सहकारीमा तरलता र भावि मार्ग

0 Shares

सहकारी संस्थाको स्वामित्वमा रहेको तुरुन्त चलायमान गर्न सकिने तरल सम्पत्ति र तरल लगानी तरलता हो । सहकारी संस्थाको भल्टमा भएको रकम र बैंक तथा वित्तीय संस्थामा तुरुन्त चेक काटी निकाल्न सकिने रकम तरलता भित्र पर्दछ । सहकारी संस्थाले यस प्रकारको रकम कुल बचतको १५ प्रतिसत राख्नको लागि पल्र्स अनुगमन प्रणालीले सुझाउछ र सहकारी संस्थाले यसै बमोजिम तरलता राख्नु पर्दछ । यदि सहकारी संस्थामा दिर्घकालिन समयमा मात्र फिर्ता गर्ने नियमित बचतको मात्रा अधिक छ भने तरलता १५ प्रतिशत राख्दा सहजै हुन्छ तर सहकारी संस्थामा अल्पकालमा फिर्ता गर्नुपर्ने ऐच्छीक बचतको मात्रा बढी छ भने कुल बचतमा १५ प्रतिशत भन्दा बढी तरलता राख्नुपर्ने हुन्छ । वर्तमान अवस्थामा हेर्दा सहकारी संस्थाहरुले शेयर सदस्यहरुलाई मासिक रुपमा प्रकासित गर्नुपर्ने सूचनामा बिभिन्न वित्तीय सूचकको साथै तरलता पनि जानकारी दिनुपर्ने हुन्छ । यस प्रकारको सूचनामा तरलताको १५ प्रतिशत सेरोफेरोलाई हेरेर मात्र सहकारी संस्थामा तरलताको अवस्था बलियो छ भनि ढुक्कहुने अवस्था नहुन सक्छ । यस अवस्थामा सहकारी संस्थामा भएको कुल बचतमध्ये कति प्रतिशत यथासिघ्र फिर्ता गर्नुपर्ने ऐच्छीक बचतको प्रतिशत छ सो कुरा अध्ययन गर्नुपर्ने हुन्छ । सहकारी संस्थामा कुल बचतको २० प्रतिशत भन्दा कम आवधिक बचत र अधिक मात्रामा दिर्घकालिन समयमा मात्र फिर्ता गर्नुपर्ने नियमित बचत छ भने तरलताको प्रतिशत १५ प्रतिशतको हाराहारीले पुग्ला तर अल्पकालमा फिर्ता गर्नुपर्ने ऐच्छीक बचत बढी छ भने १५ प्रतिशत मात्र तरलता राखेर पुग्दैन । सहकारी संस्थाको ब्यवस्थापनले संस्थामा भएको बचतको मात्रालाई बिश्लेषण गर्नुपर्ने र सोही बमोजिम तरलता ब्यवस्थापन गर्नुपर्ने देखीन्छ । यदि सहकारी संस्थाले बाह्य ऋण लिएको छ भने सोको किस्ता तिर्नको लागि समेत तरलतामा ध्यान दिनुपर्ने हुँदा प्रतिशत बढाएर राख्नुपर्ने हुन्छ ।

