गोरखाको गोरखा विकास सहकारीमा नयाँसंचालक कार्य समिति चयन

गोरखा जिल्लाको गोरखा नगरपालिका–६ गोरखा बजारमा रहेको गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २१ औं बार्षिक साधारण सभा यहि मिति २०७८ पुस २४ गतेका दिन सम्पन्न गरिसकेको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्तले यस संस्थाले सदस्यहरुलाई वित्तीय सेवा मार्फत उनिहरुको जीवन स्तरमा परिवर्तन ल्याई सदस्यमुखी संस्था भएर कार्य गरिरहेको बताए । साथै संस्थाको बार्षिक प्रतिवेदनमा देखिएका सबै आर्थिक सूचांकहरुमा पनि प्रगति देखिएको जानकारी गराएका थिए ।
कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष शितलकाजी श्रेष्ठले गर्नुभएको हो । सो कार्यक्रमा बोल्दै अध्यक्ष श्रेष्ठले संस्थामा आबद्ध सदस्यहरुको योगदान र कर्मचारीहरुको कुशल व्यवस्थापनले गर्दा नै संस्था प्रगतिपथमा अगाडि बढिरहेको कुरा जानकारी गराउनुभयो ।
त्यसैगरी कार्यक्रम संचालन सोहि संस्थाका सचिव शरद श्रेष्ठले गरेका थिए । साथै उनले संस्थाको बार्षिक प्रगति प्रतिवेदन समेत पेश गरेका हुन् ।
संस्थाका कोषाध्यक्ष दिपेन्द्र अर्यालले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक नन्दकुमार श्रेष्ठले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको हो ।
२०५६ साल फागुन ६ गतेका दिन देखि विधिवत रुपमा आफ्नो कारोबार संचालन गर्दै आईरहेको सो संस्थाले २०७८ साल असार मसान्त सम्म आईपुग्दा शेयरपुँजी १ करोड ६१ लख ३ सय रुपैया, बचत संकलन १८ करोड ८६ लाख ८४ हजार ३ सय ४० रुपैया २० पैसा, कुल कारोबार १३ करोड ५३ लाख ३१ हजार ९७ रुपैया ६ पैसा, ऋण लगानी १३ करोड ९३ लाख ९६ हजार ९ सय १ रुपैया ४० पैसा, जम्मा जगेडा कोष ४० लाख ३३ हजार २२ रुपैया ३६ पैसा, अन्य कोष ४० लाख ११ हजार ९ सय ९५ रुपैया २० पैसा, कर पछिको नाफा ३६ लाख ७६ हजार ७ सय ७ रुपैया ८० पैसा रहेको संस्थाका व्यवस्थापक नविन कुमार श्रेष्ठको भनाई छ ।
गोरखा जिल्लाभर कार्यक्ष्ोत्र बनाई आफ्नै ३ तले भवनबाट वित्तीय सेवा प्रवाह गर्दै आईरहेको सो संस्थामा महिला, पुरुष गरी ६ सय १८ जना सदस्यहरु आबद्ध भईसकेका छन् ।
सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गरी सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको सो संस्थाले कोरोना भाइरस माहामारीको समयमा सिरानचोक गापामा रहेको कृष्ण ज्योती माध्यामिक विद्यालयलाई ७५० पिस माक्स वितरण, सिरनाचोक गापाको नयाँसाघुमा रहेको संसारी माध्यामिक विद्यालयलाई १००० माक्स वितरण, गोरखा नपा –१० मा रहेको रत्नराज्य माध्यामिक विद्यालयलाई ९५० पिस माक्स संस्थाले वितरण गरेको थियो ।
त्यसैगरी गोरखामा बाढीबाट क्षेती पुगेका बाढीपिडितहरुको लागि शहिद लखन गाउँपालिकालाई १० थान त्रिपाल र नेपाल रेडक्रस सोसाईटी गोरखा शाखालाई ३० थान त्रिपाल अन्य सबैतिरका बाढीपिडितहरुको लागि वितरण गर्नको लागि हस्तान्तरण गरिएको थियो ।
संस्थाले कोभिड माहामारीको समयमै सदस्यहरुले लगेको ऋणकोे व्याजमा एकपटक २ प्रतिशत र अर्कोचोटी १ प्रतिशत छुट समेत गरेको जनाईएको छ ।
संस्थाको ७ औं अधिवेशनबाट राम बहादुर जोशीको अध्यक्षतामा नयाँ संचालक कार्यसमिति समेत चयन गरिएको छ ।
त्यसैगरी उपाध्यक्षमा रामशरण अर्याल, सचिव शरद श्रेष्ठ, कोषाध्यक्ष योङ कुमार श्रेष्ठ रहनु भएको छ ।
सदस्यहरुमा मिनादेवी श्रेष्ठ, श्यामबाबु जोशी, कृष्ण प्रसाद अर्याल, श्यामबाबु श्रेष्ठ, रुद्र कुमार श्रेष्ठ, जिवनीज्योति श्रेष्ठ, उषा श्रेष्ठ रहेका छन् ।
संस्थाको लेखा समिति संयोजकमा बाबु श्रेष्ठ र सदस्यहरुमा किरण अर्याल शंखर बहादुर कुँबर निर्वाचित भएका हुन् ।