स्वस्तिक सहकारीको २४ औं बार्षिक साधारण सभा तथा रक्तदान कार्यक्रम सम्पन्न
स्वस्तिकको २४ औँ वार्षिक साधारण सभा सम्पन्न सर्लाहीको बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको आज २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बेनीबहादुर कार्की देशबाहिर रहेका कारण उपाध्यक्ष बाल्मिकी सिंहको अध्यक्षता तथा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा संस्थाकै प्राङ्गण ईश्वरपुर नगरपालिका ६ बयलवासमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै संघीय सांसद चौधरीले संकटकालमा बयलवास बजारबाट वाणिज्य बैंकधरी भागेको अवस्थामा स्वस्तिकले यहीँ अडिएर अहिलेसम्म निरन्तर उत्कृष्ट सेवा प्रवाह गरेको भन्दै संस्थाको थप प्रगतिको कामना गर्नुभयो । सभाका विशिष्ठ अतिथि मधेश प्रदेशसभाका सदस्य उपेन्द्र महतोले जो सुकैले बचतको रकम जुटाएर मात्रै खर्च गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
साधारण सभाको उद्घाटन सत्रमा जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष मन्दिरा आचार्य, नेफ्स्कूनका कार्यक्रम अधिकृत राजेन्द्र ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । साधारण सभामा संस्थाले बचतकर्ता, उद्यमीलगायतलाई नगदसहित प्रमाण–पत्रले सम्मान गरेको व्यवस्थापक विनोदकुमार थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार गत आर्थिक वर्ष २०७९÷०८० मा ६४ लाख १० हजार ८०६ रुपैयाँ मुनाफा गरेको संस्थाले आफ्ना शेयर सदस्यलाई ९ प्रतिसत लाभांश वितरण गर्ने निर्णय गरेकोे छ । साधारण सभाकै अवसरमा आज आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान समेत गरेका व्यवस्थापक थापाले जानकारी दिनुभयो ।