सहकारी संस्थामा सबै शेयर सदस्यहरु एकै पटक बचत फिर्ता गर्न आउनुहुन्न भन्ने मान्यताले कुल बचतको १५ प्रतिशत तरलता राख्नको लागि पल्र्स अनुगमन प्रणालीले सुझाएको देखीन्छ । यसरी १५ प्रतिशतको हाराहारीमा तरलता राख्दा बचत प्राप्त र फिर्ता तथा ऋण लगानि र असुली ब्यवस्थापन भएको खण्डमा सहकारी संस्था सहज रुपमा सञ्चालन हुन सक्छ । सहकारी संस्थाले तरलतालाई ध्यान नदिई संस्थामा नगद राख्न हुन्न भन्ने मान्यता लिई बढी ऋण लगानी गरेमा वा तरलतालाई स्थिर सम्पत्तिमा बढी लगानी गरेमा संस्थामा हुने नियमित प्रक्रिया ऋण लगानि तथा असुली र बचत प्राप्त तथा फिर्ताको चक्रमा असर पर्दछ र झनझन सहकारी संस्थालाई बढी तरलताको भार अर्थात् संकट पर्ने देखीन्छ । सहकारी संस्था स्तरीकरण कार्यक्रममा सहभागि भएको छैन र पल्र्स अनुगमन प्रणाली फलो गरेको छैन भने सबै सुचकहरुको बारेमा कम बिज्ञता हुनसक्छ र सहकारी संस्था कुहिरोमा उडेको कागको मोडलमा सञ्चालन भएको हुन सक्छ । सहकारी संस्थाको वासलातको सम्पत्ति पक्षमा देखीने नगद र बैंकलाई तरलताको रुपमा हेरीने भएकोले संस्थाको जिम्मेवार पक्षले वासलातमा देखीएको नगद अंकको भौतिक परिक्षण गरी नगदको गणना गर्ने तथा बैंकमा भएको बैंक ब्यालेन्स्को बैंक हिसाब मिलान परिक्षण अनिवार्य रुपमा गर्नु पर्दछ । यदाकदा हेर्दा सहकारी संस्थामा बचत फिर्ता लिन आउने शेयर सदस्यहरुलाई केही समय मागि ऋण उठेपछि आउनु बचत फिर्ता दिन्छौ भनेको भन्ने सुन्नमा आउछ । यसो हुनु भनेको स्तरीकरण कार्यक्रम र पल्र्स अनुगमन प्रणालीले देखाएको सहिमार्ग हिड्न नसक्नुहो भनेर बुझ्दा दुईमत नहुने अवस्था पनि छ ।

पल्र्स अनुगमन प्रणाली लाई फलो नगर्दाको अवस्थामा नकमाउने सम्पत्ति बढी खरिद गरेको अवस्था देखीन्छ । पल्र्स अनुगमन प्रणालीले जम्मा सम्पत्तिको ५ प्रतिशत भन्दा कम नकमाउने सम्पत्ति हुनुपर्दछ भनी मार्ग प्रसस्त गरेको देखीन्छ । यस सूचकांकलाई ध्यान नदिने सहकारी संस्थाहरुमा तरलता जोखीम भई शेयर सदस्यहरुलाई बचत फिर्ता गर्न नसकेको देखीन्छ । सहकारी सिद्धान्त, मुल्य र मान्यतामा सञ्चालीत सहकारी संस्थाहरु आफ्ना शेयर सदस्यहरुको बिषयमा ध्यान दिएको देखीन्छ तर यो भन्दा फरक सोच राखीएको सहकारी संस्थाहरुमा स्थिर सम्पत्तिमा बढी लगानी गरी बढी कमाउन खोजेको देखीन्छ यो पनि एक तरलता संकटको मुख्य कारण हो । यसै गरी कर्जा लगानीको बेलामा कर्जा लगानीलाई कम बिश्लेषण गरी गरीएको लगानीले असुलीमा प्रभाव पार्दछ । यसरी लगानी गरीएको कर्जा भनेको बेलामा असुली हुदैन र तरलतामा असर पु¥याउदछ । कर्जा लगानी गर्दा ५ सि बिश्लेषण गर्ने गरीएकोमा बर्तमान अवस्थामा ५ सिले नपुग्ने देखीन्छ । क्लाईमेट चेन्ज र भविश्यमा शेयर सदस्यको अवस्थामा हुने परिवर्तनलाई समेत समावेस गी ७ सि बिश्लेषण गर्नुपर्ने देखीन्छ । अझ ऋण लगानिलाई प्रभावकारी बनाउनको लागि क्रेडिट अप्राईजलको ब्यवस्था गर्नुपर्ने देखीन्छ । संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, बिभिन्न उपसमितिहरु र कर्मचारीलाई ऋण लगानि गर्दा सञ्चालक समितिको बैठकमा छलफल गरी सञ्चालक समितिले स्वीकृत गरे पछि मात्र लगानी गर्ने र सञ्चालक समितिको प्रत्येक बैठकमा उल्लेखित ऋणको बिबरण (दोसरी) छलफल गरी असुलीको तह बिश्लेषण गर्ने र असुली कमजोर देखीएमा तुरुन्त एक्सनमा जानुपर्दछ । यसरी ऋण लगानि गरी असुली गरीएमा मात्र सहज रुपमा तरलता ब्यवस्थापन गर्न सकिन्छ ।
बर्तमान अवस्थामा बैंक तथा वित्तीय क्षेत्रमा तरलताको केही बढी महत्व हुनेरहेछ भन्ने सिकाई भएको छ ।

 

 

