकन गरी नवमालिका सदस्य सेवाकेन्द्रलाई उत्कृष्ट सेवाकेन्द्र र कर्मचारी मध्यमा ज्योति मल्ललाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गर्नुका साथै उत्कृष्ट कारोबार गरी संरक्षित फिर्ता कोषबाट रकम प्राप्त गर्ने एक दर्जन सदस्यहरुलाई नगद सहित सम्मान गरेको थियो ।

यसै वर्षदेखि उक्त संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको उच्चशिक्षासम्मको छात्रवृत्ति कार्यक्रमलाई अगाडि बढाउन विद्यालय अक्षयकोष कार्यक्रम पनि अगाडि सारेको छ। यसै क्रममा श्री जनकल्याण मा.वि. जलजला- ८ ,पर्वतका प्र.अ. कृष्णप्रसाद रेग्मीलाई अक्षयकोषका लागि रु. १ लाखको चेक त्यसै साधारणसभाको अवसरमा प्रदान गरिएको थियो।

Leave a Reply