यो सिकाईबाट सहकारी संस्थाहरुपनि छुट्टै बस्न सकेको अवस्था छैन । यस सिकाईबाट भावि दिनमा सहकारी संस्थाहरुले आफु आवद्ध भएको संघ वा बैंक (नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.–नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक) ले हाल सञ्चालनमा ल्याएको स्तरीकरण कार्यक्रममा अनिवार्य सहभागि हुनुपर्ने देखीन्छ जसले संस्थालाई सही मार्गमा हिडाउनको लागि मार्गनिर्देशन गर्ने सुचकांकहरुको बारेमा सिकाई सोही बमोजिम हिड्नको लागि अभिप्रेरीत गर्दछ । अकुद्धारा प्रतिपादित सहकारी संस्थामा सुशासनको तह मापन गर्नको लागि १२० वटा सुचकांक भएको सियुलेगको बिकास गरेको छ उक्त सुचकांकहरु फलो गराउनको लागि नियमनकारी निकायको साथै महासंघ, संघहरु र राष्ट्रिय सहकारी बैंकको पनि ध्यान जानु पर्ने आवश्यकता देखीन्छ । सहकारी संस्थाहरुमा पल्र्स अनुगमन प्रणालीको अनिवार्य फलो गर्ने कानुनी ब्यवस्था भएको छ तर फलो गर्नको लागि सबै संस्थाहरुको ध्यान पुगेको छैनकी भन्ने देखीन्छ ।

सहकारीमा पल्र्स अनुगमन प्रणाली अनिवार्य फलो गराउनको लागि नियमनकारी निकाय, महासंघ, संघहरु र राष्ट्रिय सहकारी बैंकको ध्यान जानु पर्ने देखीन्छ । सहकारी संस्थाहरुलाई सहकारीको सिद्धान्त मुल्य र मान्यतामा बिचलित भए भन्ने आरोप लाग्ने गरेको छ । यसको लागि सहकारीको सिद्धान्त मुल्य मान्यता सहकारी संस्थामा कतिको फलो भएको छ भनी परीक्षण अनिवार्य गराई मासिक प्रतिवेदन सञ्चालक समितिको बैठकमा छलफल गर्ने तथा सुधार गर्नुको साथै नियमनकारी निकायमा कोपोमिक्स्को माध्यामबाट चौमासिक प्रतिवेदन पठाउने ब्यवस्था अनिवार्य गर्नु पर्ने देखीन्छ । सहकारी संस्था स्वनियमनमा चल्नु पर्ने संस्था पनि भएकोले सहकारी संस्थाभित्रको आन्तरीक नियन्त्रण प्रणाली बलियो बनाउनु पर्ने अवस्था देखीन्छ । लेखा सुपरिवेक्षण समिति शेयर सदस्यहरुबाट चुनिने भएकोले उक्त समितिमा वित्तीय दक्षताको तह सहकारी संस्थाको आवश्यकता भन्दा फरक हुन सक्दछ यसको लागि लेखा सुपरिवेक्षण समितिमा वित्तीय ज्ञानमा पुर्णता छैन भने बिज्ञ आन्तरीक लेखापरीक्षक राखी आन्तरीक लेखा परिक्षण गराउने ब्यवस्था अनिवार्य गराउनु पर्ने देखीन्छ । सेवाकेन्द्रहरु धेरै भएको सहकारी संस्थाले कर्मचारी तहबाट पनि आन्तरीक लेखापरीक्षक राख्नु पर्ने आवश्यकता देखीन्छ र केही सहकारी संस्थाहरुले कर्मचारीको तहबाट आन्तरीक लेखापरीक्षक राखेको पाईन्छ ।

सहकारी संस्थामा दुरदृष्टि भएको सञ्चालक समिति र ब्यवसायिक कर्मचारीको आवश्यकता पर्दछ । सहकारी संस्थामा सञ्चालक समिति र कर्मचारीबिच नाता भएको ब्यक्ति राखीएमा त्यहाँ स्वार्थ बाझिन सक्दछ यसो हुँदा सञ्चालक समिति र कर्मचारी एकाघर परिवारको बस्न नमिल्ने ब्यवस्था संस्थाको निर्वाचन नियमावली र कर्मचारी प्रशासन नियमावलीमा गर्नु पर्ने देखीन्छ । यस ब्यवस्थाले पनि सहकारी संस्था प्रभावकारी सुशासनमा सञ्चालन गराई तरलता ब्यवस्थापन गर्न सहज हुन्छ ।

Leave a Reply